Saturday October 23, 2021

युनिभर्सिटी अफ ससेक्स जनस्वास्थ्य विषयका सिनियर लेक्चरर डा. प्रियम्वदा पौड्यालसित कोरोना भाइरस कसरी बच्ने एक कुराकानी

१५ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1674


युनिभर्सिटी अफ ससेक्स जनस्वास्थ्य विषयका सिनियर लेक्चरर डा. प्रियम्वदा पौड्यालसित कोरोना भाइरस कसरी बच्ने एक कुराकानी

शीतलपाटीन्युज डटकम ।
लण्डन। अहिले कोरोना भाइरसले विश्वलाई त्राहीमाम बनाएको छ । के विकसित के अविकसित विश्वका प्राय: सबै देश यस भाइरससित जुधिरहेका छन् । बेलायत पनि अहिले यो भाइरसको चपेटामा परेको छ । त्यसैले यहाँ बसोबासरत नेपालीहरुलाई सो भाइरसका बारेमा र यसबाट बच्ने उपायहरुमा केन्द्रीत रहेर हामीले युनिभर्सिटी अफ ससेक्समा जनस्वास्थ्य विषयका सिनियर लेक्चरर डा. प्रियम्वदा पौड्यालसित कुराकानी गरेका छौँ । यो कुराकानी नेपाल पत्रकार महासंघ युके शाखाको कोरोना भाइरस सम्बन्धी सचेतना अभियानअन्तर्गत तयार पारिएको हो ।

तपाई लामो समयदेखि जनस्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ । कृपया अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका बारेमा केही भनिदिनु हुन्छ कि ?
म जनस्वास्थ्य क्षेत्रमा काम गरेको करिब १५ वर्ष भयो । सन् २००५ देखि म यस क्षेत्रमा काम गर्दै आएको छु । अहिले युकेको ससेक्स युनिभर्सिटीमा सिनियर लेक्चररको रुपमा कार्यरत छु । कोरोना भाइरसका बारेमा मैले जाने–बुझेको जानकारी दिने कोसिस गर्नेछु ।

कोरोना भाइरस कस्तो किसिमको भाइरस हो ?
यसलाई वैज्ञानिक रुपमा भन्दा सार्सकोभ टु भन्छन् । जनमानसले कोरोना भनेर चिन्छन् । कोरोना भाइरसले कोभिड नाइन्टिन भन्ने रोग ल्याउँछ । यो नौलो किसिमको रोग हो । यो सबैभन्दा पहिले चाइनाको वुहान भन्ने प्रान्तमा सन् २०१९ को डिसेम्बरमा देखिएको थियो । यो रोग कहाँबाट कसरी आयो भन्नेमा निक्कै चर्चा परिचर्चा चलिरहेको छ । कसैले चमेराबाट पनि आएको भनेका छन् । पछिल्लो समयमा पांगोलियन भन्ने जनावरबाट आएका भन्ने समाचारमा आएको थियो तर यसको अझै पुष्टि हुन बाँकी छ ।

यो रोगको मुख्य लक्षणहरु के के हुन् ?
यसको मुख्य लक्षण भनेको ज्वरो आउने र सुख्खा खोकी हो । पछि रोगले च्याप्दै लैजाँदा फोक्सोमा समस्या आउँछ र श्वास फेर्न गाह्रो हुने गर्दछ । अहिले फ्रान्समा खानाको स्वाद नहुने लक्षण पनि भेटिएको छ भने इटालीमा पनि त्यस्तै कुरा आएको छ । यसलाई पनि अर्को एउटा लक्षणका रुपमा राखिएको छ । अनि असाध्यै जीउ दुख्ने पनि हुन्छ । तर मुख्यरुपमा ज्वरो आएको छ र सुख्खा खोकी छ भने यो भाइरसले समाएको हुनसक्छ ।

