Sunday August 14, 2022

अंशुवर्माको ‘कैलाशकुट भवन’ खोज्दै पुरातत्व

२१ असार, २०७५ शीतलपाटीन्युज डटकम 47503



काठमाडौं । पुरातत्व विभागले ऐतिहासिक कैलाशकुट भवनको खोजी सुरु गरेको छ ।

सयौं वर्षअघि नष्ट भएर मानिएको लिच्छविकालीन कैलाशकुट भवन उत्खननका लागि सरकारले गृहकार्य थालेको हो । निर्माण भएको झण्डै १५ सय वर्षपछि यसको भग्नावशेषका रुपमा रहेको अस्तित्वको खोजी सुरु भएको हो ।

यसका लागि पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा एक समितिले बनेको छ । समितिले अहिले कैलाशकुट भवन रहेको भनेर विश्वास गरिएका विभिन्न स्थानहरुको स्थलगत अध्ययन गरिरहेको छ ।

‘कैलाशकुट भवन कसैले हाँडीगाउँमा छ भनेका छन्, कसैले माली गाउँमा छ भन्ने गरेका छन् । केहीको मत गोकर्ण भन्ने छ’ महानिर्देशक दाहालले भने, ‘यस विषयमा स्पष्ट हुन अध्ययन सुरु भएको हो । ठाउँ पत्ता लगाउन उत्खनन पनि गर्छौं ।’

धेरै पुरातत्वविदहरु भने प्राचीन दरबार काठमाडौंको हाँडीगाउँमा नै रहेको दावी गर्छन् । तर, यसको खोजविनमार्फत औपचारिक पुष्टि अहिलेसम्म भएको छैन ।

कैलाशकुट भवन रहेको अनुमान गरिएका सम्भाव्य स्थानहरुमा उत्खनन गरेर अनुसन्धान गर्ने योजना छ । ‘केही चिनियाँहरुले यात्रा वृत्तान्तमा यो भवनको चर्चा गरेका छन् । यो भवन अत्यन्तै सुन्दर, मनमोहक, आकर्षक, कलात्मक र वैभवशाली थियो भनेर उनीहरुको नियात्रामा वर्णन गरिएको छ’ महानिर्देशक दाहालले भने, ‘हाँडीगाउँ क्षेत्रमा केही त्यस्ता पुरातातत्विक प्रमाणहरु पनि भेटिएका छन् । अब अध्ययनलाई गहन रुपमा अघि बढाएका हौं ।’

हाँडीगाउँमा वृहस्पति सदन निर्माणको काम गर्दा लिच्छविकालीन इँटाहरु पनि भेटिएका छन् । त्यसैले त्यहाँ काम रोकेर विभागले अध्ययनका लागि काम अघि बढाएको हो ।

आधुनिक प्रविधिको प्रयोग गरेर कैलाशकुट भवनको खोजी र उत्खनन् गर्ने विभागको योजना छ । यसका लागि बेलायतको एक विश्वविद्यालयले पनि सहयोग गर्ने दाहालले बताए ।

करिब १ हजार ५ सय वर्ष अगाडि लिच्छविकालका राजा अंशुवर्माले निर्माण गरेको यो दरबारमा वास्तुकलाको अनुपम प्रयोग भएको विश्वास गरिन्छ ।

कस्तो थियो कैलाशकुट भवन ?

पुरातत्व विभागकाअनुसार कैलाशकुट भवन ७ तले, भव्य, उच्च कलात्मक र विचित्र विशेषतायुक्त रहेको किंवदन्ती छ । बहुमल्य पत्थरहरु प्रयोग गरिएको यो दरबारमा सयौं मान्छे अटाउने क्षमता थियो भन्ने जनविश्वास छ । यस्ता मिथकका कारण नै कैलाकुटको रहस्योद्घाटन गर्न सरकार अग्रसर भएको हो ।

अहिलेसम्मका अध्ययनले पनि कैलाशकुट भवनले नेपाली कला, सभ्यता र संस्कृतिको सबैभन्दा उच्च कोटीको प्रतिबिम्ब प्रस्तुत गरेको पुरातत्वका अधिकारीहरु बताउँछन् । कैलाशकुट भवनबारे प्राचीन राष्ट्रिय/अन्तर्राष्ट्रिय आलेखहरुमा वर्णन गरिएका छन् ।

विभागका महानिर्देशक दाहालकाअनुसार चिनियाँ दूतले आफ्नो नपाल यात्रा संस्मरणमा सन् ६४५ ताका नेपाल आइपुग्दा कैलाशकुट भवनमा गरिएको स्वागतबारे वर्णन गरेका छन् । यो संस्मरणमा दरबार विशालता, सजावट र कलात्मकतालाई उल्लेख गरिएको छ । उनले सो संस्मरणमा यस्तो दरबार चीनमा समेत नरहेको जनाएका छन् । उनले ७ तले दरबारमा मकर (गोही) को मुखबाट कलात्मक रुपमा पानी झरिरहको देखेको उल्लेख गरेका छन् ।

