Sunday August 14, 2022

तनहुँमा प्राविधिक शिक्षाको माग बढ्दो

२५ माघ, २०७५ शीतलपाटीन्युज डटकम 81223


तनहुँमा प्राविधिक शिक्षाको माग बढ्दो

शीतलपाटीन्युज डटकम।

व्यावसायिक धारको पढाइ शुरु भएका तनहुँका विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढेको छ । छोटो समयको पढाइबाट रोजगार सुनिश्चित हुने भएपछि विद्यार्थीहरु प्राविधिक शिक्षातर्फ आकर्षित भएका हुन् ।

माध्यमिक तह उत्तीर्ण भएपछि प्राविधिक शिक्षाका लागि पोखरा, चितवन वा काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यसँगै विद्यार्थीहरु घरमै बसेर प्राविधिक शिक्षा पढ्न शुरु गरेका छन् । यसै शैक्षिक सत्रदेखि सब–ओभरसियरको पढाइ शुरु गरेको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थी विशाल ढकालले देशमा प्राविधिक जनशक्तिको माग रहेकाले आफूले प्राविधिक शिक्षा रोजेको बताए ।

उनले भने – “प्राविधिक शिक्षाका लागि यस भन्दा अगाडि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । अहिले घरआँगनमै रहेको विद्यालयहरुमा यसको पढाइ शुरु भएपछि सजिलो भएको छ ।”

विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले समाजको माग र आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयमा प्राविधिक धारको पढाइ सञ्चालन गरिएको बताए । उनले भने – “अहिलेको अवस्थामा प्राविधिक शिक्षाको ठूलो माग छ । प्राविधिक शिक्षा पढेपछि रोजगार पनि सुनिश्चित छ ।” उनका अनुसार २१ जना विद्यार्थी प्राविधिक शिक्षा अध्ययनका लागि भर्ना भएका छन् ।

विद्यालयले आगामी वर्षहरुमा प्राविधिक विषयका थप कक्षासमेत सञ्चालन गर्ने योजना बनाएको छ । आगामी वर्ष अमिनको पढाइ शुरु गर्ने लक्ष्य छ ।

तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयले समेत यसै शैक्षिक सत्रदेखि विद्यालयमा सब–ओभरसियरको पढाइ शुरु गरेको छ ।

सोही ठाउँकी रुपा गुरुङले गाउँमै बसेर प्राविधिक शिक्षा अध्ययन गर्न पाउँदा सहज भएको प्रतिक्रिया दिइन् । एसइई परीक्षा उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जानुपर्ने उनी लगायत अन्य विद्यार्थीको बाध्यता अब हटेको छ ।

गुरुङले भनीन् – “प्राविधिक शिक्षा पढेपछि रोजगारी सजिलै पाइने सुनेको छु । सोही कारण प्राविधिक शिक्षा अध्ययन गर्ने सोच बनाएँ ।” घर नजीकै बसेर प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाउँदा खर्च समेत जोगिएको उनले  बताइन् ।                                                                                                         

रासस



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?