Wednesday December 11, 2019

कथा ब्यथा ! स्वर्ण गुमाएर पनि जितेका नेपाली चेलीहरु

१७ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम 1017



१७ मंसिर, काठमाडौं । खेल हो, हारजित हुन्छ नै । तर कुनै कुनै हारहरुले तपाईंलाई विथोल्छ । मंगलबार नेपालको महिला भलिबल टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा भारतसित व्यहोरेको हार त्यस्तैमध्येको हो । हुन त यो सागमा नेपालले स्वर्ण पदकको वर्षा नै गरेको छ । तर, पनि सायद भलिबलको यो स्वर्ण अलि ‘बहुमूल्य’ थियो । यसका केही कारण छन् । पहिलो त टिम गेममा स्वर्ण जित्नुको महत्व बढी हुन्छ । दोस्रो, नेपालको राष्ट्रिय खेल भएको हिसाबले नेपालले भलिबलको स्वर्ण आफ्नै घरभित्र राख्नुको बेग्लै गरिमा हुन्थ्यो । तेस्रो, भलिबलमा नेपालले अहिलेसम्म भारतलाई एकपटक पनि हराएको इतिहास छैन । चाहे त्यो महिला भलिबल होस वा पुरुष । केही दिन अगाडि मात्रै पहिलो अन्तर्राष्ट्रिय स्वर्णको रुपमा सेन्ट्रल जोन भलिबल प्रतियोगिता जितेर नेपाली महिला भलिबल टोलीले इतिहास रचेका थिए । यो सागमा पनि उनीहरुले अर्को इतिहास त रचिसकेका थिए, नेपाललाई फाइनलमा पुर्‍याएर । यसअघिका १२ वटा सागमा नेपालले महिला भलिबलमा जितेको भनेको तीन कास्य हो । यसपाली भने नेपाली टिमलाई स्वर्णकै भोक थियो ।

तर, त्यसका लागि पन्छाउनु थियो भारतलाई, जसले सागमा लगातार आफ्नो दबदबा कायम गरेको छ । सायद नेपालीहरुले पहिलोपटक टेलिभिजनमा नेपालको भलिबल म्याचको लाइभ यति कौतुहलतापूर्वक हेरेका थिए । फाइनल भिडन्त भएकाले मात्र पनि होइन, भारतविरुद्धको प्रतिस्पर्धा भएकाले पनि नेपालीहरुमा बढि उत्साह एवं भावुकता थियो । खेल पनि यति तनावपूर्ण बन्यो कि मुटुको धड्कन थामिने खालको । त्यसो त फाइनल म्याच अगाडि भारतको जितलाई केवल औपचारिकता ठानिएको थियो । समूह चरणमा यही भारतले नेपाललाई ३-० को सोझो सेटमा हराएको हो । त्यसैले पनि नेपालले जित्ने आशा क्षिण नै थियो । तर नेपाली चेलीहरुले साहसिक प्रदर्शन गरे । पहिलो सेट हारेका उनीहरुले दोस्रो र तेस्रो सेटमा रोमाञ्चक जित निकाल्दै भारतलाई २-१ को रक्षात्मक स्थितिमा पुर्‍याए ।

पहिलो सेटमा नेपालमाथि हावी हुँदै भारतले २५/१७ को जित निकालेको थियो । तर दोस्रो सेट २५-२४ र तेस्रो २५-२१ ले जितेर नेपालले भारतलाई स्तब्ध तुल्याइदियो । आफूभन्दा बलियो प्रतिस्पर्धीसँग संघर्षपूर्वक १-१ अंक जोड्दै दुई सेटमा माथ दिनु नेपाली चेलीहरुको बहादुरी प्रदर्शन हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा दर्शकहरु खचाखच थिए । यस्तो माहोलले दुई धारे तरबारको काम गर्छ । एकातर्फ हौसला बढाउँछ भने अर्कोतर्फ दबाब । सायद नेपाली महिला भलिबल खेलाडीहरुले यस्तो चर्को हुटिङका बीच विरलै खेलेका थिए । तर कुनै पनि क्षणमा उनीहरुको सन्तुलन डग्मगाएको देखिएन । खेल हेर्दा भारतभन्दा नेपाली टिम एउटै पक्षमा अलि कमजोर देखियो- स्पाइक । त्यसो त स्पाइकबाट नेपालले धेरै अंक बटुल्यो पनि । खासगरी सरस्वती चौधरी र प्रतिभा मालीले निकै सटिक प्रहारहरु गरे । तर, भारतीय स्पाइकरहरुको प्रहार अलि बढि तेज र शक्तिशाली थियो । दुई टिमबीचको फरक यही नै भयो । बाँकी सर्भिस, ब्लक, रिसिभ सबै पक्षमा नेपाली खेलाडी चुस्त थिए ।

