२६ जेष्ठ, २०८२
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा शनिबार ‘भिक्टोरिया डे’ भब्य मनाएको समाचार छ।
गत वर्षहरुमा झैं अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएको बेलायती र नेपालीहरुको मौलिक झाँकीसहितको र्याली नगर परिक्रमा गरी प्रिन्सेस गार्डेनमा पुगेर सभामा परिणत भएको थियो।
भिक्टोरिया डेका दिन ग्रेटर रश्मोर नेप्लिज कम्युनिटी युकेले विभिन्न नेपाली समुदायका संघ संस्थाहरू संलग्न गराई संस्थाहरुको अगुवाई लिएको थियो । यस वर्षको मार्चपास्ट परेडमा १८ वटा नेपाली संस्थाले भाग लिएको जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबोले जानकारी दिनु भएको छ। सो सहभागी संस्थाहरुमा तमुधीं यूके,सहारा यूके,पास पुछ गुठी यूके,मगर संघ यूएचएसबी शाखा,बागलुङ समाज यूके, द्देपाल आदिवासी जनजाति महासंघ यूके,किरात याक्थुङ चुम्लुङ ग्रेटर रश्मोर शाखा यूके,किरात राई यायोक्खा रशमोर शाखा,एसियन महिला यूके,पाँचथर सेवा समाज यूके,बुद्धिष्ट कम्युनिटी सेन्टर यूके,शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युके,गोर्खा आमा समूह अल्डरसट एम्पायर हल,फ्लिट नेपाली कम्युनिटी, फस्ट गोर्खा आमा समूह,ब्लाक वाटर नेपाली कम्युनिटी, किरात राई यायोक्खा अल्डरसट प्राइमरी कमिटीले आ-आफ्नो ब्यानर बोकेर मार्चपास गरेका थिए।
अल्डरसट टाउन सेन्टरमा बिहान १० देखि अपराह्न ४ बजेसम्म भएको सो बिशेष समारोहमा विभिन्न जातजातिका नेपालीहरु आफ्नो मौलिक भेषभूषा र गरगहनाले सजिएर नेपाली नौमती बाजा,कौरा, सोरठी,च्याब्रुङ बाजा गाजा र नेपाली पोशाकका साथ उपस्थित भएर रमाईलो प्रदर्शन गरेका थिए ।
सहभागी संस्थाहरुलाई र स्वयंसेवकहरुलाई परेड सकिएपछि जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले सहभागिताको प्रमाण पत्र वितरण गरेकी थिइन्। यस वर्ष भिक्टोरिया डे परेड कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष जीत मेन्याङ्बोले गरेका थिए भने अन्य ब्यवस्थापन उपाध्यक्ष डा विशाल गुरुङ,महासचिव लेरि सुनील राना,श्रीमती गोमा रानालगायत जीआरएनसी टिमले गरेको थियो।
‘भिक्टोरिया डे’ मनोरन्जनपूर्ण एउटा जमघट हो जहाँ पारिवारिक गतिविधि,लाइभ म्यूजिक,नृत्य र स्टलहरु राखेर मेला प्रदर्शन गरीएको हुन्छ। यो हरेक वर्ष आयोजना हुने यो मेला र परेड रानी भिक्टोरियासँग अल्डरसटको निकट सम्बन्ध स्मरण गर्न सो दिनलाई विशेष रुपमा मनाइने गरेको छ।
स्थानियसंग आपसी संम्बन्ध बढाउन र मित्रताको भावना बढाउन यो कार्यक्रम सहयोगी रहेकोले नेपाली संघसंस्थाको सहभागिता रहेको छ। गोर्खा मिडीया, शीतलपाटीन्युज लगायत धेरै पत्रकारहरुको उपस्थित रहेको यो परेडमा परेडको लाईभ र फोटो सामाजीक संजालमा अपडेट पाईएको थियो।