Sunday November 27, 2022

मोना युकेले भलीवल प्रतियोगीताको आयोजना गर्दै

३० श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 2464



शीतलपाटीन्युज डटकम।

 अल्डरसट, लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेलायतका नेपाली खेलाडीहरु माझ सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पहिलो मोना यूके कप भलिबल प्रतियोगिता आउंदो सेप्टेम्बर ८ तारिखका दिन अल्डरसटको एल्डरवुड लिजर सेन्टरमा खेलाइने भएको हो ।

प्रतियोगितामा पुरुष तथा महिला टोलीहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ । पुरुषतर्फ विजेतालाई १२ सय पाउण्ड र रनर अपलाई ८ सय पाउण्ड नगदसहितको पुरस्कार दिइनेछ । त्यस्तै, महिलातर्फ विजेतालाई ६ सय, रन अपलाई ४ सय र तेस्रो हुने टिमलाई १ सय पाउण्ड नगदसहितको पुरस्कार राखिएको छ । यो पुरस्कार बेलायतको नेपाली समुदायमा अहिलेसम्म आयोजना भएका भलिबल प्रतियोतिाहरुमध्येकै सर्वाधिक रहेको आयोजकले दाबी गरेका छन् ।

प्रतियोगितामा भाग लिन पुरुष टोलीले १ सय ५० पाउण्ड र महिला टोलीले १ सय पाउण्डको प्रवेश शुल्क बुझाउनुपर्नेछ । बेलायतबाहेक युरोपका देशहरुबाट पनि कुनै टोली आएमा भने उनीहरुलाई स्वागत गर्दै प्रवेश शुल्क छुट दिइने भएको छ । आयोजक मोना यूकेका भलिबल समुहका प्रमुख अनिल मल्लले प्रतियोगितामा सहभागी हुन ईच्छुक टोलीले सेप्टेम्बर ५ सम्ममा आफ्नो नाम दर्ता गर्नुपर्ने जनाएका छन् । प्रतियोगितामा नाम दर्ताका लागि सम्पर्क नम्बरहरु तलको तस्बिरमा उल्लेख छन् ।

मोना यूकेका खेलकुद संयोजक खेम भण्डारीले बेलायत तथा युरोपमा समेत रहेका सम्पुर्ण नेपाली भलिबल खेलाडीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आव्हान गरेका छन् । बिहान ठिक साढे ८ बजेदेखि नै खेलहरु सञ्चालन गरिनेछन् । प्रतियोगितास्थलमा खाना तथा पेय पदार्थको लागि स्टलहरु रहनेछन् ।

साथै मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत त्यसअवसरमा प्रस्तुत गरिने आयोजकले बताएका छन् । बेलायतमा रहेका खेलाडीहरुको हौसला र प्रबर्द्धनका लागि आयोजना गरिन लागेको मोना यूके कपमा उपस्थित भएर खेलाडीको हौसला बढाइदिन मोना यूकेले बेलायतबासी नेपालीहरुमा आग्रह गरेको छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?