Sunday April 02, 2023

प्रहरी रीपोर्ट अनलाइन पाउनु नेपाल प्रहरीको नया पहल : एआईजीपी कार्की

२ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम । 4267


प्रहरी रीपोर्ट अनलाइन पाउनु नेपाल प्रहरीको नया पहल : एआईजीपी कार्की

चालचलनका बदनाम हटाइए:
काठमाडौँ । कामका लागि विदेश जानेदेखि अध्ययनका लागि विदेश लाग्नेहरूसम्मलाई कुनै अपराधमा संलग्न नरहेको भनी प्रहरीको चात्रिरित्र प्रमाणपत्र लिनुपर्ने अनिवार्य प्रावधान छ । पुलिस रिपोर्टका नाममा चिनिने यो प्रमाणपत्र लिनका लागि प्रहरी मुख्यालयले केबल १० रूपैयाँको टिकटमात्रै लाग्ने व्यवस्था गरेको छ । तथापि उपत्यकाभित्रका अधिकांश चालचलन हेर्ने सम्पर्क कार्यालयका प्रहरीहरू दलालहरूसँग सिण्डिकेट गर्दै नियमित रकम उठाउन थालेपछि पछिल्ला समय चालचलन कमाउधन्दाका रूपमा चिनिँदै छ भने यसैका कारण पनि प्रहरी बदनाम भइरहेको छ । कन्सल्टेन्सीदेखि मेनपावरसम्ममा दलाली गरी ती सम्पर्क कार्यालयमा कार्यरत तल्लो तहका प्रहरीहरूमात्र नभएर दलालहरू नै प्रयोग गरेर प्रतिव्यक्ति झण्डै ११ हजार रूपैयाँसम्म लिने गरेका दृष्टान्तहरू पनि सार्वजनिक भइरहेका छन् ।

