५ बैशाख, २०७६
– वसन्तराज कुँवर
काठमाण्डौ। नेपाल पूर्वप्रहरी संगठनको अनुरोधमा लागुऔषध विरुद्ध प्रशिक्षण दिन यसपटक भोजपुर जाने मौका मिल्यो । सो अवसरमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरू, स्थानीय मेयर र महिला प्रमुख जिल्ला अधिकारीसँग पनि भेट्ने मौका मिल्यो । भोजपुर पुगेर मैले थाहा पाएँ कि त्यहाँ एक आमा हुनुहुन्छ जसका दुवै प्रहरी छोराहरू ४ महिनाको अन्तरालमा माओवादी युद्धमा सहिद भएका थिए । यो कुराले मलाई निक्कै पीडा पु-यायो र आफ्नो प्रशिक्षणका क्रममा ती आमालाई आमन्त्रण गर्न मैले अनुरोध गरेँ। प्रशिक्षण कार्यक्रम सुरु हुनुभन्दा केहिअघि एक वृद्ध आमालाई साहारा दिँदै हलमा ल्याइयो । मैले बुझिहालेँ उहाँ सायद त्यही महान् आमा हुनुहुन्छ जसले दुई छोरा प्रहरी संगठन र देशका लागि बलिदान दिनुभयो । हल खचाखच भएकाले र कार्यक्रम सुरु हुन लागि सकेकाले मैले ती आमासँग कुरा गर्न पाइनँ तर कार्यक्रमपूर्व नै मैले ती आमालाई दोसल्ला ओढाई सम्मान गर्ने योजना गरिसकेको थिएँ ।
https://www.facebook.com/basanta.kunwar.507/videos/723978071331256/
औपचारिक कार्यक्रम सुरु भएपछि ती आमाको सम्मान गर्ने समय आयो । प्रजिअ हिरादेवी पौडेल नै सम्मान प्रदान गर्नका लागि सही व्यक्ति हुनुहुन्थ्यो, त्यसैले उहाँलाई दोसल्ला ओढाइदिन अनुरोध गरियो । जसै ती आमालाई साहारा दिँदै स्टेजमा लगियो र उहाँले दुई–दुई छोराहरू गुमाएको कुरा आयोजकले जानकारी गराए, हल स्तब्ध भयो । प्रजिअ पौडेलले ती आमालाई दोसल्ला ओढाई निक्कै बेर अँगालो हाल्नुभयो । ती वृद्ध आमाले पनि प्रजिअको छातिमा बालकले झैँ टाउको राखी यसरी आफूलाई समर्पित गर्नुभयो मानौँ धेरै वर्षको हुरीबतास झेलेपछि बल्ल एक आश्रय मिलेको छ । प्रजिअ पौडेल आफै पनि भावुक हुनुभयो । मेरो पनि नजाँनिदो गरी आँखाबाट आँसु रसायो । आखिर प्रजिअ भए पनि पौडेल आमा पनि त हुनुहुन्थ्यो । दुई आमाको भेट पनि थियो त्यो । सम्मान प्राप्त गरेपछि ती आमालाई साहारा दिएर तल झारियो । मैले देखेँ उहाँका आँखा पूरै आँसुले भरिएका थिए तर फर्कँदा उहाँमा केही थप जोस जाँगर थियो । मुहारमा उज्यालो थियो । अलि हल्का भएझैँ देखिन्थ्यो मानौँ उहाँको मनले भनिरहेको छ कि, ‘छोड, छोड मलाई नसमाऊ किनकि म अब आफैँ ओर्लन र अघि बड्न सक्छु ।’ त्यसदिन करिब दुई घण्टाको कार्यक्रम पश्चात सबै जना हलबाट बाहिरियौँ । पूर्वप्रहरीका एक नं प्रदेशका प्रमुख बाबुराम श्रेष्ठ, महासचिव विन्देश्वर श्रेष्ठ र मलाई त्यसैदिन धरान आइपुग्नु थियो त्यसैले हामी हतार–हतार त्यो हलबाट फर्कने तयारीमा लाग्यौँ । जसै म हलबाट बाहिरिएँ ती आमा मलाई कुरिरहनु भएको रहेछ । वरिपरी थुप्रै भीड थियो, ती आमालाई मैले नजिक पुगी नमस्कार गरेँ । जसै मैले उहाँलाई नमस्कार गरेँ उहाँले मलाई पूरै अँगालो हाल्नुभयो । अलि छोटो कदका भएका कारण उहाँ केटाकेटीजस्तै गरी मसँग टाँस्सिनु भयो र खुब रुन थाल्नुभयो । उहाँले रुँदा के के कुरा बोलिरहनु भएको थियो जुन मैले बुझिनँ । मैले पनि केटाकेटीलाई झैँ उहाँको कपाल सुमसुमाइदिँदै भने, ‘हजुरको छोराहरू हामीभन्दा बहादुर थिए, तिनले हामीभन्दा ठूला काम गरेर गए ।
वरिपरीका स्थानीय पूर्वप्रहरी साथीहरूले आमा नरुनुहोस् हामी छौँ भनेर सम्झाइरहेका थिए । उहाँले मलाई छोड्नै भएन तर हामी फर्कने हतारमा थियौँ । त्यत्तिकैमा एक महिलाले ती आमालाई मबाट छुटाउन आमा अब भयो भनेर हल्का तान्नु भयो । जब उहाँलाई तान्न खोजियो उहाँले नाई भन्दै अझ बलियो पकड साथ मलाई दुवै हातले कस्नु भयो । म यसबाट बिचलित नै भएँ र मनमनै सोचेँ आज म यी आमालाई खुब रुन दिन्छु ताकि उहाँको मनको ज्वालामुखी आँसुरूपी लाभा भएर बाहिरियोस् र मन शान्त होस् । मैले कसैलाई नतान्न भनेँ । उहाँ मसँग निक्कैवेर छातीमा टाउको राखी घुक्क घुक्क गरी रुनुभयो र केहि क्षणपछि दुवै हात बाहिर निकाली मलाई मुक्त गरिदिनुभयो । मलाई छोडेपछि उहाँ फनक्कै फर्कनुभयो र फटाफट घरतर्फ लाग्नु भयो । त्यसपछि मलाई हेर्नु पनि भएन । वरिपरी थुप्रै मान्छेले ती वीर आमालाई सम्मानपूर्वक हेर्दै थिए । मेरो कोट उहाँको आसुँले बगलीनिर चिसिएको रहेछ । म एकछिन त जहाँ थिएँ त्यहि टक्क अडिएर उभिएँ । त्यसपछि अाँखाबाट ओझेल नहुन्जेल ती आमालाई हेरेँ र मनमनै भनेँ, ‘सायद भगवान्ले यिनै आमासँग भेटाउन र यिनका पीडा आँसुका रूपमा मेरा कोटमा सार्नका लागि नै मलाई कुनै बहानामा भोजपुर ल्याउनु भएको रहेछ ।’ त्यसपछि हामी गाडी चढेर काठमाडौँतिर लाग्यौँ । भोजपुर सदरमुकामबाट झण्डै डेढ–दुई घण्टा गाडीमा ओर्लिएपछि लेगुवा भन्ने ठाउँ आउँदो रहेछ जहाँ कोशी नदीको पुल तर्न सकिने रहेछ । हामी तीनै जना म, बाबुराम श्रेष्ठ र विन्देश्वर श्रेष्ठले तिनै आमाको कुरा गर्दागर्दै लेगुवा आइपुग्यौँ । सबैको मन गरुङ्गो भएको थियो । साथी विन्देश्वरले मलाई सोध्नुभयो जागिरमा ज्यान गुमाउनेले त गुमाए तर तिनका परिवार कसरी बसेका छन् भन्ने कुरा के ठूला हाकिमहरूलाई थाहा होेला ? के यी आमाका बारेमा प्रहरी प्रधान कार्यलयलाई कुनै जानकारी होला , जसले दुई–दुई ओटा छोरा बलिदान गरिन् । उनको यो प्रश्नले मलाई पनि झक्झकायो । मलाई लाग्यो दिएर खुवाएर वा खाएर कसैलाई पुग्दैन तर जसले प्रहरीमा जागिर खाएर ज्यानै अर्पित गरे त्यसमाथि पनि एउटै आमाबाट जन्मिएका दुई–दुई जनाले जीवन गुमाए तिनका परिवारका बारेमा त कमसेकम पुलिसका उच्च बहालवाला