उनले यो भवन करिब २ सय ३० फुट उचाइको र ९ सय २० फिट चौडाइको भएको अनुमान गरेका छन् । यसमा ७ वटै तलमा ३/३ वटा बार्दली रहेको उल्लेख छ । दरबारमा तामाको छानो रहेको पनि जनाइएको छ ।

एक शिलालेखकाअुसार भवनबारे अंशुवर्मा आफैंले भनेका थिए, ‘यो पृथ्वीको टीका जस्तो छ, रमिता हेर्न उत्सुक भएका जनहरु आँखा नझिम्क्याई यो भवनलाई हेर्छन् ।’

अंशुबर्मा पछिका राजा नरेन्द्रदेवले ‘यो भवन चन्द्रमाको किरणले उज्यालो झलमल भएका हिमालका चुचुरा जस्तै देखिने भएकाले भवनको बयान संसारमै छ,’ भनेका छन् ।

चिनिया यात्रीको नियात्रामा यो रत्नले जडीजडाउ गरिएको उल्लेख छ । यसको विविध कलात्मक मूर्तिहरु लगाइएको थियो ।

भवनको मध्य भागमा तामाको झिगंटी हालेको सात तले बूर्जा थियो । यसका बार्दली, दलिन, खम्बामा बहुल्य रत्न जोडिएको थियो । बैठकमा अमूल्य मुगा रत्नहरुलाई सजाइएको थियो ।

छानाका सुरहरुबाट सुनौला गोहीका आकृतिमार्फत झरनाजस्तै धारा झरिरहेका थिए ।

कैलाशकुट भवन प्यागोडा शैलीमा भएको विश्वास गरिन्छ । भवनको वैभतातामाथि विश्वास गर्ने अर्को महत्वपूर्ण आधार लिच्छविकालमा कुँदिएका शिलालेखहरु हुन् ।

बुङ्मती, पाटन, खोपासी, साँगालगायतका क्षेत्रमा भेटिएका पुरातात्विक अभिलेखले पनि कैलाशकुट भवन कति विशाल थियो भन्ने प्रमाणित गर्छ । कतिपयमा कैलाशकुट भवनलाई ‘कैलाशजस्तै’ भनेर विभिन्न वर्णनसहित तुलना गरिएको छ ।

दरबारको रक्षार्थ वरपर ठूला नहरहरु बनाइएको, त्यसमा गोही छाडिएको, अग्ला पर्खालहरु बनाइएको लगायतका वर्णन पनि अभिलेखहरुमा भेटिएका छन् । यत्रो भव्य दरबार के सामग्रीबाट कसरी बनाइएको थियो भन्ने अझै स्पष्ट छैन ।

अब उत्खननपछि केही तथ्यहरु बाहिर आउनसक्ने विश्वास पुरातत्व विभागका अधिकारीहरुलाई छ ।

यो भवन कहिले ध्वस्त भयो भन्नेमा पनि फरक-फरक मतहरु छन् । यो भवन १० औं शताब्दीसम्म रहेको केही अभिलेखमा उल्लेख छ । तर, चुरो कुरा पत्ता लागेको छैन ।

नयाँ तथ्य भेटाइने अपेक्षा

कतिपयले ‘कैलाशकुट भवन’ आगलागीको करण ध्वस्त भएको दावी गरेका छन् भने कतिपयले आयु सकिएर नष्ट भयो भनेका छन् । तर, अंशुवर्मापछिका राजा नरेन्द्रदेवले यही भवनबाट राज्य चलाएकोमा धेरैको मतेक्य छ ।

हाँडीगाउँमा विभिन्न समयमा ‘अंशुवर्मन’ उल्लेख भएका इँटाहहरु भेटिएका छन् । ती इँटाहरु कैलाशकुट भवनकै भएको दाबी स्थानीयहरु गर्छन् । त्यहाँ लिच्छविकालीन अभिलेहरु पनि छन् ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)ले कैलाशकुट भवनको उत्खननका लागि हाँडीगाउँको बालमन्दिर क्षेत्र अधिग्रहण गर्नुपर्ने बताउँदै आएको छ ।

‘हामीले जयबर्माको मूर्ति भेटिएको क्षेत्रहरुमा पनि अध्ययन गर्छौं, कैलाशकुट भवनका बारेमा यो अध्ययनपछि थप स्पष्ट हुनेछ’ विभागमा महानिर्देशक दाहालले भने,’यो वर्ष कैलाशकुट भवन खोज्ने र उत्खनन गर्न विभागले अधिकतम प्रयास गर्छ ।’

 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?