Sunday December 15, 2019

युकेको वेल्समा Hike For Nepal 2019

४ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम । 1156


युकेको वेल्समा Hike For Nepal 2019

सुधा गुरुङ्ग।

लण्डन। नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्द्धन गर्न पोखरेली मंच यूके र We Will Rise फाउन्डेशनको संयूक्त तत्वावधानमा बिगतका बर्षहरुमा झै यो बर्ष पनि ब्रेकन, बेल्समा अगस्टको दुई देखि चार तारीख सम्म Hike For Nepal आयोजना गरिने भएको छ। गत बर्ष १५० जतिको सहभागिता रहेको हाईक फर नेपालमा यो बर्ष ३०० जतिको सहभागिता रहने अनुमान लगाईएको कुरा हाईक फर नेपालका मुख्य संयोजक मेजर खुशीमान गुरुङ्ग (एमभिओ)ले बताएका छन।

हाईक फर नेपाल क्याम्पिङ्ग र हाईकिङ्गको आयोजना गर्नुको मुख्य उद्देश्य र लक्ष्य स्थानीय पर्यटकलाई नेपालको बारेमा थप परिचित गराउनु रहेको छ। साथै बेलायत भरी छरिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाधी एक नेपालीले कम्तीमा चार पांच पर्यटकलाई नेपाल भित्र्याउन सक्ने वातावरणको सृजना गर्नु पनि रहेकोछ।

साधारणतया क्याम्पिङ्ग जादा आफैले खानपानको ब्यवस्था समेत गर्न पर्ने हुनाले धेरै कुराको बन्दोबस्त मिलाएर जानू पर्ने हुन्छ। तर हाईक फर नेपालको क्याम्पिङ्गमा सो झंझटबाट मुक्त रहि केवल आफ्नो आवश्यकीय लत्ता कपडा, टेन्ट र आफ्नो लागि चिया नास्ताको सामान बाहेक डिनर र मनोरंजनको कुनै टेंशन नलिई सम्मिलित हुन सकिन्छ। सयौंको संख्यामा स्थानीय लगायत बेलायत भरिबाट आएका क्याम्पर्सहरुसंग भलाकुसारी भेट्घाट गर्दै रमाईलो गर्ने सुअवसर पनि पाईन्छ। क्याम्पर्सका लागि यी सबै कुराको बन्दोबस्त हाईक फर नेपालका मुख्य संयोजक मेजर खुशीमान गुरुङ्गको नेतृत्वमा स्थानीय वेल्स बासीले बडो ब्यवस्थित तरीकाले मिलाएका हुन्छन।

तीन दिने क्याम्पिङ्गको ब्यवस्था यस प्रकार मिलाईएको छ। पहिलो दिन, अगस्ट दुई तारीख शुक्रबार, द बिशप मिडोज क्याम्प साईट, ब्रेकन वेल्समा सबै क्याम्पर्सहरु भेला भए पश्चात् सांझको खानपानको ब्यवस्था द गोर्खा ईन रेस्टोरेन्टले मिलाउने तय गरिएको छ। दोश्रो दिन तीन अगस्टको बिहान नौ बजे ब्रेकफास्ट पश्चात सबै भेला भए पछि केहि औपचारीक कार्यक्रम हुनेछ। सो सकिना साथ एघार देखि चार बजे सम्म हाईकिङ्ग अनि सांझ ब्रेकन हाई स्कूलमा करी डिनरका साथ सांस्कृतिक कार्यक्रमको पनि ब्यवस्था मिलाईएको छ। हाईकिङ्गको लागि प्याक लन्च आफैले बन्दोबस्त गर्नुपर्नेछ भने रात्री भोजनको निम्ति अग्रिम बुकिङ्ग गर्नुपर्नेछ। सो को लागी ईच्छुक महानुभावले मुख्य संयोजक मेजर खुशीमान गुरुङ्ग एम भि ओ र पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुङ्ग संग सम्पर्क राख्न सक्नुहुनेछ।

नेपाल असिमित प्राकृतिक सौन्दर्यले भरिपूर्ण अति नै सुन्दर देश हो जहाँ विभिन्न जातजाती मिलेर बसेका छन। शान्तीका दूत भगवान गौतम बुद्धको जन्मथलो र संसारको सबै भन्दा अग्लो हिमाल माउन्ट एभरेस्ट ले पनि नेपाललाई संसार सामु परिचित गराएको कुरा सर्व बिधितै छ। सन १८६५ मा बृटिश जेनेरल एवम अन्वेषक जोर्ज एभरेस्टले माउन्ट एभरेस्ट संसारको सबै भन्दा अग्लो हिम श्रींखला हो भनी पत्तो लगाएकाले उनकै नाममा माऊन्ट एभरेस्ट नामाकरण गरिएको हो। संजोग नै मान्नुपर्छ उनी ब्रेकनको नजिकको शहर क्रीखोवेलका बासिन्दा हुन। गौतम बुद्ध र सगरमाथाका अलावा नेपाल वीर गोर्खाको जन्मथलोको रुपमा पनि संसारमा चिरपरिचित छ। बेलायती सेनामा वीर गोर्खालीले २०४ बर्ष देखि सेवा पुर्‍याउदै आइरहेका छन। साथै गत फेब्रुअरीमा मेजर गुरुङ्गको पहलमा ब्रेकन र धम्पुस गाऊ बिच मितेरी साईनो पनि गासिएको छ। यसले भिजिट नेपाललाई प्रमोट गर्न थप टेवा मिल्ने बिस्वास पनि गरिएको छ।

नेपाल भ्रमण बर्ष २०२० मा २० लाखको हाराहारीमा पर्यटक नेपाल भित्र्याउने नेपाल सरकारको लक्ष्यलाई साकार तुल्याउन वेल्समा हुन लागेको हाईक फर नेपालले थप टेवा पुराउने कुरा पनि मेजर गुरुङ्गले बताए। त्यसैले धेरै भन्दा धेरै क्याम्पर्स सहभागी भै हाईक फर नेपाललाई सफल तुल्याउन आयोजकले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?