Saturday October 23, 2021

सुनकोशी नदीमा बस दुर्घटना,यी हुन् साहसिक उद्धारकर्ता

२० कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1268



सिन्धुपाल्चोक– सोनाम तामाङ, पछिल्लो साता मिडियामा चर्चामा रहेको नाम हो। १८ यात्रुको ज्यान लिँदै ५० जना घाइते हुनेगरी आइतबार सुनकोसी नदीमा भएको भयानक बस दुर्घटनामा उद्धारमा खेलेको भूमिकाका कारण उनले त्यो चर्चामा बटुलेका थिए। उमेरले २२ वर्षे उनी पेशाले र्याफ्टिङ गाइड हुन्। ग्राहकलाई सुरक्षित र्याफ्टिङ गराउनु र उनीहरुलाई साहसिक खेलको रोमाञ्चकता प्रदान गर्नु उनको पेशागत धर्म हुने नै भयो। 

र्याफ्टिङमार्फत सयौँमा साहसिक खेलको रोमाञ्चकता भरेका छन् सोनामले। र्याफ्टिङ खेल जति साहसिक छ, त्योभन्दा बढी चुनौतीपूर्ण पनि छ। सानातिना दुर्घटनाहरु भइरहन्छन्। कहिले र्याफ्टिङ बोट पानी भंगाला र छालमा पल्टन्छ त कहिले गाइडले भनेअनुसार गर्न नजान्दा, नमान्दा ग्राहकहरु नदीमा खस्छन्। यस्तोमा चलाखीपूर्वक उद्धार गर्नुपर्ने जिम्मा गाइडकै थाप्लोमा आउँछ। सात वर्षे र्याफ्टिङ यात्राका क्रममा नागबेली सुनकोसीमा यस्ता धेरै आरोह–अवरोह भोगे सोनामले। 

सुनकोसीको भंगाला र छालसँग पौँठेजोरी खेल्दै उनले सिकेको उद्धार सीप र कौशलले यो दुर्घटनामा ठूलो काम गर्यो। धेरै यात्रुको ज्यान बच्यो। उनीहरुले जीवनदान पाए। ‘मान्छेले जानेको सीप यस्तै आपत्विपत्मा मानवीय सेवामा लगाउने न हो’, बस दुर्घटनाका घाइतेको उद्धार गरेको क्षण सम्झिँदै सोनामले भने। त्यो दिन उनी आफूले काम गर्ने सुकुटे वीच रिसोर्टमै थिए। काम नभएकाले सुसाउँदै बहेको सुनकोसी नदीतिरै टहलिँदै थिए। 

उनको आँखा सामुन्नेबाट बस सडक छोडेर झ्याम्म सुनकोसीमा खस्यो। ठूलो आवाज आयो। प्रत्यक्ष देखेकाले बस दुर्घटना भएको बुझ्न उनलाई कत्तिबेर पनि लागेन। ‘सोनाम भाइ, बस नदीमा खस्यो। उद्धारका लागि तयार होऊ’, रिसोर्टका म्यानेजर श्याम श्रेष्ठले कतै (नेपथ्य)बाट निर्देशन दिँदा उनी र्याफ्टिङ बोट चढेर सुनकोसीमा छिर्न तयार भइसकेका थिए। श्यामसहित चार जना गाइड लिएर उनी दुर्घटनास्थलतिर अघि बढे। रिसोर्टबाट ३० मिटरको दुरीमा घटनास्थल थियो। बिलम्ब गर्ने अवस्था नरहेकाले लाइफ ज्याकेट, टोपी लगायत सुरक्षाका सामग्रीबिनै सुनकोसीमा छिरेका थिए।  

घटनाको दुई मिनेटभित्रै सोनाम टोली दुर्घटनास्थल पुगेको थियो। ‘घटनास्थल विभत्स थियो। घाइते र मृतकको रगतले सुनकोसी रक्ताम्मे भएको थियो। यात्रुहरु नदीमा बगिरहेका थिए। उनीहरु चिच्याइ रहेका थिए’, सोनामले सम्झिए, ‘पल्टिएर उत्तानो परेरको बस नदीमा डुबेको थियो। बसभित्र रुवावासी चलिरहेको थियो।’ उनकाअनुसार उत्तानो परेर पल्टिएको बसमाथि झ्यालबाट निस्किएका १० जनाजति बिलौना गरिरहेका थिए। सोनामले त्यहीँबाट उद्धारको थालनी गरे। आफ्ना मान्छे बसभित्र रहेको भन्दै कतिपय यात्रु उद्धार हुन मानेनन्। सोनामले उनीहरुलाई जवरजस्ती तानेर बोटमा हालेको बताए। 

उनीहरुलाई सुरक्षित स्थलमा पुर्याएपछि सोनाम पुनः घटनास्थल फर्किँदै थिए। बस डुबेको पानी सतहमा कसैले हात हल्लाइरहेको देखे। तुरुन्तै त्यहाँ पुगेर उनले हल्लिरहेको हात च्याप्प समातेर ताने। ‘ती महिला रहिछन्। काखीमा बच्चा च्यापिरहेको अवस्थाकी।’ त्यो दृश्यले उनको मन कुडिँयो। त्यतिञ्जेलसम्म अरु ६–७ वटा बोट उद्धारका लागि खटिइसकेका थिए। 

