१७ जेष्ठ, २०८२
शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाली दूतावास लन्डनमा १८ औं गणतन्त्र दिवस मनाइएको समाचार छ । लन्डनस्थित नेपाली दूतावासमा बेलायती समाजमा रहेका नेपाली अग्रज अगुवाहरुको उपस्थितीमा बिहीबार एक समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको राजतन्त्र व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको थियो। उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष गणतन्त्र दिवस मनाउने परम्परा छ। नेपालमा सरकारले गणतन्त्र मनाए जस्तै विदेशस्थित कूटनीतिक नियोगमा समेत गणतन्त्र दिवस मनाउने गरिएको छ।
नेपाली राजदुताबासका डिपुटी चिफ अफ दि मिसन बिपीन दुवाडीले संचालन गर्नु भएको संबोधन समारोहलाई बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले उपस्थित सबैलाई स्वागत गर्दै संबोधन गर्नु भएको थियो। संबोधन गर्दै ऐतिहासिक जनआन्दोलनबाट प्राप्त गणतन्त्र संस्थागत गर्ने काम भइरहेको उल्लेख गर्नुभयो। उहाँले गणतन्त्र ल्याउन आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरु प्रति श्रद्धान्जली अर्पण गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकियोस् भन्ने कामना पनि गर्नुभयो।
राजदूत घिमिरेले बेलायत र नेपालबीच ऐतिहासिक, बहुआयामिक तथा अतुलनीय सम्बन्ध रहेको उल्लेख गर्दै दूतावासले दुई पक्षीय कूटनीतिलाई मात्र प्राथमिकता नदिइ बहुपक्षीय कूटनीतिमा पनि काम गरिरहेको पार्नु भएको थियो। उहाँले बेलायतबाट नेपालको समुन्नतिका लागि यहाँका नेपाली कसले के योगदान गर्न सक्छन् त्यो महत्वपूर्ण भएको पनि बताउनुभयो। बेलायती डाएस्पोरामा रहेका नेपालीहरुले आफुले सिकेका ज्ञान सीप र अनुभव नेपालमा सेयर गरेमा नेपालको बिकासमा टेवा पुग्ने कुरा राजदुत घिमीरेले सल्लाहा दिनु भएको थियो।
समारोहमा नेपालका रक्षा सचिव रामेश्वर दंगाल,ननिटन मेयर भीम सारु मगर, काउन्सिलर रोजिना प्रधान राई,नायिका तथा पूर्वमिस नेपाल निती शाह,डा.योगी विकासानन्द,रेकी ग्रान्ड मास्टर कमलेश्वरी,तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ,तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर योज तमु,नेपाली साहित्य बिकास युकेका अध्यक्ष कोमल मल्ल श्रेष्ठ,दूतावासका कर्मचारीहरु सैनिक सहचरी कर्णेल सदीप शाह,बेलायतका विभिन्न राज्यबाट नेपाली समुदायका अगुवाहरु र बेलायतमा पत्रकारीता गर्ने पत्रकारहरुको उपस्थिति थियो।
कार्यक्रममा सहभागीहरुलाई गोर्खा प्यालेसका प्रोपाइटर एवं सामाजिक अभियन्ता सूर्य गुरुङले खाना उपलब्ध गराउनु भएको थियो।