Wednesday October 16, 2019

निवर्तमान सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ

१९ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 1014



काठमाडौँ, १९ असोज । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले महरालाई बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको हो । महरालाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले आजै पक्राउ पुर्जी जारी गरेको थियो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सभामुख महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

असोज १२ गते राति महराले आफूलाई बलात्कारको प्रयास गरेको भनी शाहीले १४ गते मंगलबार मिडियामार्फत सार्वजनिक गरेकी थिइन् ।
तर, त्यसको भोलिपल्टै बयान फेर्दै महरा आफ्नो बाबु समान रहेको र आफूमाथि बलात्कारको प्रयास नगरेको बताएकी थिइन् ।

यद्यपी, उनले महराले आफूलाई बलात्कारको प्रयास भएको भन्दै शुक्रबार बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोप लागेसँगै असोज १४ गते मंगलबार महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

उनले सांसद पदबाट राजीनामा निदएका हुनाले प्रहरीले आजै पक्राउका लागि उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेलाई जानकारी गराएको थियो । प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपूर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको दिन असोज १२ गते महरा रोशनीको कोठामा गएको पुष्टि भएको छ । पीडितको कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सीसीटीभी फुटेज र महराले प्रयोग गर्ने मोबाईलको कलवाइज लोकेशन संकलन गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।

जाहेरी आएपछि प्रहरीले पीडित महिलाको त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य जाँच गरेर मुद्दाको प्रक्रिया अगाडी बढाएको थियो ।

कसुर प्रमाणित भएमा महरलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २२४ अनुसार ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुनेछ ।दैनिक नेपालबाट साभार ,




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?