११ माघ, २०७५
– वसन्तराज कुँवर, अध्यक्ष, नेपाल पूर्वप्रहरी संगठन
नेपाल पू र्वप्रहरी संगठनका अध्यक्ष वसन्तराज कुँवर अवकाशप्राप्त प्रहरीहरूमध्ये एक व्यस्त अधिकृत हुनुहुन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा धेरै संघसंस्थातिर संलग्न कुँवर ड्रग्स व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय प्रशिक्षक र रिह्याव स्पेसलिष्टका रूपमा पनि काम गर्नुहुन्छ । नेपाल पूर्वप्रहरी संगठन डि.वि. लामाको मृत्युपश्चात धाराशयी हुन्छ भन्ने धेरैको अनुमान थियो तर त्यस पश्चात् नेतृत्वमा आएका कुँवरले त्यो संगठनलाई तल झर्न दिएनन् बरु माथि माथि बढाए । डि.वि. लामाकै नेतृत्व चित्त नबुझेर डि.वि. लामाकै कार्यसमिति बस्नेहरूले पाँच वर्ष अघि परिषद नामक छुट्टै संगठन खोले पनि तिनले खासै काम गर्न नसकी पुनः संगठनमै फर्कन हर तरहले प्रयास गरिरहेको अवस्था देखिन्छ । यतिसम्मकी आइजिपीलाई विचमा बसेर हामीलाई मिलाइदिनुस भनी उनीहरू अनुरोध गर्न समेत पुगेको अवस्था छ । पूर्वप्रहरी संगठनले परिषद्लाई आफूभित्र ल्याउन स्वीकार्ला ? यी र यस्तै विषयवस्तुमा हाम्रा सम्वाददाताले नेपाल पूर्वप्रहरी संगठनका अध्यक्ष कुँवरसँग जन प्रहारका सम्पादक बिष्णु घिमीरेले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।
० कुँवर सर जीवन कसरी चलिरहेको छ ?
*भगवानको कृपाले राम्रै छ । प्रहरीमा अवकाश भएपश्चात मैले सोचेको, चाहेको लक्ष्य प्राप्त भएकै छन् । अवकाशपश्चात हामी जहाँ छौँ त्यहाँ हिजो जागिरमा रहँदामा झैँे कसैको कृपा र दयामा काम गर्नुपर्दैन त्यसैले म आज आफैँ सोच्न सक्छु, त्यस सोचलाई कार्यमा परिणत गर्न सक्छु र नतिजाबाट आफू र ठूलो संख्यालाई लाभ पुयाउन सक्ने अवस्थामा छु । यसमा म खुशी छु ।
० डि.वि. लामापश्चात नेपाल पूर्वप्रहरी संगठन ध्वस्त हुन्छ भन्थे तर तपाईँले यसलाई अझ सशक्त बनाउनुभयो कसरी ?
*डि.वि. लामा बराबरको अध्यक्ष अब नेपाल पूर्वप्रहरी संगठनमा कहिल्यै आउने छैनन् । ती सुपरमैन हुन् । म उहाँको तुलनामा १५ प्रतिशतजति हुँला । उहाँलाई जब आफ्नै कार्य समितिका आफैँले ल्याएका वरिष्ठ उपाध्यक्ष र महत्वपूर्ण पदाधिकारीहरूले धोका दिई अर्को परिषद् नामको संगठन खोली चुनौती र चिन्ता दिए त्यसपछि उहाँले मलगायत केहि साथीहरूलाई संगठनमा ल्याउनुुभयो । त्यो नै उहाँले आफूपछि संगठनको नेतृत्व सम्हाल्ने क्याडरिङ विकास गर्नुभएको रहेछ । मलाई शतप्रतिशत लामा सरले संगठनमा ल्याउनुभएको हो र म उहाँकै पदचिन्हमा चल्ने व्यक्ति हुँ । लामा सा’व हामीबीच नभए पनि मैले उहाँको सोचलाई निरन्तरता दिइरहेको छु । यहि सोचले संगठन अघि बढिरहेको छ ।
० डि.वि. लामाको देहवासनपश्चात संगठनले के प्रगति ग-यो ?