यो रोगबाट कस्ता व्यक्तिहरु खतरामा छन् ?
चीनको तथ्यांकअनुसार (अन्य देशको तथ्यांक त्यति उपलब्ध भइसकेको छैन) बच्चादेखि अधबैँसे र बुढाबुढीलाई पनि लाग्छ तर कसलाई बढी सिकिस्त बनाउँछ भन्ने छुट्टै कुरा हो । बच्चाहरुलाई लागे पनि उनीहरुले लक्षण नदेखाउन सक्छन् । अनि ६५ वर्षमाथिका बुढाबुढी र प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) कम भएका विरामीहरु जस्तै क्यान्सर सर्भाइभरहरु, मधुमेह, मुटुको रोग र अन्य रोगले पहिल्यै समाइ सकेकाहरुलाई यो रोगले च्याप्ने बढी सम्भावना हुन्छ । मृत्यु हुने सम्भावना पनि त्यस्ता व्यक्तिहरुमा बढी देखिएको छ ।
त्यसो भए बालबालिकालाई पनि यो रोग लाग्छ ?
तथ्यांकअनुसार बालबालिकालाई पनि यो रोग उत्तिकै लाग्छ । खाली यसले बालबालिकालाई सिकिस्त बनाउँदैन, त्यतिमात्र फरक छ ।

युकेमा वृद्धवृद्धाहरु पनि धेरै नै हुनुहुन्छ । उहाँहरुलाई कसरी यो भाइरसबाट सुरक्षित राख्न सकिएला ?
युकेमा वृद्धवृद्धा भन्दा नेपाली वृद्धवृद्धाको कुरा गर्नुभएको होला । सबैभन्दा राम्रो त अहिले सरकारले जारी गरेको निर्देशन पालना गर्नु राम्रो हुन्छ । सरकारले के भनेको छ भने ७० वर्ष माथिका उच्च जोखिममा पर्छन् । त्यसैले उहाँहरुलाई तीन महिना घरै बस्ने सल्लाह दिएको छ । ७० वर्ष कट्दैमा सबैजना उच्च जोखिममा हुन्छन्, उनीहरुलाई रोग लागिहाल्छ भन्ने पनि होइन । ७० वर्ष कटेकामध्ये पनि जसको शारीरिक अवस्था कमजोर छ जसलाई पहिल्यैदेखि केही रोग लागेको छ, मधुमेह, मुटुको रोग वा अन्य कुनै रोगले च्यापिराखेको छ भने उनीहरुलाई अलि बढी यो रोगले समात्छ । वृद्धवृद्धाहरुले सकेसम्म घरबाट बाहिर ननिस्कने, निस्कनै परे दुईजनाभन्दा बढीको समूहमा ननिस्कने, आफ्ना छोरा नाति छन् भने उनीहरुलाई पसल पठाउने । एक्लै बस्नुभएको छ भने आफन्तहरुलाई फोन गर्नुहोला किनमेलको लागि । तपाई आफैँ निस्कनुपर्ने भयो भने अलि भीड कम हुने, सुनसान हुने प्राय: दिउँसोको समयमा निस्कनुहोला । पसलमा पनि अर्को व्यक्तिसित दुई मिटरको दूरी राखेर लाइनमा बस्नुहोला । घर बस्दा पनि गाह्रै हुन्छ । वृद्धवृद्धाहरु तथा अन्यले पनि पत्रपत्रिका, पुस्तक पढ्ने, बगैँचामा काम गर्ने, सरसफाइ गर्ने, योग, ध्यान गर्ने, हल्का कसरत गरेर आफूलाई ब्यस्त बनाउन सक्नु हुन्छ ।

यो रोगबाट बच्न साबुन पानीले हात राम्रोसँग धुने भनेर सरकारले भनेको छ । हात धोएर भाइरसबाट कसरी सुरक्षित हुन सकिन्छ ?

यो रोग मानिसले खोक्दा, हाच्छिउँ गर्दा निस्कने कणबाट सर्छ भनिएको छ । एकपटक मानिसले खोक्दा तीनहजार कणहरु निस्कन्छन् भनिन्छ । हाच्छिउँ गर्दा १० हजार वटा कणहरु निस्कन्छन् भनिन्छ । त्यसैले तपाईले खोक्दा वा हाच्छिउँ गर्दा कोही मानिस अगाडि नै छ भने उसले श्वास फेर्दा यो रोग सर्न सक्छ तर हावाबाट यो रोग फैलन्छ भने अहिलेसम्म प्रमाणित भइसकेको छैन । खोक्दा वा हाच्छिउँ गर्दा सतहमा खसेका कणहरु हातले छुँदा यो रोग सर्न सक्छ । यसरी सतहमा छुँदा हातमा आउन सक्ने भाइरसलाई मार्ने सबैभन्दा राम्रो उपाय चाहिँ साबुनपानीले हात धुने नै हो । खासगरी बाहिर गएर आउँदा वा ट्वाइलेट गइसकेपछि साबुनपानी हात राम्रोसँग धुनुपर्छ ।