चालचलनका सम्पर्क कार्यालयमा रहेका प्रहरीहरू मेनपावर र कन्सल्टेन्सीका कार्यालयहरूमा पुगी सम्बन्धित व्यक्ति उपस्थित हुनु नपर्ने भन्दै रकम असुल्ने गरेका गुनासाहरू व्यापक आउन थालेपछि कार्य तथा अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका एआइजी पुष्कर कार्कीले उपत्यकाभित्रका केही त्यस्ता कार्यालयहरूमा प्रमुख परिवर्तन गरेका छन् । पाटनमा प्रहरी निरीक्षक कबिर प्रधानलाई पठाइएको छ । चालचलनमा लामो समयदेखि कार्यरत रही धेरै विवादमा आएका उपेन्द्र खरेललाई हटाइएको छ । त्यसैगरी रानीपोखरीमा प्रहरी निरीक्षक अमरेश खड्का गएका छन् भने महाराजगञ्जमा निरीक्षक राजु केसी खटिएका छन् । भक्तपुरमा सई निरन श्रेष्ठ खटिएका छन् । परिवर्तन भएका यी ठाउँहरूमा प्रमुखदेखि सिपाहीसम्म नै परिवर्तन गरिएको छ । विगतमा प्रमुख परिवर्तन भए पनि असईसम्मका प्रहरी परिवर्तन नहुने भएका कारण उनीहरूको दलालहरूसँग सिण्डिकेट हुने गरेको र तिनैमार्फत् रकम असुल्ने गर्दैआएको गुनासोसमेत आएपछि एआइजी कार्कीले प्रमुखमात्रै होइन सबै सेट नै परिवर्तन गरिदिएका छन् । अब नयाँ जाने यो समूहले दलालहरूसँग समन्वय गर्छ–गर्दैन र विगतको जस्तै रकम असुलीको अभियानमा लाग्छ लाग्दैन त्यो भने भोलिका दिनमा देखिने नै छ । कार्कीको आगमनसँगै प्रहरीले अब इमेलका माध्यमबाट पनि प्रहरी रिपोर्ट दिने व्यवस्था मिलाएको छ । यसका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली नै खटिएको छ । प्रहरीको केन्द्रीय चालचलन शाखाले आवश्यक कागजपत्र र रेकर्ड हेरेर उनीहरूलाई प्रमाणपत्र पठाउने गरेको छ । नेपाल प्रहरीमा यो एकदमै नयाँ प्रयोग हो, जुन सफल भइरहेको छ र विदेशमा बस्ने सर्वसाधारणले यसबाट लाभ लिइरहेका छन् । विदेशमा रहेका नेपालीका लागि आवश्यक रिपोर्ट प्रहरीले वैशाखदेखि इमेलमार्फत् पठाइदिन थालेको हो । सेवा सुरु गरेको महिना ८९ जनाले निवेदन दिएका थिए । त्यसयता हालसम्म ९५६ पुरुष र ६२३ महिला गरी एक हजार १५७९ जनाले इमेलबाट प्रहरीले उपलब्ध गराउने चारित्रिक प्रमाणपत्र प्राप्त गरेका छन् ।
इमेलमा निवेदन दिने सेवाग्राहीहरूका हकमा प्रहरीले निवेदनसहित राहदानीको पृष्ठ २, ३ तथा ३१ को प्रतिलिपी, अन्तिम पटक नेपाल छोड्दाको नेपाल अध्यागमनको डिपार्चर स्ट्याम्प स्पष्ट भएको पृष्ठ, नागरिकताको प्रतिलिपी र २ सय किलो बाइटसम्मको पासपोर्ट साइजको रंगीन फोटो इमेलमा पाएपछि त्यसमाथि अध्ययन गर्छ प्रहरीले विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी अनिवार्य गरेको छ । प्रहरीले प्राप्त गरेको इमेलका आधारमा क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस) हेरेर चारित्रिक प्रमाणपत्र बन्छ । प्रहरीले सोही प्रमाणपत्रको पिडिएफ फरम्याट बनाएर इमेलबाटै पठाउँछ । अपराध अनुसन्धान विभागका प्रमुख एआइजी पुष्कर कार्कीले यसरी पठाउने डिजिटल कपी केही देशमा अमान्य भएकाले त्यसको समाधानका लागि काम भइरहेको समेत बताए । उनका अनुसार प्रहरीले डिजिटल फरम्याटमा बारकोड वा क्युआर कोड राखेर चारित्रिक प्रमाणपत्रको आधिकारिकता पुष्टिका लागि काम गरिरहेको छ । ‘कुनै देशमा लिखित कपि नै चाहिने प्रावधान रहेछ, हामी ती देशका हकमा आवश्यकता अनुसारको प्रक्रिया पूरा गर्ने तयारीमा छौँ,’ एआइजी कार्कीले भने । विभागले सूचना प्रविधि निर्देशनालयसँगको सहकार्यमा काम गरिरहेको छ । प्रहरीका लागि निर्देशनालयले बनाएका सिआरएस, अटोमेटेड फिङ्गर प्रिन्ट आइडेन्टिफिकेशन सिष्टम (एएफआइएस) र क्यारेक्टर भेरिफिकेसन इन्फरमेशन सिष्टम (सिभिआइएस) सफ्टवेयरले पूर्णविवरण, औँठा छाप र अक्षरहरूका आधारमा आपराधिक तथ्यांक भए–नभएको पत्ता लगाउँछ ।
नेपाली तथा विदेशी नागरिकलाई नेपालमा कुनै आपराधिक गतिविधिमा संलग्न नरहेको भन्दै प्रहरीले दिने प्रमाणपत्र चारित्रिक प्रमाणपत्र हो । प्रहरीले देशभर मुद्दा चल्ने इकाईहरूमा रहने १० नम्बर डायरीमा जनिएका व्यक्तिहरूको विवरण तीनपुस्तेसहित ठेगाना खुलाएर राख्छ । सोही तथ्यांक प्रहरीको अपराध अनुसन्धान विभागमा रहेको सेन्ट्रल क्रिमिनल रेकर्डमा दर्ता गरिन्छ । प्रहरीले चारित्रिक प्रमाण उपलब्ध गराउँदा व्यक्तिको नाम, बाबुको नाम, ठेगाना र भएसम्म नागरिकता प्राप्त गरेको स्थान र नम्बरबाट समेत जाँच गर्दछ । यसरी कुनै व्यक्तिले विगतमा १० नम्बर डायरीमा जनिने गरी अपराध गरेको भए उसलाई कैफियत जनाएर चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गरिन्छ । नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्रका लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, कालिमाटी, गौशाला, भक्तपुर, ललितपुर, विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघीय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, प्रदेश ५ प्रहरी कार्यालय अन्तर्गत संघीय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र प्रदेश ७ प्रहरी कार्यालय अन्तर्गत संघीय प्रहरी ईकाई कार्यालय, धनगढी उपशाखाहरूबाट चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था मिलाइसकेको छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?