*डि.वि. लामाको योगदानसँग हामी तुलना नै गर्दैनौँ । तर उहाँले संगठन छोड्दा करिब ४७ जिल्लाहरूमा हाम्रा कार्यालय थिए, अहिले ७७ जिल्लामा नै संगठन विस्तार भयो, उहाँको पालासम्म करिब १० वटा संगठनका आफ्ना भवन थिए अहिले ३२ वटा भए । हरेक साल ६ जिल्लामा घरहरू थप्दैछौँ । सदस्यहरू त्यस बखतका भन्दा करिब १० हजार बढेका छन् । हरेक जिल्ला प्रहरी कार्यालयहरूमा पूर्वप्रहरी डेस्क राख्ने व्यवस्था गराएका छौँ । बैँकबाट पेन्सनपट्टा राखी ३ लाख ऋण लिन सक्ने र समूहले ठूला आयमूलक कार्य गर्न सक्ने व्यवस्था मिलाएका छौँ, प्रत्येक जिल्ला, प्रदेशहरूलाई अपडेट गरेका छौँ, बाह्य संसार र समाजसँग संगठनलाई जोडेर स्थानीय सरकारसँग साझेदारीमा काम गर्दैछौँ । संगठनले डि.वि. लामा सरले अमर प्रहरी स्तम्भ बनाउँदा लिएको करिब २५ लखा ऋण व्याज पूरै चुक्ता गरेका छौँ । पेन्सनपट्टासम्बन्धी कार्य जिल्लाबाटै हुने व्यवस्था मिलाएका छौँ । हामीले जे होस् लामा सरको समयभन्दा संगठनलाई पछि जान दिएका छैनौँ ।
० डि.वि. लामाको पालामा उहाँकै कार्यसमितिमा रहेकाहरूले खोलेको परिषद् फेरि संगठनमै मिल्न प्रहरी महानिरीक्षकसामू हारगुहार गर्दैछन् भन्ने सुनिन्छ । उनीहरू फेरि किन फर्कन चाहन्छन् ?
*परिषद् खोल्नेहरूलाई लागेको थियो कि हामी डि.वि. लामाभन्दा बढी बद्धिमान छौँ, तीभन्दा बढी काम गरेर देखाउँछौँ, लामाले बनाएकाभन्दा ठूलो घर बनाउँछौैँ, सबै पूर्वप्रहरी उनीहरूसँगै लाग्ने छन्, डि.वि. लामा एक्लै पर्ने छन् र सरेण्डर गर्नेछन् तर तिनको हैसियत ती काम गर्न सक्ने थिएन । डि.वि. लामाले प्रहरी अस्पताललाई मेडिकल कलेज बनाई गृहअन्तर्गत राख्ने कुराको विरोध गरेपछि केही त्यस प्रोजेक्टसँग सरोकार राख्ने पूर्व र बहालवाला आइजिपी मिली उनलाई नेतृत्वबाट हटाउन परिषद् जन्माउन प्रत्यक्ष–अप्रत्यक्षरूपमा साथ दिएका थिए । परिषद्लाई तिनले पनि डि.वि. लामालाई नेतृत्वबाट हटाउने अस्त्र बनाए । अर्कोतर्फ धेरै प्रहरी प्रमुख तथा प्रहरी अधिकृतहरूको डि.वि. लामासँग व्यक्तिगत दुस्मनी वा दूरी थियो । तिनले पनि व्यक्तिगत रिस साँध्न परिषद्लाई साथ दिए । त्यसै गरी परिषद् प्रहरी प्रधान कार्यालयका लागि संगठनलाई लडाउ र कल्याणकोषमा राज गर भन्ने हतियार नै बन्यो । तर प्रहरी अधिकृतहरूले जबदेखि यो कुरा बुझ्न थाले कि परिषद् भन्ने खाली काठमाडौँमा देखिने चार–पाँच जनामात्रै रहेछन्, देशभर यिनीहरूको कुनै संगठन छैन, यी केबल क्यालेण्डरमा ज्यूँदा रहेछन् र सानातिना भेला गरी भ्रम छरेकै भरमा र सम्मान गरेकै भरमा अस्तित्व बनाएका रहेछन्, त्यसपछि यसलाई पुनः संगठनमै मिलाई संगठनको विशाल श्रोत साधन र गुडविललाई प्रयोग गर्ने परिषद्वालाहरूको भित्रि लक्ष बन्यो । नत्र हिजो यसै संगठनबाट छुट्टिने महारथिहरू आज फेरि किन यसै संगठनमा फर्कन चाहन्छन् त ? किन प्रहरी महानिरीक्षकलाई बीचमा पारेर आफ्नो स्वार्थसिद्ध गर्न चाहन्छन् ? भन्नुस् त ? उनीहरूले त डि.वि. लामाले भन्दा महान् काम गरेर देखाउनु पो प¥यो नी ? उनीहरूले आफ्नै श्रोत साधन जोड्न सकेनन् र परिषद् चलाउन गाह«ो भयो त्यसैले संगठन छिर्न खोजेका हुन् ।
० प्रहरी महानिरीक्षकले म बीचमा बसेर मिलाउँछु भन्नु भएको छ रे ?