दोस्रो र तेस्रो सेट लगातार जित्दा नेपाली टिमको मनोबल उच्च थियो । त्यतिबेला भारतीय टिम नर्भस भएकै हो । तर चौथो सेटमा भारतले कमब्याक गर्न सफल हुनु नै नेपालको दुर्भाग्य भयो । गुमाउन आँटेको खेल पाँचौं सेटमा पुगिसकेपछि भारतीय टिमको खस्केको मनोबल फर्कियो । र, नेपाली टिममाथि पूर्णरुपमा हावी भए । निर्णायक समयमा नेपाली टिमको लय बिगि्रयो ।पक्कै पनि यो हार नमिठो थियो । सजिलै हारेको भए त्यसलाई पचाउन पनि सजिलो हुन्थ्यो होला । जितको आभास पाइसकेपछि हार व्यहोर्नुपर्दा बढि पीडा हुन्छ नै । तर आज नेपाली भलिबल टिमले हारेर पनि जितेको भन्नुपर्छ । भारतलाई कडा टक्कर दिएर नेपाली महिला भलिबलले आफ्नो स्तरवृद्धिको सन्देश दिएको छ । सेन्ट्रल जोनमा जितेको स्वर्ण कुनै कागतालीले हासिल भएको थिएन भन्ने खेलाडीहरुले पुष्टि गरे । तर यो टिम अझै माथि उठ्ने ठाउँ छ र उठ्नुपर्छ । खेलाडीहरुले यो चोटलाई उर्जामा बदल्नुपर्छ ।

०००

हामी सबैलाई थाहै छ, नेपाली खेलाडीहरुले सिमित स्रोत-साधनमा खेलिरहेका छन् । विदेशी खेलाडीहरुले पाउने सुविधाको तुलनामा हाम्रा खेलाडीहरुले पाउने सुविधा नगण्य छ । खेल हार्दा खेलाडीहरुलाई दोष दिन सजिलो हुन्छ । तर, उनीहरुले कस्तो परिवेशमा खेलिरहेका छन् भन्ने पनि हेर्नुपर्छ । नेपाली भलिबल टोलीले पनि सिमित स्रोतसाधनमा खेलिरहेको छ । एकातर्फ केटीहरुलाई खेल क्षेत्रमा समर्पित भएर लाग्न नै पारिवारिक र सामाजिक अड्चन छ । खेल क्षेत्रमा लाग्नु भनेको भविष्य विगार्नु हो भन्ने सोच्छन् धेरै बाबुआमा । नेपालका हकमा उनीहरुको सोचाई धेरै हदसम्म साँचो हो पनि । किनकी नेपालको खेल क्षेत्र अहिले पनि करिअरको रुपमा लिन सकेको छैन ।

सरकारले २०७४, साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गर्‍यो । तर त्यसपछि भलिबलको उत्थानमा के-के काम गर्‍यो त ? राष्ट्रिय खेल बनाइसकेपछि राज्यले त्यसलाई प्राथमिकतामा राख्नुपर्छ र ताकि त्यो खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकोस । त्यसका लागि लगानी बढाउनुपर्छ । तर, सरकार भने राष्ट्रिय खेल घोषणा गरेरै आफ्नो कर्तव्य पूरा भएको ठानिरहेको छ । मुल कुरा खेलाडीहरुको भविष्यको सुनिश्चितता हो । एउटा प्रतियोगिता जितेर आएपछि दिएको नगद पुरस्कारले खेलाडीलाई क्षणिक प्रोत्साहन मात्रै मिल्छ । उनीहरुको भविष्यको सुनिश्चितताको लागि दिगो कार्ययोजना चाहिन्छ । भलिबललाई अघि बढाउन यस्तो कार्ययोजना आवश्यक छ ।

नेपाली महिला भलिबल खेलाडीले सम्भावना देखाएका छन् । उनीहरुले धेरेभन्दा धेरै एक्सपोजर पाउनुपर्छ । जति बलिया टिमहरुसित भिड्न पायो त्यति नै आफ्नो खेल सुधार हुने हो ।साग फेरि पनि आउँछ । भारतसित नमिठो हारको बदला लिने मौका फेरि पनि आउँछ । तर त्यसका लागि टिमको स्तरवृद्धि गर्न सरकारको ध्यान जानु आवश्यक छ । भलिबल जस्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक सम्भावना भएका खेलहरुलाई सर्ट लिस्टिङ गरेर तिनीहरुमा लगानी बढाउनु पर्छ । आज भलिबल खेलाडीहरुले बगाएको आँशुको मूल्य राज्यले चुक्ता गर्नुपर्छ ।अनलाईन खबरबाट साभार,

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?