बसमा चेपिएर पानीमा डुबेका आमाछोरी लिएर अरनिको राजमार्ग पुग्दा सडक घाइतेले भरिएको थियो। त्यसपछि उनी घाइतेलाई अस्पताल पठाउन जुटे। ‘जे आउँछ त्यसै (सवारी साधन)मा राखेर उपचारका लागि घाइते पठायौँ,’ उनले भने। उनका अनुसार सुरक्षाकर्मी आउँदा अधिकांश घाइतेको उद्धार भइसकेको थियो। र्याफ्टिङ बोट र तालिम प्राप्त गाइडले भरिपूर्ण स्थानमा दुर्घटना भएकाले तल्काल उद्धार सम्भव हुँदा धेरै यात्रु बचाउन सकिएको सोनाम बताउँछन्। पानीमा बहिरहेका यात्रु–यात्रुसम्म पुगेर जीवितै उद्धार गरिएको उनले सुनाए।

पढाइ खर्च जुटाउन वेटर बनेर होटल लाइन छिरेका उनी त्यहीँबाट र्याफ्टिङ गाइड हुँदै साहसिक उद्धारकर्तासम्म बनेका हुन्। ‘घटना दुःखद भए पनि आफूले जानेको सीप प्रयोग गरेर यात्रु बचाउँन पाउँदा सन्तुष्टि मिलेको छ,’ भावुक हुँदै उनले भने। दुःखद् दुर्घटना जस्तै सोनामको र्याफ्टिङ गाइडसम्मको यात्रा पनि संघर्षपूर्ण छ। बलेफी गाउँपालिका–४ डाँडागाउँका उनी स्थानीय बलेफी माविमा पढिरहेका थिए। माथिल्लो कक्षा चढ्दै जाँदा उनलाई पढाइ अघि बढाउन खर्च अभाव भयो। 

पढाइ खर्च जुटाउन उनले होटल सुनकोसी रिभरसाइडमा काम थाले वेटरको रुपमा। बिहान–बेलुका होटलमा काम गरेर पढाइ अघि बढाए। होटलले र्याफ्टिङ पनि खेलाउँथ्यो। र्याफ्टिङ चल्दा उनले बोट, र्यापिड जस्ता सामाग्री नदीमा लैजाने ल्याउने गर्नुपथ्र्यो। ‘गाइडलाई सघाउँदा सघाउँदै र्याफ्टिङ चलाउन सिकेँ,’ सोनामले आफ्नो र्याफ्टिङ यात्रा सुनाउँदै भने। सुनकोसी नदीमा पौडी खेल्दै हुर्किएका उनलाई र्याफ्टिङ सिक्न धेरै समय नै लागेन। डेढ वर्षमै -याफ्टिङ र कायाक बोट चलाउन पोख्त भए उनी। 

र्याफ्टिङ गर्दाको आनन्द र मानसम्मान देखेर सोनाम र्याफ्टिङ गाइडमा आकर्षित भइसकेका थिए। र्याफ्टिङ गाइड सहयोगीमा रुपमा उनले अर्को रिसोर्ट रिभर बेमा काम थाले। सहयोगी हुँदै पाँच वर्ष काम गर्दा उनले यहीँबाट -याफ्टिङ गाइडको परिचय बनाए। चार वर्षअघि उनले नारा (नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सी) बाट र्याफ्टिङ गाइडको लाइसेन्स प्राप्त गरे। ‘१५ दिनको सैद्धान्तिक कक्षा र तीन दिन नदीमा ट्रायल दिएपछि लाइसेन्स परीक्षा उत्तीर्ण गरेको थिएँ,’ उनले सुनाए। 

र्याफ्टिङ गाइडको रुपमा सोनाम कर्णाली, सेती, कालीकण्डकी र त्रिशुली लगायत नदीमा एक्सपिडिसन गइसकेका छन्। अन्य नदीको तुलनामा सुनकोसीको र्याफ्टिङ बढी रोमाञ्चक र चुनौतीपूर्ण हुने उनको अनुभव छ। ‘बहाब तीव्र रहेको सुनकोसीमा पानीका भंगालाहरु प्रशस्त रहेकाले यहाँ -याफ्टिङ  गर्दा आनन्द आउँछ। त्यही भएर जोखिम पनि छ,’ उनको भनाइ छ। १२ कक्षा उत्तीर्ण गरेका उनी -याफ्टिङ गाइडकै व्यस्तताले थप पढाइ अघि बढाउन नपाएको केही खिन्न छन्। तर -याफ्टिङ गराएपछि खुशी भएर ग्राहकले धन्यवाद दिँदा उनी उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित हुनु परे पनि पेशाबाट सन्तुष्टि मिलेको बताउँछन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?