Sunday November 27, 2022

सुनुवार महिला समाज बेलायतको नारी दिवस सम्पन्न

१९ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम । 10906


सुनुवार महिला समाज बेलायतको नारी दिवस सम्पन्न

भावना परिष्कृत सुनुवार ।

 लण्डन। किरात सुनुवार महिला समाज बेलायत (कि.सु.म.स. बेलायत) को आयोजनामा २ मार्च २०१९ शनिबारको दिन आल्डरशटस्थित  एक सभाहलमा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस  यो वर्ष २०१९ को Campaign Theme "Balance For Better" र संयुक्त राष्ट्र संघबाट प्राप्त अन्तराष्ट्रिय नारा  "Think Equal Build Smart, Innovate For Change" का  साथ नेपालको "लैँगिक समानताको लागि समान सोच र व्यवहार,समृद्धिको आधार" भन्ने राष्ट्रिय समसामयिक नाराको साथमा अति नै भव्य र सभ्य रुपमा कार्यक्रम  सम्पन्न भयो। संस्था कि अध्यक्ष मिनादेवी सुनुवारको सभापतित्व र नेपाल आदिबासी जनजाति महासंघ बेलायतको  अध्यक्ष जंग सुनुवारको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतकी  अध्यक्ष बिमला राई र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ कि  अध्यक्ष प्रमिला लाबुंग राईको विशेष आतिथ्य रहेको थियो । यसैगरी अन्य अतिथिहरुमा नेपाल आदिबासी महिला महासंघ युकेकी  महासचिव  तथा किराँत याख्खा छुम्मा महिला समिति युके अध्यक्ष बसुन्धरा याख्खा राई, आदिबासी महिला महासंघ युकेकि सल्लाहकार भावना परिष्कृत, आदिबासी  जनजाति महासंघ युकेको सल्लाहकार होम किरात सुनुवार, समाजसेवी जनक सुनुवार, लाल सुनुवार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, महिलाहरुको  अधिकार  र हकहित चाहने व्यक्ति,व्यक्तित्वहरु  एवम् संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

सभापति र प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको समुद्‍घाटन गरिनुको साथै सम्पूर्ण अतिथि र उपस्थित सबै सहभागीहरुबाट १०९ दीप प्रज्ज्वलन गरिएको थियो । नेपालको राष्ट्रिय गान लगत्तै संस्था कि सल्लाहकार तथा प्रेरणादायी अग्रणि महिला स्व. पवित्रादेवी सुनुवारको सम्झना र सम्मानमा मौन धारण गरिएको थियो । किसुमस  बेलायत कि उपाध्यक्ष कौशिला सुनुवारले अतिथिहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुको साथै हरेक साल मार्च  ८ अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको उद्देश्य, औचित्य र ऐतिहासिक पृष्ठभूमिको बारेमा प्रकाश पार्नु भयको थियो। कार्यक्रममा  ज्येष्ठ  महिला संस्था कि उपाध्यक्ष सुशिलादेवी सुनुवार र क्रमशः अन्य ज्येष्ठ महिलाहरु सम्मानित हुनु भएको थियो । सम्मानकै सन्दर्भमा प्रमुख अतिथि जंग सुनुवारलाई आदिबासी महासंघ बेलायतको अध्यक्षको सफल कार्यकालको सुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दै कि.सु.मा.स. अध्यक्ष मिनादेवी सुनुवारले दोसल्ला तथा पुष्प गुच्छा अर्पण गरेर सम्मान व्यक्त गर्नु भयको थियो ।

