Thursday June 01, 2023

शिवहरि दाहालले तीन देशको त्रिपक्षीय सहकार्यका थुप्रै आयाम समेटेर पुस्तक निकाले

६ असार, २०७५ शीतलपाटीन्युज डटकम । 35504



यस्तोमा अध्येता शिवहरि दाहालले तीन देशको त्रिपक्षीय सहकार्यका थुप्रै आयाम समेटेर पुस्तक निकालेका छन्- ‘चीन नेपाल भारतट्रयांगल : डार्क साइड अफ इन्डो नेपाल रिलेसन्स’ ।

अमेरिकामा रहेर अध्ययन–अनुसन्धानमा व्यस्त दाहालको नौ अध्यायमा विभक्त उक्त पुस्तक अमेरिकी प्रकाशनगृह स्विब्रिसले छापेको हो । अमेरिकामा स्नातकोत्तर र पीएचडी गरेका उनी भन्छन्, ‘नाकाबन्दीताका नेपालमा बस्दा दोस्रो तहको नागरिक महसुस भएपछि यो पुस्तक लेखेको हुँ ।’ नेपालीहरू ‘हाइब्रिड कोलोनियालिजम’ मा रहेको उल्लेख गर्दै उनले केही नेताकै कारण नेपालीहरू दासतातर्फ उन्मुख रहेको विषयलाई प्रस्तुत गरेका छन् ।

नेपालमा कुनै समस्या आयो, द्विदेशीय सम्बन्धमा असजता आयो भने देखाउनका लागि नेपाली कांग्रेसलाई अगाडि ल्याइन्छ तर भित्री यथार्थ फरक रहेको पुस्तकमा दाबी गरिएको छ । ‘भौगोलिक विकटताले चीन सफल हुन सक्दैन भन्ने विषय पुरानो हो,’ दाहाल भन्छन्, ‘अब भूगोलले मुलुकको सहकार्यलाई रोक्न सक्दैन ।’

दाहालले राजा त्रिभुवनले काठमाडौं नबसी भारत पुगेर राजसंस्था जोगाउन गरेको याचनादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो धार्मिक र निर्वाचन लक्षित नेपाल भ्रमणसमेत पुस्तकमा उतारेका छन् । एउटा अध्यायमा लेखकले नेपाललाई भारतले आफूमा निर्भर राख्न गरेका प्रयत्नहरूबारे विवेचना गरेका छन् ।

पटकपटकको नाकाबन्दीमा नेपालीले सहनशीलता र आत्मबल देखाएको प्रसंग जोड्दै उनले कान्तिपुर दैनिकको प्रिन्ट पेपर रोकिनुलाई पनि एक प्रकारको नाकाबन्दी नै रहेको बताएका छन् । ‘नेपालमा अत्यधिक बिक्री हुने र प्रभाव राख्ने पत्रिकाको कागज रोकेर प्रकाशन नै धराशायी बनाउने विषय नाकाबन्दीको एक रूप हो,’ उनले पुस्तकमा लेखेका छन् ।

एउटा पत्रिकाविरुद्ध सिंगो देश लाग्नुले भारत आफ्ना कुरा मनाउन कति हदसम्म जान्छ भन्ने नमुना प्रस्तुत गरेको उनले उल्लेख गरेका छन् ।

दाहालले चीन–भारत द्वन्द्व र तिनको नेपाल रणनीतिबारे पनि एउटा अध्याय खर्चेका छन । प्राय: नेताको परराष्ट्र नीति असफल रहेको भन्दै उनले राजा महेन्द्र र प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला मात्र यस मामिलामा उत्तीर्णांक दिएका छन् । यही मेसोमा उनले पछिल्लो समय राष्ट्रियताका विषयमा अडान लिएर अघि बढेका नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सफल हुन सुझावसमेत दिएका छन् ।

विश्वशान्ति विषयमा स्नातकोत्तरपछि नेपाल फर्केर लामो समय मानव अधिकार, विकास र द्वन्द्व व्यवस्थापनमा प्रशिक्षण दिने काम गरेका दाहालले द्वन्द्वको विश्लेषण र समाधानमा अमेरिकाबाटै विद्यावारिधि गरेका हुन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?