हुन् वा पूर्व अफिसरहरूले त यो कुरा थाहा पाउनै पर्छ र केहि नसके पनि तिनले यो परिवारप्रति भावनात्मक रूपमा साथ र सम्मान त दिनै पर्छ । यो कुरा मनमा आउने बित्तिकै त्यहि लेगुवाको पुलबाट मैले नेपाल पूर्व प्रहरीको सामाजिक सञ्जाल मार्फत् ती आमाको फोटो र तिनका छोराहरू फुर्वा छिरिङ र नुर्वु छिरिङको सम्बन्धमा स्टाटससहित जानकारी प्रेषित गरेँ । मैले स्टाटसमा यो पनि लेखेँ कि यो कुरा प्रहरी महानिरीक्षकको कानमा पनि पु-याउने छु र ती आमाको बलिदानको उच्च कदर प्रहरी प्रधान कार्यलयबाट समेत हुनका लागि अनुरोध गर्नेछु । मेरो स्टाटसपश्चात धेरै प्रहरी अधिकृतहरूले यस सम्बन्धमा सरोकार पनि जनाउनु भयो । शहिद प्रहरी फुर्वाले तेह्थुममा र नुर्वुले सोलुमा २०५८ सालको ४ महिनाको अन्तरालमा ज्यान गुमाएका रहेछन् । यो कुरा कति बहालवाला वा पूर्वप्रहरी अधिकृतहरूलाई थाहा होला त्यो आफ्नो ठाउँमा छ तर मलाई लाग्छ आफ्नो वर्गको जीवन अर्पित गर्नेहरूका बारेमा जानकारी राख्न प्रयास हुनुपर्दछ ।
भोजपुरमा थुप्रै उच्च प्रहरी अधिकृतहरूको जन्म भयो । उहाँहरूले त्यस परिवारमा अझ नजिकको आत्मीयता देखाउन सक्नु पर्दछ भन्ने मेरो मान्यता छ । हामी पूर्व तथा वहालवाला उच्च अधिकृतहरू आजका दिनमा असल काम गरिरहेका हौँ वा जुवा तास खेल्दै वा मदिरा पिउँदै वा खेलकुद गर्दै वा सामाजिक, आर्थिक क्रियाकलाप गर्दै आफ्ना दिनहरू बिताइरहेका हौँ वा केवल परिवारका लागि मात्र निष्क्रिय वा सक्रिय जीवन बाँचिरहेका हौँ, त्यो आ–आफ्नो जीवन बाँच्ने तरिका हो तर उच्च प्रहरी अधिकृत भएर कुनै बेला वा आज ठूलाठूला फुली लगाई नेतृत्व तहमा पुगिसकेपछि तल्ला तहको सबैको कल्याण गर्न नसके पनि हाम्रा आदेश पालना गरी मृत्युवरण गर्नेहरू सम्मलाई त चिन्नु, तिनका परिवारलाई बुझ्नुस र तिनलाई सक्दो सहयोग गर्नु नैतिक दायित्वभित्र नै पर्दछ । आज धेरै प्रहरी महानिरीक्षकहरूको हुलमा डिवि लामा र खड्गजित बराललाई यस कारण देशका कुना काप्चाका प्रहरीहरूले सम्झन्छन् किनकी तिनले प्रहरी र पूर्वप्रहरीका लागि उल्लेखनीय योगदान दिए । केबल आफु शक्तिमा पुग्ने, खुब कमाउने, आफ्नै ३० वर्षे हटाउने खालका प्रहरी महानिरीक्षकहरूलाई लामा र बरालको जति सम्मान मिलेको छ्रैन । जागिरमा गरेका शान्ति सुरक्षाको कार्यमा दिएका योगदान पद गएसँगै मान्छेले बिर्संदा रहेछन् किनकी त्यो तलब खाएर गरिएको काम थियो तर अमर, अशक्त, सहिद र तल्ला तहका पूर्वप्रहरीहरूका दीर्घकालीन फाइदाका लागि गरिएका कामहरूले प्रहरीका अभिभावक प्रहरी महानिरीक्षकलाई अवकाशपछि पनि अमर बनाउँदो रहेछ ।
आमाको रोदन:
https://www.facebook.com/basanta.kunwar.507/videos/723978071331256/