*हामी संगठनका मानिसहरूले आजसम्म कतै गएर हामीलाई परिषद्सँग मिलाइदिनु प*यो भनी भन्न गएका छैनौँ, परिषद् खुलेदेखिनै परिषद्ले मात्र सबै आइजिपीहरूलाई हामीलाई मिलाइदिनु प-यो भनी एकतर्फी अनुरोध गर्दै आएका छन् । त्यसैले यो हाम्रो भन्दा परिषद्को एजेण्डा हो । जहाँसम्म आइजिपी इन्भल्व हुने कुरा छ त्यो संवेदनशील छ । जबसम्म दुवै संस्थाले आपसमा पूरै अण्डरस्टैण्डीङ मिलाई केवल अन्तिम निर्णय सुनाउने काम मात्र बाँकी राख्दछन् र दुवै संगठनले एउटै पत्रमा दुवै अध्यक्षले सहि गरी प्रहरी महानिरीक्षकज्यूलाई समन्वय गरिदिने अनुरोध गर्दै पत्र लेख्नेछन् तब मात्र बहालवाला प्रहरी महानिरीक्षक यो विषयमा इन्भल्भव हुनु राम्रो हुन्छ । एउटा पक्षले आइजिपीको प्रस्ताव मानिदिएनन् भने अनि के होला ? हामीले बहालवाला आइजिपीलाई यस कुरामा विवादमा ल्याउनु हुँदैन । जहाँसम्म संगठनको कुरा छ सत्तहत्तरै जिल्ला तथा सातै प्रदेशका पूर्वप्रहरी पदाधिकारीहरू परिषद्सँग रुष्ट छन् । तिनलाई मनाउन पनि समय लाग्छ । यो काम त्यति सजिलो छैन ।
० उसो भए संगठन र परिषद् कसरी एकीकरण हुन्छ त ?
*यसको एकीकरण हुँदैन । संगठनले केही असल व्यक्तिहरूलाई आफ्नो कार्यसमितिमा समायोजन गर्न सक्छ । पूर्वप्रहरी संगठनलाई घात गर्नेहरूलाई यस संगठनले स्वीकार गर्दैन । नेपाल पूर्वप्रहरी संगठन न परिषद् खोल्ने कारक तत्व होे न एकीकरण गर्न उत्साहित हुने पार्टी नै हो । उहाँहरूले कि परिषद् राम्ररी चलाउन प¥यो कि बन्द गर्नुप¥यो । सधैँ ठेक्कापट्टामा एउटा कम्पनी दर्ता गरी च्याँखे थाप्ने जस्तो कार्य गर्दै हिँड्नु भएन । परिषद्सँग मिल्ने नाममा यस ऐतिहासिक र २८ वर्षे इतिहास बोकेको नेपाल पूर्वप्रहरी संगठनले केन्द्रदेखि जिल्ला र इकाई तहसम्म कतै चलाउने, हेरफेर गर्ने वा विधान विपरित कार्य गर्ने छैन । नेपाल पूर्वप्रहरी संगठन भनेको यहि धापासी कै हो । यही सबै प्रहरी प्रमुखको फोटो टाँगिएका छन् । नेपाल पूर्वप्रहरी संगठनको हिस्सा हुनलाई यसै संगठनको सदस्य हुनुपर्छ न कि अर्कै नाम, अर्कै प्यान नम्बर, प्रशासनको अर्कै दर्ता नम्बर लिएको संस्थाले यसमा हकदावी गर्न मिल्दैन ।
० धेरै अफिसर परिषद्मा छन् भन्छन् नि ?
