२२ असार, २०७५
शीतलपाटीन्युज डटकम।
काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी ) सर्वेन्द्र खनाल अहिले त्यति चर्चामा छैनन् । कारण, उनी मिडिया प्रचारबाट अलि टाढा बस्न खोजिरहेका छन् । खरो शैली र साहसिक भूमिकाका कारण विगतमा धेरै चर्चामा आएका सर्वेन्द्र आर्इजीपी भएपछि फरक शैलीमा अगाडि बढ्ने प्रयास गरिरहेका छन् । हल्ला कम, काम बढी गर्ने उनको नयाँ रणनीति छ। मातहतका कमान्डर तथा कर्मचारीलाई पनि उनले प्रचारभन्दा नतिजातिर बढी केन्द्रित हुन निर्देशन दिइरहेका छन्।
प्रहरी मुख्यालयमा नेपाल समयसँग विशेष कुराकानी गर्दै उनले भने, 'यो हल्ला गर्ने वा चर्चा चलाउने बेला होइन, काम गरेर देखाउने हो । म त्यही मिसनमा छु ।' नतिजा देखिने गरी उनी चुपचाप काम गरिरहेका छन् । चर्चामा आइरहने खनाल आर्इजीपी भएपछि शिथिल भए भन्ने बजारको आरोपलाई अस्वीकार गर्दै उनी भन्छन्, 'चर्चा चलाउन र प्रचार बढाउन म आर्इजीपी भएको होइन । मैले काम गरेपछि रिजल्ट नागरिकले अनुभव गर्ने हो।'
केही प्रकरणसँगै विगतमा प्रहरीभित्र आन्तरिक गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र राजनीतिक चलखेल जसरी हाबी भयो, त्यसले फिल्डका हरेक सिपाहीको मनोबल कमजोर बनाएको थियो र प्रहरीको छविसमेत धमिलिएको थियो । नेपाल प्रहरीको 'चेन अफ कमान्ड'लाई थप कसिलो बनाएर हरेक सिपाहीको मनोबललाई उच्च बनाउने र प्रहरीको छवि चम्काउने अभियानमा खनाल लागेका छन् ।
आइजीपी नियुक्ति विवाद, सरुवा तथा बढुवामा हुने चलखेल तथा दौडधुपका कारण प्रहरीमा विगतमा देखिएको बेथिति र अनुशासनहीनतालाई कडाइका साथ अंकुश लगाउने काम सर्वेन्द्रले गरेका छन् । उनी भन्छन्, 'विगतमा त्यस्ता केही गतिविधि भए होलान् तर अब प्रहरीमा त्यस्तो हुँदैन, चल्दैन । दौडधुप र भनसुनले सरुवा-बढुवा हुँदैन। कामको मूल्यांकन गरेर प्रक्रियागत रूपमा हुन्छ, त्यो सिस्टम हामीले विकास गरिसकेका छौं ।'
आन्तरिक सुशासन र सदाचारिताको विकास गरेर नेपाल प्रहरीलाई दक्षिण एसियाकै एउटा नमूना प्रहरी बनाउने लक्ष्यका साथ उनले मिसन अगाडि बढाएका छन् । 'यो मेरो अठोट हो, म नेपाल प्रहरीलाई नमूना बनाएर एक नम्बर बनाउन चाहन्छु । त्यो काम शुरु भइसकेको छ,' उनी भन्छन्, 'प्रहरीले गर्नुपर्ने काममा चुस्तता आएको छ। अवरुद्ध भएका प्रशासनिक कामहरू सम्पन्न गरिएको छ। फिल्डमा सुधार गर्नुपर्ने पक्षमा पनि विशेष पहल थालिएको छ।'
झण्डै २० वर्षदेखि ब्लक भएको बढुवा तथा सरुवालाई खनालले दुई महिनामै सहज रूपमा सम्पन्न गरेका छन् । यसले जवानदेखि उच्च तहमा एक खालको उत्साह थपिएको छ । जवानदेखि उच्चअधिकृतसम्मको समयबद्ध बढुवा र सरुवाले मनोबल बलियो हुने र व्यावसायिकता झन् बढ्ने विश्वास खनालको छ । उनी आर्इजीपी भएपछि जवानदेखि डीआर्इजीसम्म करिब १० हजारको सरुवा र पदस्थापन भएको छ । यस्तै, जवानदेखि एसएसपीसम्मको साढे दुई हजारको बढुवा सम्पन्न भएको छ । सरुवा-बढुवा र पदस्थापनमा जुन प्रकारको अलमल र ढिलाइ हुँदा अनेक खालका चलखेल हुने र त्यसले संगठनका सदस्यहरूलाई अन्योलमा पार्ने जुन अवस्था थियो, त्यो अब अन्त्य भएको छ।
आरजीपी खनालले आफूले जिम्मेवारी सम्हालेपछि आपराधिक गिरोह र समूहविरुद्ध विशेष अप्रेसन चलाएका छन् । 'अपराध रोकथाम तथा अनुसन्धानमा हामीले शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेका छौं, त्यसको नतिजा पनि देखिएको छ,' खनाल भन्छन्, 'कुनै पनि आवरणमा हुनसक्ने गैरकानूनी कार्य, अपराधजन्य, हिंसात्मक घटना हुन नदिन विशेष सतर्कतासहित रणनीतिक रूपमा प्रहरी परिचालित भएको छ।'
