Tuesday July 08, 2025

ब्रेकन वेल्समा नेपाली भिलेज यूकेको तेस्रो साधारण सभा भब्य सम्पन्न

२० जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1154


ब्रेकन वेल्समा नेपाली भिलेज यूकेको तेस्रो साधारण सभा भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपाली भिलेज यूकेको तेस्रो साधारण सभा गत शनिबार ब्रेकनस्थित गील्डहलमा शेयरहोल्डरहरुको प्रत्यक्ष सहभागिता र जुममार्फत समेत गरि तेश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ।

नेपाली भिलेज यूकेका प्रमुख मेजर खुशीमान गुरुङ (एमभीओ) को अध्यक्षतामा भएको तेश्रो बार्षिक कार्यक्रमको सञ्चालन निर्देशक मधु गुरुङले गरेकी थिइन् भने सचिव टिकाराम (जीवन) गुरुङले संस्थाका वार्षिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी,फाइनान्स डाइरेक्टर लोकेन श्रेष्ठले आर्थिक विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाली भिलेज यूकेका प्रमुख मेजर खुशीमान गुरुङ (एमभीओ) ले परियोजना सम्बन्धी प्रगति बिबरण प्रस्तुत गर्दै हालसम्मको प्रगति र आगामी योजनाबारे जानकारी दिएका थिए। उनले नेपाली भिलेज यूकेको मुख्य परियोजनाका लागि स्थानिय निकायमा प्लानिङ परमिसन प्रक्रिया जारी रहेको पनि बताएका थिए।

प्लानिङ डाइरेक्टर कोलिनले प्लानिङको पूर्ण अपडेट सहितको रिपोर्ट पेश गर्दै स्थानीय निकाय वातावरण र वन्यजीवका बारेमा अत्यन्त संवेदनशील भएकाले प्रक्रिया केही ढिलाइ भइरहेको जनाएकी थिइन्।

उक्त अवसरमा नेपाली भिलेज यूकेको ठिक अगाडि अवस्थित बुद्धिस्ट रिट्रिट सेन्टर ‘अबरक्ल्याड हाउस’ दुई वर्षदेखि बिक्रीका लागि खुला रहेको र हाल यसको मूल्य १.१ मिलियन पाउण्ड (एघार लाख पाउन्ड) मा झरेको हुँदा नेपाली भिलेज यूकेले उक्त घर-सम्पत्ति खरिद गर्ने तयारी भइरहेको जानकारी दिइएको थियो। यस खरिदबाट परियोजनाले अपेक्षित समयभन्दा छिटो व्यवसायिक प्रगति गर्ने अपेक्षा गरिएको छ।


सभामा सहभागी सम्पूर्ण शेयरहोल्डरहरूको सल्लाह र सहमतिमा परियोजनाको तेस्रो चरणको शेयर अभियान यही जुलाई १ तारिखदेखि सुरु गर्ने निर्णय पनि गरिएको छ। उक्त अभियान यूकेका विभिन्न शहरमा आयोजना गरिने कार्यक्रममार्फत सञ्चालन गरिनेछ भने हालका २९३ जना शेयरहोल्डरलाई थप शेयरका लागि प्राथमिकता दिने व्यवस्था गरिने भएको छ। हाल परियोजनामा शेयरहोल्डरहरूका लागि मात्र सञ्चालनमा रहेको हलिडे होम सेवा निकट भविष्यमा आम सर्वसाधारणका लागि पनि खुला गर्ने तयारी भइरहेको जानकारी गराईयको थियो। 

साथै,हालसम्म प्रयोग नभएके परियोजनाको जग्गामा अर्गानिक फार्म सञ्चालन गर्दै नेपाली सागपात र विभिन्न पुष्पजन्य फुलका बिरुवाहरु रोपेर वातावरणीय सौन्दर्य वृद्धि गर्ने योजना पनि रहेको बताईएको थियो। नेपाल र नेपाली समुदायका लागि दीर्घकालीन सोचसहित अघि बढिरहेको नेपाली भिलेज यूकेको यो पहलले बेलायतस्थित नेपालीहरूको सामाजिक,सांस्कृतिक र आर्थिक पहिचान बलियो बन्ने एवं नेपाल र वेल्सको पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

स्मरण रहोस्,यस परियोजनाको मुख्य उद्देश्य मिड वेल्स,बेलायतमा ‘नेपाली भिलेज’ निर्माण गर्नु मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्रका रूपमा स्थापित हुनु हो। जसले गर्दा शान्त वातावरणमा छुट्टी मनाउन र स्थानीय तथा नेपाली संस्कृतिबारे जान्न मदत पुर्याउने छ।अनि ग्रामीण नेपाली गाउँको स्वाद अनुभव गर्न पाउने विभिन्न सुविधायुक्त स्थल पनि बनेर नेपालको बारेमा जान्ने मौका मिल्ने छ।
श्रोत-नेपालीलिंक।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?