*यो अति राम्रो कुरो हो । परिषद्ले त्यसो भए अझ ठूला–ठूला काम गरेर देखाउनु पर्छ । संगठनले परिषद्लाई असल काम गर्न कतै रोकेको छैन न रोक्न नै सक्छ । उसले आफ्नो कामबाट तल्ला तहका पूर्वप्रहरीहरूको भलाई गरोस् । हामीलाई पनि संगठन छोडी परिषद्को सदस्य बन्न मन लागोस् । कोसँग कति पूर्वप्रहरीहरू छन्् भन्दा पनि उहाँहरूले पूर्वप्रहरीका लागि गर्न खोजेको काम के हो त्यो बुझ्न पाए राम्रो हुन्थ्यो । सकारात्मक काममा हाम्रो उहाँहरूलाई पनि साथ हुनेछ । धेरै पूर्व तथा बहालवाला अधिकृतहरूले संगठनमा आई वास्तविक कुरै नबुझी संगठनप्रति नकारात्मक धारणा राखेको पनि देखिन्छ । त्यो न्यायोचित हुँदैन । सबै पूर्वप्रहरीहरूले संगठनमा आई यसलाई हेरिदिन, बुझिदिन र सल्लाह सुझाव तथा आफ्ना धारणा दिनुहुन अनुरोध गर्दछु ।
० डि.वि. लामा पनि जीवनभर अध्यक्ष भए, वसन्त कुँवरले पनि त्यहि चाहेर एकीकरण हुन नदिएको भन्छन् नी ?
*(हाँस्दै) यो गलत हो । म पूर्वप्रहरी संगठनको अध्यक्ष र यसको संरक्षक पनि हुँ । यसको रक्षा सुरक्षा मेरो काम हो त्यसैले मैले संगठनको हितका लागि अरूलाई अप्रिय लाग्ने निर्णय पनि गर्न सक्छु । मेरो स्वार्थ संगठनलाई बलियो बनाउनु हो, परिषद्लाई बलियो बनाउनु होइन । जहाँसम्म डि.वि. लामाको नेतृत्वको कुरो हो उनलाई चुनौती दिने काम कसैले गर्नु हाँसोको विषय थियो र हुन्छ । डि.वि. लामा संगठनका लागि उत्पादक र सबैभन्दा उपयुक्त अध्यक्ष थिए । उनको जरुरत अझै छ । उहाँ जीवित हुने भए म अध्यक्षता उहाँलाई तत्काल बुझाइहाल्थेँ । जहाँसम्म मैले कसलाई बुझाउन प्रयास गर्छु भन्ने कुरा छ, त्यो कसले यो संगठनलाई हामीले भन्दा उचाइमा लैजान्छ भन्ने कुरामा निर्भर गर्दछ । मैले आफू पछि संगठन बुझाउने क्याडरिङ सुरु गरिसकेको छु । पूर्व एआइजी विनोद सिंह, रूपसागर मोक्तानजस्ता अधिकृतले रातदिन संगठनलाई समय दिनुभएको छ । उहाँहरू नेतृत्वको लाइनमा हुनुहुन्छ । यसै गरी पूर्व एआइजी मधुप्रसाद पुडासैनी, केदार सावद, रणबहादुर चन्द, भिष्म प्रसाईँ, सुशिलवर सिंह थापा, प्रकाश कुँवर आदि संगठनको विकासमा सहभागी हुँदै जानु भएको छ । उहाँहरू पनि सम्भावित नेतृत्वमा क्रमशः स्वीकार्य हुँदै जान सक्नुहुन्छ । यस बाहेक पूर्व एस्एस्पी ज्ञानोदराज वैद्य, घनानन्द भट्ट, यादवराज खनाल, गीता उप्रेती, नारायण गिरी, रोवर केसीलगायत केन्द्रीय पदाधिकारीहरूले संगठनमा उत्पादन दिन नै सुरु गरी देशभरका प्रहरीबाट धन्यवाद प्राप्त गर्न थालिसक्नु भएको छ । उहाँहरू पनि नेतृत्वमा जान सक्नु हुनेछ । समय आएपछि हामीसँगै बस्छौँ भावि नेतृत्व छान्छौ, उनलाई लिएर देशभरि भ्रमण गरी जिल्ला प्रदेशमा स्वीकार्य बनाउँछौँ र नेतृत्व हस्तान्तरण गर्छौँ । तर एउटा कुरा के चाहीँ हो भने जबसम्म सतहत्तर जिल्ला र सात प्रदेशका प्रहरी नेतृत्वहरूले विश्वास गर्दैनन् संगठनको केन्द्रीय अध्यक्ष हुन गाह«ो छ । यसका लागि ९२ प्रतिशत तल्ला प्रहरीहरू नै राष्ट्रिय अध्यक्ष छनौटमा निर्णायक हुने हुँदा नेतृत्वमा जान चाहानेले उनीहरूको मन जित्ने काम गर्नुपर्छ ।
० पूर्वप्रहरी महानिरीक्षकहरू अध्यक्ष हुन सक्तैनन् ?