"आजको दिन स्वदेश तथा विदेशका अग्रणि साहसिक महिलाहरुको सम्मान र सम्झना गरिनुको साथै पुरुषहरुको पनि सम्मान गरिनुपर्छ । जसरी हरपुरुषको सफलतामा नारीको प्रत्यक्ष परोक्ष साथ र हात हुन्छ, यसैगरी नारीको सफलताको पछाडि पनि पुरुषहरुको मुख्य भूमिका रहन्छ । किरात सुनुवार महिलाहरुको  निम्ति  सदा योगदान  रहेको र नेपाल आदिबासी  जनजाति महासंघ बेलायत जस्तो गरिमामय सामाजिक संस्थाको नेतृत्व तहमा जंग सुनुवार पुग्नु भएकोले हामी कि.सु.म.स. बेलायतको  तर्फबाट उहाँलाई हर्षित र गौरवान्वित हुँदै सम्मान गरेका हौँ" अध्यक्ष सुनुवारले सम्मानको औचित्य प्रष्ट्याउँदै भन्नुभयो  । सोही क्रममा फोनिज अध्यक्ष प्रमिला राई र नेआजमम अध्यक्ष बिमला राईलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।१०९औँ अन्तराष्ट्रिय महिला दिवस मनाइरहँदा नेपाली नारीहरुको  स्थिति, प्रगति, चुनौती, समस्या र समाधानका पक्षतर्फ चर्चा परिचर्चा गरिनुको साथै समिक्षासमेत गरिएको थियो ।

"हरेक वर्ष फरक नारा तय हुनु  र  नारी दिवस मान्नुले सार्थकता तब पाउँछ जब व्यवहारमा नारा उद्देश्य अनुरुप  कार्यान्वयन हुन्छ"  भन्दै बिशेष अतिथिको आसनबाट  बिमलाले जिकिर गर्नु भयको थियो । नारी अधिकार र लैँगिक समानताको लागि सदियौँपूर्व आवाज बुलन्द पार्ने अग्रणि बिदेशी  नारी क्लारा जेट्लिनदेखि निरंकुश राणाकालीन शासनकालमा मानव अधिकारको विभिन्न मुद्दामा सवाल उठाउने योग माया, सहाना प्रधान, अनुराधा कोइराला आदि स्वदेशी नारीहरुको बलिदानको बारेमा स्मरण गर्दै नारी दिवसको ऐतिहासिक पक्ष, वर्तमान स्थिति र भविष्यको प्रगति हेतु सुधारतर्फ प्रमीला राईले प्रकाश पार्नु भयको थियो । 

"लैगिक असमानताको समस्याको जड  घर परिवारबाट सुरु हुन्छ। छोरा र छोरीमा विभेदको अन्तरनिहित संस्कारको परिणामस्वरुप नै लैँगिक असमानताको प्रमुख कारण रहेको र जसको निवारणका लागि घर परिवारबाट  छोरा-छोरीलाई  समताको लागि समान व्यवहार र संस्कार दिनुपर्छ । सांस्कृतिक सशक्तिकरण सक्षम नेपाली नारीहरु, सामाजिक, आर्थिक, शैक्षिकरुपमा पनि सशक्तिकरण हुन जरुरी छ । परनिर्भरता त्यागी आत्मनिर्भर बन्नको निम्ति हरतवरले  महिला सशक्त  बनेमा नारी मुक्ति र स्वतन्त्रताको  निम्ति गरेका संघर्षहरु फलिभूत हुनेछन्"  प्रमुख अतिथि सुनुवारले आफ्नो मन्तव्यको क्रमलाई  जोड्दै आदिबासी महिलाहरु राज्यबाट  र आफ्नै समाजबाट गैरआदिबासी महिलाहरुको दाँजोमा बढी विभेदमा पर्नुको कारण र समाधानको पक्षउपर प्रकाश पार्नु भयो।

उपस्थित सम्पूर्ण अतिथिहरु, सहभागीहरुलाई धन्यवाद दिँदै नारी जागरणको  निम्ति हमेशा समाजमा आफ्नो तर्फबाट योगदान दिने र भविष्यमा बढी उपलब्धिमूलक र गुणात्मक  स्तरबाट संस्थालाई अगाडि बढाई सुनुवार महिलाहरुमा सशक्तिकरण र एकता  स्थापित गर्ने प्रतिवद्धता जाहेर गर्दै  अध्यक्ष मिना सुनुवारले सभा विसर्जन गर्नु भयको थियो। कार्यक्रमको संचालन सचिव परिश्पा सुनुवार र सह सचिव सुमिरा सुनुवारद्वारा गरिएको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?