Thursday June 01, 2023

अर्जेन्टिनामा विश्वकप फुटसल खेल्न जाने नेपाली टोलीलाई गृहमन्त्रीद्वारा बिदाइ

१४ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 66203


अर्जेन्टिनामा विश्वकप फुटसल खेल्न जाने नेपाली टोलीलाई गृहमन्त्रीद्वारा बिदाइ

शीतलपाटीन्युज डटकम। 

गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ । मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ गर्नुभएको हो । 

सो अवसरमा मन्त्री थापाले विश्वकपजस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन पाउनु नेपालका लागि खुशीको कुरा भएको बताउँदै नेपालले राम्रो खेल प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले खेलाडीको वृत्ति विकास र खेल क्षेत्रको पूर्वाधार निर्माणमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको पनि बताउनुभयो । 

बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा बुधबार राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । नेपाली टोलीका अन्य सदस्यमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ छन् । 

टोली प्रशिक्षकमा कमल विष्ट छन् । विश्वकप खेल्न नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाल समूह ‘डी’ मा छ । सो समूहमा क्यानडा, क्याटलना (स्पेन) र फ्रान्स छ । नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग खेल्नेछ । दोस्रो खेल क्याटलनासँग यही चैत १९ गते तथा समूहको अन्तिम खेल यही चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । विश्वकपमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाउन लागेको हो । (RSS)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?