मास्क लगाउनु चाहिँ कत्तिको उपयुक्त हुन्छ ?
हावाबाट नै यो रोग फैलन्छ भन्ने पुष्टि भइसकेको छैन । हस्पिटलको हावामा समेत यो भाइरसको कण देखिएको पाइएको छैन । बिरामीसित सीधा सम्पर्कमा हुने चिकित्सक वा नर्सहरुलाई मास्क लगाउनु आवश्यक भए पनि सर्वसाधारणलाई बाहिर जाँदा, चौरमा घुम्दा, दौड्न जाँदा मास्क लगाउनु जरुरी छैन । नेपालमा पाइने मास्कहरु गुणस्तरीय पनि हुँदैनन् । अनि भारइस आँखाबाट पनि सर्नसक्ने भएकाले मास्क लगाउँदैमा पूर्ण सुरक्षित भइन्छ भन्ने छैन ।

साधारण फ्लु र कोरोनामा के फरक छ ?
फ्लु चाहिँ इन्फ्लुएञ्जा भाइरसले हुन्छ यो चाहिँ कोरोना भाइरसले हुन्छ । भाइरस नै फरक पर्यो । लक्षणहरु उस्तै देखिए पनि मृत्युदरमा ठूलो फरक छ । फ्लुले हजारमा एक जना मान्छे मार्छ भने कोरोनाले हजारमा ३० जना मार्नसक्छ । फ्लुले भन्दा कोरोनाले ३० गुणा बढी मान्छे मार्छ ।

नेपाली समुदायमा बेसार, अदुवा, लसुन खानाले यो भाइरसबाट बच्न सकिन्छ भन्ने पनि छ । यसलाई कसरी हेर्नुहुन्छ ?
यो त अफवाह नै हो । अहिलेसम्म यो भाइरसको औषधि पत्ता लागेको छैन । केही औषधिको परीक्षणहरु हुँदै गरे पनि अहिलेसम्म पत्ता लागेको छैन । हाम्रो मरमसलाको आफ्नै फाइदा, बेफाइदा होलान् । तातोपानी खाएर, लसुन, अदुवा खाएर कोरोना कम हुन्छ भन्नेको पछि नलाग्नुहोला । कोरोनाबाट बच्ने सबैभन्दा राम्रो उपाय साबुनपानीले राम्ररी हात हुने नै हो ।

अलिकति प्रसंग बदलौँ, अहिले बेलायत सरकारले कोरोना भाइरसलाई सामना गर्न लिएको नीति कस्तो लाग्छ ?
बेलायत सरकारले चरणवद्ध रुपमा नीतिहरु ल्याएको छ । शुरुमा चीनमा यो रोग देखिने बित्तिकै युकेले केही गरेन । शुरुमा युके सरकारको नीति करिब ५०/६० प्रतिशत जति मानिसलाई यो भाइरस लाग्न दियो भने प्रतिरोध क्षमता आफै बढ्छ र दीर्घकालिन समाधान हुन्छ भन्ने थियो । त्यसको चौतर्फी आलोचना भएपछि ‘मिटिगेट’ नीति ल्याइयो । त्यो चाहिँ संकेत देखिएको मानिस एक्लो छ भने सात दिन, परिवारमा छ भने १४ दिन घरमै बस्ने नीति हो, तर स्कुलहरु खुल्ला नै राखियो । यातायातहरु सुचारु नै राखियो । यदि त्यसरी नै छोड्ने हो भने करिब साढे दुई लाख मानिसहरु मर्न सक्छन् है भनेर इम्पेरियल कलेज लण्डनका वैज्ञानिकहरुले सरकारलाई सुझाव दिए । त्यसपछि सरकारले रोगलाई दबाउने नीति ल्यायो। तर अहिले पनि युकेले पूर्णरुपमा लक डाउन गरेको छैन । रेल, बस चलेकै छन् । कतिपय कामहरु जस्तै निर्माणसम्बन्धी पनि रोकिएका छैनन् । अरु देशको स्थिति हेर्दा यो अझै पर्याप्त छैन भन्ने देखाउँछ जबकि चीन, दक्षिण कोरियामा पूर्ण रुपमा आवतजावत रोकिएको थियो । हामीकहाँ पनि त्यस्तै चाहिन्छ कि जस्तो देखिन्छ ।