वैदेशिक रोजगारीका क्रममा हुने ठगी तथा बदमासीलाई कडाइका साथ नियन्त्रण गर्न सरोकारवाला निकायहरूलाई प्रभावकारी रूपमा सघाउने काम प्रहरीबाट भइरहेको खनाल बताउँछन् । नेपाल सरकारको स्वीकृति र सहमतिबिना मलेसियालगायत देशमा रोजगारीका लागि पठाउने क्रममा विभिन्न नाममा सिन्डिकेट खडा गरी असुल्ने र ठग्ने तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएर ठगी मुद्दा चलाइएको उनी बताउँछन्।
यातायात सिन्डिकेट अन्त्य गर्ने क्रममा प्रहरीको भूमिका महत्वपूर्ण रहेको खनाल बताउँछन् । 'यो काम सजिलो थिएन तर हामीले अन्य निकायहरूसँग समन्वय गरेर प्रभावकारी भूमिका निर्वाह गर्यौं र सिन्डिकेट अन्त्य भयो,' खनाल भन्छन् ।
लागूऔषधविरुद्ध पनि विशेष अप्रेसन नै चलाइएको छ। यसमा शून्य सहनशीलताको नीतिअनुसार कारवाही अगाडि बढाइएको छ । धेरै गिरोह नियन्त्रणमा आइसकेको खनाल बताउँछन् । उनका अनुसार मानव बेचविखन तथा बाल यौन दुराचारलगायत सामाजिक अपराध नियन्त्रणका लागि पनि प्रहरीले आक्रामक अभियान चलाएको छ।
खनाल प्रहरीलाई संघीय संरचनामा लैजानका लागि गहन गृहकार्य भइरहेको बताउँछन्। त्यही सन्दर्भमा विभिन्न प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न भइसकेको उनी बताउँछन् । भन्छन्, 'ती गोष्ठीमा संगठन सुधार, सुदृढीकरण, आन्तरिक सुशासनबारेमा पनि नयाँ सर्कुलर जारी गरिएको छ।'
राष्ट्रसंघीय मिसन तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाल प्रहरीको भूमिका र सहभागिता बढाउनेबारेमा आर्इजीपी खनालले पहल थालेका छन् । संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको दोस्रो सम्मेलनमा सहभागी भएर उनले अन्य देशका प्रहरी प्रमुख तथा नगारिक सुरक्षा अधिकारीसँग भेटवार्ता गरेका थिए।
आम प्रहरी अधिकृतभन्दा फरक शैली र स्वभावका सर्वेन्द्रको सुरक्षा वृत्तमा बेग्लै पहिचान छ। उनी संगठनभित्र जति लोकप्रिय छन्, बाहिर पनि उनको छवि राम्रो छ । बोल्ड व्यक्तित्व र दृढ आत्मविश्वास, व्यावसायिक शैलीका कारण उनी आफूलाई फरक आर्इजीपीको कोटीमा राख्छन् । विगतमा धेरै अप्ठ्यारा अवस्थामा उनले निकै सुझबुझका साथ साहसिक भूमिका निर्वाह गरेका छन् । संकटका घडीमा समाधानको सूत्र बनेर उनी फिल्डमा खटिएका छन् । २८ वर्ष लामो व्यावसायिक यात्रामा उनले थुप्रै महत्वपूर्ण मोर्चाको कमान्ड सम्हालेका छन् तर कुनै पनि अप्रेसन तथा मिसनमा उनी असफल भएका छैनन् । जोखिमसँग जुध्न र संकटलाई सामना गर्न उनलाई मन पर्छ किनकि त्यो साहस र धैर्य उनीसँग छ।
संवेदनशील संक्रमणमा कुशल सुरक्षा समन्वयदेखि सडक आन्दोलनको व्यवस्थापनमा उनको विगतको भूमिका विवादमा परेन। गुण्डाराजसँग कहिल्यै सम्झौता नगर्ने सर्वेन्द्रले तत्कालीन युवराज दीपेन्द्रले भन्दा पनि गुण्डालार्इ छाडेका थिएनन् र उनको गाडीसमेत खानतलासी गरेका थिए । राजाले गद्दी छाडेपछि नारायणहिटीको साँचो सेनासँग बुझ्ने महत्वपूर्ण काम पनि उनले सुझबुझका साथ पूरा गरेका थिए। फुटबलमा हुने म्याच फिक्सिङको भन्डाफोर गरेर उनले खेलकूद जगतमा तरंग ल्याइदिएका थिए, त्यसपछि नेपाली फुटबलले नयाँ उचाइ हासिल गरेको छ।
(समय नेपालबाट)