Sunday April 02, 2023

नेपालको मौलिकतामा विदेशी लोभिए

१२ बैशाख, २०७६ शीतलपाटीन्युज डटकम 6684


नेपालको मौलिकतामा विदेशी लोभिए

शीतलपाटीन्युज डटकम।

काठमाडौँ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् ।अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण नेपालमा छ । त्यस्तै आकर्षणले अहिले १८ जना सम्मिलित चिनिया चित्रकारको एक समूह नेपालका पुरातात्विक क्षेत्रमा रमाइरहेको छ । नेपाली कला, संस्कृति, रहनसहन र प्राकृतिक छटाले उनीहरुलाई लोभ्याएको छ ।

मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित काठमाडौँ उपत्यकाका कला र संस्कृतिलाई उनीहरुले क्यानभासमा उतारेका छन् । प्यागोडाशैली र कुँदिएका टुँडाल तथा आकर्षक भौतिक संरचनाले चिनियाँ चित्रकारलाई मुग्ध पारेको छ । “हामीलाई नेपाली कलाले औधी तानेको छ, धेरै देशमा पुग्यौँ तर यहाँको मौलिकता र रहनसहन साह्रै मन पर्यो, नेपालीहरुको सहयोगी भाव देखेर गर्वको महसुस भइरहेको छ”, चिनियाँ टोलीका प्रमुख चु चेङ याङले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

नेपालीको अनुहार चमकदार हुनुका साथै यहाँको पोशाक निक्कै आकर्षक र मौलिक लागेको भन्दै याङले पुन नेपाल घुम्न आउने प्रतिक्रिया दिनुभयो । बुबाआमाको प्रेरणाका कारण ३० वर्षदेखि चित्रकारिता गर्दै आउनुभएका उहाँले यसपटक भक्तपुरका एक बटुवाको मुहार चित्र उतार्नु भएको छ । आर्ट बनाउँदा निक्कै बेर बसेर स्थानीयले सहयोग गर्नु पनि ठूलो कुरा भएको उहाँले बताउनुभयो । यस्तै उहाँले मौलिक कला र पुरातात्विक क्षेत्रमा जीवन्त तस्वीर पनि उतार्नुभएको छ ।

नेपालको पशुपतिनाथ, स्वयम्भू, दरबार क्षेत्र, हिमशृङ्खला, पहाडी प्रकृति र संस्कृति, विश्व शान्तिका प्रतीक भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी, पर्यटकीय क्षेत्र पोखरा, सौराहालगायत ठाउँमा घुमेर पर्यटक रमाउँछन् ।

चिनियाँ चित्रकारले पनि काठमाडौँ उपत्यका र पोखराको वातावरण तथा धार्मिक सांस्कृतिक क्षेत्रमा पुगेर प्रत्यक्ष अनुभव लिँदै कुची चलाएर क्यानभासमा नेपाली कला र संस्कृति भरे । चिनियाँ चित्रकारको समूहका ६४ वर्षीय मा क्वी से पनि १४ वर्षदेखि चित्र बनाउँदै आउनुभएको छ । यसपटक नेपाली कलालाई चिनियाँ कागजमा रङ्ग्याउन पाउँदा बेइजिङका क्वी से औधी खुशीे हुनुभयो ।

बौद्धमा महिला पूजाआजाका लागि तयारी अवस्थामा रहेको जीवन्त दृष्यलाई क्यान्भासमा कैद गर्नुभएका क्वी सेले भन्नुभयो, “चीनमा पुगेर नेपाल चिनाउँदै चित्रकला प्रदर्शनी गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ ।” उहाँहरुसहित नि पियोङ, मा क्वी से, वाङ्ग क्वी जिङ्ग, सुयोङ्ग चेन, म्यागु से, ग्यु लङ, यु ग्वाङ्ग स्याङ, च्युङ स्यु मिङ, लि जिङ ज्याङ, लि मीलगायतका चित्रकार सहभागी छन् । उनीहरुलाई अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एन वी गुरुङले सहयोग गरिरहनुभएको छ ।

उनीहरुले मौलिक कला, रहनसहन, मुहार चित्र, महिला र पुरुषका दैनिक क्रियाकलापसम्बन्धीका चित्र तथा दृष्य उतारेको अध्यक्ष गुरुङले बताउनुभयो । चिनियाँ चित्रकारलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्वेयरमा चिनियाँ भाषा टाइप गर्छन् ।

भरपर्दो सञ्चारको माध्याम वी च्याट छ । सफ्वेरमार्फत रुपान्तरण गरेर कुराकानी हुन्छ । दश दिन अघिदेखि उनीहरुको दिनचर्या यसैगरी बितिरहेको छ । नेपालका मौलिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रमा पुगेर उनीहरुले चित्र बनाएका छन् ।

यो अवधिमा उनीहरु भक्तपुर, नगरकोट, पोखरा, पाटन, हनुमानढोका, स्वयम्भू, पशुपतिनाथ घुमेर चित्र बनाएका छन् । बनाएका चित्र नेपालमै र चीनमा समेत प्रदर्शन गर्ने योजना रहेको चित्रकारले बताएका छन् । नेपालमा बनाएका चित्रलाई सङ्ग्रह गरेर राख्ने उनीहरुको योजना छ ।

एक देशका चित्रकार अर्को देशमा गएर काम गर्दा दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तार हुने र कला पर्यटनमा टेवा पुग्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले बताउनुभयो ।रासस



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?