Sunday April 05, 2020

बेलायतमा रहेका नेपाली आमाबाबाहरूलाई कोरोना भाइरसबाट जोगाउन सुझाव : डा सुमाया राई

१० चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1309


बेलायतमा रहेका नेपाली आमाबाबाहरूलाई कोरोना भाइरसबाट जोगाउन सुझाव : डा सुमाया राई

डा. सुमाया राई-
लण्डन। संसार भरी कोरोना भाइरसबाट संक्रमित संख्याको वास्तविक चित्रबाट हामी निकै टाढ़ाछौं । WHO ले उपलब्ध गराई रहेको संख्यालाई मात्रै हेर्नेहो भनेपनि संक्रमण हुने संख्यामा भारी मात्रामा वृद्धि हुने अवस्था जारीनै रहेको छ ।यद्दपि यस संक्रमण विरूद्धको खोपको खोज र अनुसंधान युद्ध स्तरमा जारीनै छ तथापि त्यो खोप आम मानिसको पहुँचसम्म आई रहँदा सम्म असंख्य व्यक्तिहरू यस संक्रमणको शिकार भई सक्ने छन भन्ने कुरामा अब कुनै दुईमत रहेन ।

कोरोना भाइरसबाट संक्रमित भै निको हुनेहरू र यस संक्रमणबाट मृत्युहुनेको उमेर समुहको बिच एक स्पष्ट रेखा खिचिएको पाइएको छ । विभिन्न मिडिया र समाचारस्रोतले कोरोना भाइरसलाई एक सामान्य भाइरसको रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । मात्र यति हो कि शारीरिक रूपले कमजोर रहेका व्यक्तिहरू र जो व्यक्तिमा रोगप्रतिरोधक क्षमताको कमी छ उसलाई यस भाइरसले ज्यानै लिने सम्मको प्रभाव राख्दछ । यही कारणहो कि विश्वभरी अहिले सम्म यस भाइरसको संक्रमणले मृत्युभएकाको आँकड़ामा वृद्धहरू र लामो सम्म देखी कुनै प्रकारको दिर्घरोगसंग आक्रान्त व्यक्तिहरूको संख्या धेरै छ ।

कोरोना भाइरसले व्यक्तिको शारीरिक स्वास्थ्यलाई मात्रै होईन उस्को मानसिक स्वास्थ्यमाथिपनि पुरै नकारात्मक प्रभाव पारेको छ परिवार लगायत छरछिमेक , राष्ट्र र सम्पुर्ण विश्वलाईनै एकल चुनौती दिनमा सक्षम रहेको दृष्टांत हामी समक्ष उभिएको छ । यस महामारीले कुनै एक क्षेत्र, देश वा महादेशमात्रै नभै सारा विश्वले मिलेर एकजुट भएर यस कोरोना भाइरसको विरूद्धमा लड़नु पर्ने बेला आएको छ ।

संदर्भ बेलायतमा बसोबास गरीरहनु हुने हाम्रा पाका, जेष्ठ नागरीकहरूलाई यस कोरोना भाइरसको महामारी बाट कसरी जोउन सकिन्छ ?? यो अहिलेको नितांत जल्दो बल्दो प्रश्न छ हामी बेलायतबासी नेपालीहरूको लागी । लगभग २०,००० बीस हजारको हाराहरीमा हाम्रा वृद्ध बाबा आमाहरूको संख्या रहेको अनुमान छ । अहिले वहाँहरू निकै जोखिममा रहेको अनुमान गर्न गाह्रो छैन ।