भनेपछि बेलायतको नीति हेर्दा यो भाइरसलाई नियन्त्रणमा ल्याउन अलि कठिन नै होला जस्तो देखिन्छ ?
अहिलेको नीतिले भाइरस छिटो फैलनबाट रोक्न सक्छ, तर पूर्णरुपमा रोक्न गाह्रै पर्छ ।

विकसित मानिएका फ्रान्स, इटलीमा धेरै मानिसहरुको मृत्यु भइसकेको छ । त्यसको कारण के होला ?
खासकारण पूर्व तयारीको अभाव हो । सामान्य भाषामा भन्ने हो भने जतिसुकै विकसित देश र राम्रो स्वास्थ्यसेवा भएको मुलुकले पनि एकैचोटी ठूलो संख्यामा बिरामी भए भने धान्नसक्ने अवस्था हुँदैन । इटली, स्पेन र फ्रान्समा भएको त्यही हो । पहिला चाइनाबाट एक/दुई वटा केसहरु भित्रिँदा त्यति महत्व दिइएन । यो रोग असाध्यै संक्रामक छ र एक /दुई हप्तामै धेरै ठूलो संख्यामा फैलन सक्छ । मान्छेमा लक्षण देखिँदैन, तर समातिसकेको हुन्छ । इटलीको सन्दर्भमा अलि ढिलो मात्र नियन्त्रणमा लिन थालियो । खास स्वास्थ्य सेवा नराम्रो वा मान्छे नै फरक भएर धेरै मानिस मरेका होइनन् । हुनत इटली विश्वको दोस्रो बढी वृद्धवृद्धा भएको देश मानिन्छ, धुम्रपान पनि उच्च छ तर मुख्य कारण प्रयास ढिला भएर नै हो ।

युकेमा पनि सरकारले नियन्त्रणको प्रयासमा ढिलाइ गरेको भनिन्छ । के युकेको अवस्था पनि इटली, स्पेनको जस्तै होला ?

बेलायत सरकारको नीति ‘हेर्दै जाउँ’ भन्ने देखिन्छ । अहिले लिइएको नीतिले के कति फरक पार्छ त्यसअनुसार आवश्यक नीति लिने भन्ने देखिन्छ । यदि स्थिति सुधार भएन भने स्पेन, इटलीमा जस्तै कम्प्लिट लक डाउनको अवस्था पनि आउन सक्छ । अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो होला जस्तो देखिँदैन। तर यो नौलो किसिमको रोग भएकाले कतातिर जान्छ भन्ने अनुमान गर्न नै गाह्रो छ ।

अहिले त नेपालमा पनि यस महामारीको भय बढेको छ र लक डाउन गरिएको छ । अन्य मुलुकको अवस्था हेरेर नेपालले अहिले के गर्नुपर्ला ?

नेपालमा अहिलेसम्म केही केस देखिए ती विदेशबाट आएको पाइएको छ । थोरै केसमै लक डाउनमा जानु सरकारको राम्रो कदम हो । विकासोन्मुख देश भएर पनि कम्प्लिट लक डाउनमा जान सरकारको लागि पनि चुनौतीपूर्ण पनि थियो । म यस कार्यको सराहना गर्छु । लक डाउन कहिलेसम्मको लागि भन्ने नेपालमात्र नभएर संसारभरकै लागि एउटा अहम प्रश्न बनेको छ । चीनले लक डाउन गरेर नियन्त्रणमा लियो तर अब खुल्ला गर्दा के हुन्छ ? भोलिका दिनमा हेर्न नै बाँकी छ । भोलि रोगले कुन रुप लिन्छ त्यसै अनुरुप चल्नुपर्ने हुन्छ । नेपालमा थोरै केस देखिन्छ । टेष्ट नै कम भएर थोरै भएको हो कि भएकै थोरै केस हो अहिले भन्न सकिँदैन । तर अहिलेको समयमा नेपालमा आइसियु बेडहरु असाध्यै कम छन् । वीरमा ११, टिचिंगमा पनि ११ वटा र टेकुमा ३ वटा मात्र छ जस्तो लाग्छ । त्यसैले अहिलेको समयमा आइसियुको बेड बढाउने, अस्थायी अस्पतालहरु बनाउनुपर्छ । पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) हरु मास्क, पञ्जा, गाउनहरुको जोहो गर्नुपर्छ । अनि सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ जनचेतना जगाउनु हो । यो रोग के हो, हात कसरी धुने, कसरी सर्छ भन्ने बारेमा जनचेतना जगाउनु अत्यावश्यक छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?