२९ पुष, २०७५
शीतलपाटीन्युज डटकम।
माघ नजिकिदै गरेको हुनाले हाल मानिसहरु माघेसंक्रान्तिको तयारीमा जुटिसकेका छन् । माघ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ, जसको अनेक नाम छन् । जस्तो माघे संक्रान्ति, मकर संक्रान्ति, माघी । मौसमी चक्र अनुसार केहि न केहि चाडपर्व आउने गर्छ । जाडो याम अझ भनौ मध्य जाडोमा मकर संक्रान्ति मनाइन्छ । पुसको अन्त्य र माघ महिनाको प्रारम्भमा यो पर्व मनाइन्छ ।
बैज्ञानिक महत्व
पुष मासमा जब सूर्य मकर राशिमा आउँछ, तब यो पर्व मनाइन्छ । सूर्यले धनु राशीलाई छाडेर मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर मकर संक्रान्ति मनाइने गरिन्छ । १४ जनवरीमा सूर्य मकर राशीमा प्रवेश गर्दैछ । यहि दिनदेखि सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ । यस दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ ।
माघे संक्रान्ति किन मनाइन्छ त ?
हाम्रा पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन् । माघे संक्रान्ति मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ ।
माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्छ ।
माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । ग्रामिण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाढीचुडी खाने । यो चलनको पछाडि केही तथ्य लुकेको छ ।
तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ ।
यतिबेला घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ ।
माघे संक्रान्ति एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपी हामी माघे संक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकी जाडो याममा नियमित रुपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ ।
माघे संक्रान्तिको अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खाने हो । खासगरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पुर्याउने चलन छ । संभवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढीचुडी खाने प्रचलन बसाइएको हुनुपर्छ । अहिले त्यस्तो अवस्था नहुन सक्छ । तर, यसले सामाजिक सद्भाव बढाउने काम गर्छ । अरुबेला कसको भान्साम के पाक्छ भन्ने थाहा हुन्न । यतिबेला एकआपसमा बाढ्ने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । यो भनेको समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि हो ।
बाँढीचुडी खाने पर्व
जाडो महिनामा पर्ने भएकाले यो पर्वमा हामी कन्दमुल खाने गर्छौ । नेपाली समाजमा मकर संक्रान्तिको दिन छिमेकमा खानेकुरा बाँडीचुडी खाने गरिएको छ । यतिबेला अन्नउब्जनी नहुने भएकाले पनि यस किसिमको संस्कार बसाइएको हुनसक्छ ।
यतिबेला दान गर्ने प्रचलन पनि छ । दान गर्दा पुण्य मिल्छ भन्ने धार्मिक विश्वास छ । खासगरी गरिब, निसाहय आदिलाई अन्न, तिल, गुड आदि दान गरिन्छ । संभवत यतिबेला खाद्य अभाव हुने भएकाले यस्तो संस्कार चलाइएको हुनुपर्छ ।