बेलायतमा आवासिय भिसा प्राप्तिसंगै ठुलो संख्यामा हाम्रा बाबाआमाहरू बेलायतमा बसाई सर्नु भयो । तर, यताको नितांत फरक संस्कार, संस्कृति र भाषाले उनीहरूलाई ठुलो समस्या आई लागेको वास्तविकताका साथसाथै यताको हावापानी, वातावरण र मौशमको प्रकिकूलतालेपनि सताउन सम्म सताएको उदाहरण हामी समक्ष छ । सामुहिकरूपमा बसोबास न हुँदोहो त उनीहरूलाई एकाकीपनाको रोगले निकै गाँज्ने थियो होला । यस अलावा बेलायतमा नेपालीहरूको निकै बाक्लो उपस्थितका परिणामस्वरूप विभिन्न जातिय, सामाजिक, धार्मिक र राजनैतिक आस्थाका आधारमा स्थापित संघ संस्थाहरूको क्रियाकलापहरूमा उपस्थिती भै रहँदा , यदाकदा हुने रमाईलोले उनीहरूको एकाकीपनलाई केहीहद सम्म कम गर्ने काम गरेको छ । यद्यपि हाम्रा वयोवृद्धहरूलाई यति मात्रले उनीहरूको सम्पुर्ण ईच्छा आकांक्षा, आवश्यकताहरू त पुर्ण हुन्न त्यो कुरा पक्कै हो । एकातिर आफ्नो माटोबाट टाढ़िनुको पीड़ा त छदैंछ त्यसमाथि एकाकीपनको मन्दविषले विस्तारै गलाउदै लग्ने संभावना उतिकै प्रबल रहेको छ ।

समयमै यिनी वृद्ध पाकाहरूलाई ध्यान पुर्याइएन भने हाम्रा यिनी बुजुर्गहरूलाई कोरोना भाइरसले आफ्नो चपेटमा लिन कतिपनि समय लगाउने छैन । हुनत बेलायती सरकारले यस महामारीसित लड़ने र जोगिने सम्बन्धी मैशेज र सर्कुलर जारी त गरीनै रहेको छ साथसाथै केजिंगटन पैलेस, लंडन स्थित नेपाली राजदुतावासले पनि नेपालीहरूमाझ जनचेतना संबंधि जानकारीहरू गराई रहेकै छ । यद्दपि यतिमात्रले हाम्रा वयोवृद्धहरूलाई पुग्दैन होला । त्यसहुनाले अब हाम्रा जातिय, सामाजिक संघ संस्थाहरू र त्यसमा संलग्न रहेका महानुभावहरूले अहिलेको विषम परिस्थितिलाई सामना गर्न अगाडी आउने पर्ने हुन्छ ।

यस पंक्तिकारलाई लागेको केही कुराहरू बुँदागत रूपमा राख्न चाहें :-

१. हाम्रा बाबाआमालाई व्यक्तिगत सरसफाईप्रति पुरा जानकारी गराउनु पर्दछ , सिकाउनु पर्दछ , proper toilet training दिनु पर्दछ , हाथ र खुट्टालाई बराबर धोई पखाली गरी सुख्खा राख्न र सेनेटाइजरको प्रयोगलाई कहिल्यै नबिर्सी जारी राख्न सिकाउनु पर्दछ ।

२. हाम्रा बाबाआमालाई भाषाको समस्या, self-drive को समस्या हुने हुनाले उनीहरूको दैनिकीमा चाहिने खानपीनको सामग्री , औषधिमुलो , प्राथमिक उपचार (first add )को सामग्रीहरूमा सजिलो पहुँच बनाई दिनु पर्दछ । ( खान पिनको सामग्री किन्नलाई घण्टौं लाईनमा उभिनु पर्ने बाध्यता र जसोतसो पालो आयो भनेपनि उपभोग्य सामग्री सकीसकेको अवस्था छ ) यस कुरालाई मध्येनजर गर्दै हाम्रा वृद्ध आमाबाबालाई सहयोग गर्नकोलागी सकेसम्म स्वयंसेवीको रूपमा अघि बढ़नु पर्छ ।

३. सके सम्म बाहिर ननिस्कन सल्लाह दिनु पर्छ । बाहिर निस्कदा के के जोखिम हुन सक्छ त्यो झर्को नमानी विस्तार पुर्वक सिकाउनु पर्दछ ।

