Sunday December 15, 2019

हार्दिक श्रद्दान्जली: रहिनन् भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराज

२२ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम 1217


हार्दिक श्रद्दान्जली: रहिनन् भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराज

शीतलपाटीन्युज डटकम।

मङ्गलबार राति भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको छ।  स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । ६७ बर्षकी स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्याउनुभएको थियो । उहाँले मङ्गलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहनुभएको बताइएको छ । 

स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुग्नुभएको थियो ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले आज दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको थियो ।  “प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिए ,” स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएको छ ।

स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त हुनुभएको थियो । उहाँले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्र्रतिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उहाँलाई भाजपाले उम्मेदवार बनाएको थिएन ।

विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताउनुभएको छ।

प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, “भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरीब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।” (रासस/एएनआई) 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?