*पूर्वप्रहरी संगठनको विधानमा पूर्व पदका आधारमा कसैलाई निश्चित पद दिने व्यवस्था छैन । विधानअनुसार काम गरी प्रहरी महानिरीक्षकहरू अध्यक्ष हुन सक्नु हुन्छ । यसको लागि उहाँहरू पूर्वप्रहरी संगठनको जिल्ला तहसम्म भिज्न र चुनावमा गएर भाग लिन तयार हुनु पर्दछ । डि.वि. लामा यहि प्रक्रियाबाट अध्यक्ष हुनुभएको थियो । त्यसो भएमा उहाँहरू प्रभावशाली र उत्पादक अध्यक्ष बन्न सक्नु हुन्छ ।
० धेरै अफिसर परिषद् र संगठन मिलेन भनी निरास छन् नी ?
*त्यसका लागि म पनि दुःखी छु । पूर्वसिनियर अफिसरहरूमा यो सरोकार छ । ९२ प्रतिशत तल्ला तहका कर्मचारीमा यो सरोकार छैन किनकी उनीहरू संगठनसँग सक्रियरूपमा आबद्ध छन् । प्रहरी अधिकृतहरूलाई परिषद् खोल्नेहरूले कन्फ्युज बनाएका छन् । उहाँहरूले संगठनलाई बुझ्दै नबुझी यसको विरुद्धमा धारणा बनाउनु हुन्छ भने त्यो पूर्वाग्रही पनि हुन सक्छ । आजकल मलाई के लाग्न थालेको छ भने संगठन वा परिषद्मा ८–१० जना उच्च अधिकृतहरू पदाधिकारी बन्न सक्नु हुन्छ तर सयौँ हज्जारौँ पूर्वप्रहरी अधिकृतहरू यस्ता संगठनमा अटाउन र सक्रिय हुन सक्ने अवस्था छैन । त्यसैले हामीहरू संगठनभन्दा बाहिर पूर्वप्रहरी अधिकृतहरूलाई एक ठाउँमा भेला पार्न छुट्टै अफिसर क्लब खोल्ने योजनामा छौँ जसका अध्यक्ष आइजिपीहरू मध्ये एक हुनुहुनेछ । त्यहाँ सबै पूर्वप्रहरी अधिकृत एक ठाउँमा भेला भई देश, समाज र तल्ला तहका पूर्वप्रहरीहरूको भलाईका बारेमा सोच्नु हुनेछ । त्यो क्लबको खर्च र त्यसलाई चाहिने स्थान वा कार्यालय नेपाल पूर्वप्रहरी संगठनले उपलब्ध गराउने छ । हामीलाई हज्जारौँ पूर्वप्रहरी अधिकृत समेट्नु छ । यो काम हालको संगठनबाट गर्न सकिन्न त्यसैले अलग अस्तित्वको अफिसरर्स क्लब खडा गरी सबै उच्च पूर्वप्रहरी अधिकृतलाई एक ठाउँमा ल्याउने काम सुरु भइसकेको छ । यहिँबाट एकदिन हुनसक्छ परिषद् र संगठनको पनि समायोजन हुनेछ ।