४. आफ्नो शरीरलाई सक्दो तातो बनाई राख्नु पर्ने र पौष्टिक आहार , तातो र झोलिलो कुरा खानु पर्ने । पानी प्रशस्तै पिउनु पर्ने सुझाव दिने र प्रेरित गर्नु पर्दछ ।

५. एकाकीपन कुनैपनि मानिसकोलागी डरलाग्दो अवस्था हो । वृद्धावस्थाकोलागी त झन अभिशाप जस्तै हो तसर्थ बेलाबेलामा उनीहरूलाई फोन वा मोबाइलमैं भएपनि बोल्न बोलाउने गर्नु पर्छ , भलाकुसारी गरी रहनु पर्दछ जस्ले गर्दा उनीहरूमा मानसिक रूपले आफुलाई एक्लो महशुस नगरून ।

६. धमिलो पानीमा माछा मारे जस्तै अहिले कोरोना निदान गर्न घरघरमा ढोका ढकढक्याई स्वास्थयकर्मी अथवा काउंसिलबाट खटाईएको भन्ने घरभित्र छिरेर लुटपाट र डाका गर्ने र कहिले कहिं ज्यानलाई जोखिममा पारिदिने सम्मको क्रियाकलापबाट जोगिनकोलागी सचेत गराउने । नचिनेकोलाई ढोका नखोल्ने भनी सचेत गराउने ।

७. कोरोना भाइरस के हो ? सत्य तथ्य जानकारी गराउनु पर्छ किन भने अहिले धेरै प्रकारको भ्रमको खेती भैरहेको अवस्थामा हाम्रा बुजुर्गहरू अन्योलमा पर्न सक्छन उदाहरणकोलागी – प्रभु ईशुले निको पार्न सक्छन , बुद्ध मन्त्रोचारणले शन्चो बनाउछ , गायत्री मन्त्रले यो रोग भगाउछ आदि इत्यादि । यी सबै कुराले मानसिक रूपमा दृढ़ बनाउनमा तात्कालिक असर त गर्ला तर यस्ता विधिले रोग निको हुन्न भन्ने कुराको सचेतना गराउन आवश्यक पर्दछ ।

८. हालै लंडनको साउथह्यारो बस्नु हुने एक बुजुर्ग नेपालकालागी संखुवासभाबासी श्री लिला राईज्युको कोरोना भाइरसको संक्रमणले मृत्यु भएकोछ । साथै वहाँका अन्य पारिवारिक सदस्यहरूलाई संक्रमित हुन सक्ने आशंकामा आईसोलेशनमा राखिएको छ । बेलायतमा संभवतः कोरोना भाइरसको संक्रमणले मृत्यु हुने वहाँ पहिलो नेपाली हुनु पर्छ । वहाँ एक भु पू सैनिक हुनु हुन्थ्यो र निजको निकै अघि मृगौला ट्रान्सप्लान्ट पनि भएको थियो । एवम प्रकारले नेपाली समुदायभित्रपनि यो महामारीले प्रवेश पाई सकेको छ।

अत: अबको दिनहरूमा अत्यन्तै संवेदनशीलता अपनाई आफुलाई पनि यस महामारीबाट जोगाउनु पर्दछ साथै हाम्रो नेपाली समुदाय भित्रका अत्यन्तै जोखिममा रहनु भएका वृद्ध, वयोवृद्धहरुलाईपनि जोगाउनु अत्यन्तै आवश्यक भएकोले व्यक्ति-व्यक्ति र खास गरी यहाँका संबंधित संघ-संस्थाले जीवंत भुमिका खेल्नु पर्ने आजको आवश्यकता टड़कारोरूपमा रहेको छ ।

(मनोविज्ञानमा बिध्यावारिधी गर्नुभएकी डा राई त्रिवी मनोविज्ञान विभागकी पूर्व उपप्राध्यापक हुनुहुन्छ । वहाँ हाल बेलायतमा बसोवास गर्नुहुन्छ। )
(हिमालयमेलबाट साभार)
 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?