Wednesday May 27, 2020

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनोस्, मानसिक स्वास्थ्यको ख्याल गर्नोस : डा मोहन थापा

१८ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1200


अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनोस्, मानसिक स्वास्थ्यको ख्याल गर्नोस : डा मोहन थापा

डा. मोहन थापा -
लन्डन । लण्डनस्थित  वाटफोर्ड जनरल अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टमा क्लिनिकल डिरेक्टर हुन् । करिब दुई दशकदेखि चिकित्सा पेशामा आवद्ध थापा सन् २०१३ देखि वाटफोर्ड जनरल अस्पतालमा कार्यरत छन् । नेपाल छंदा धरान वीपी कोइराला अस्पतालमा कार्यरत उनी विगत १७ वर्षदेखि बेलायतमा छन् । कोभिड १९ संक्रमण बढेसंगै व्यस्त रहेका डा. थापासंग कुराकानी गरेर नेपाल पत्रकार महासंघ युकेका संस्थापक अध्यक्ष नवीन पोखरेलले नेपाल पत्रकार महासंघ युके शाखाको कोरोनासम्बन्धी सचेतना अभियानअन्तर्गत तयार पारेको सामग्री:

कोभिड १९ चीनमा भर्खर शुरु हुंदा धेरै टाढाको रोग जस्तो लाग्थ्यो । जब युरोपमा संक्रमण देखिन थाल्यो, फेब्रुअरीदेखि हाम्रो अस्पतालमा तयारी शुरु भयो । हाम्रोमा ९ मार्चमा कोरोना भाइरसले पहिलोपटक एकजना बिरामीको मृत्यु भएपछि बीबीसीमा समाचार बनेको थियो । अहिले बेलायतमा दिनहुं सयौं मर्न थालेका छन् । शुरुका दिन थोरै केस आउंदा व्यवस्थापन सजिलो थियो । अहिले बिरामी यति हुन थाले कि विशेष वार्डभित्र क्याबिनमा नराखी एकै ठाउंमा ओपन वार्डमा राख्नुपर्ने स्थिति छ ।

विगत दुई सातादेखि अरु बिरामी धेरै कम आउन थालेका छन् । अहिले शंकास्पद कोभिड बिरामी दिनमा करिब ३० देखि ४० जनासम्म आउंछन् । बेलायतका सबै अस्पताल कोभिड बिरामीले मात्र भरिन थालेको छ । हाम्रोमा अन्य अस्पताल जस्तै 'डेडिकेटेड कोभिड वार्ड' छ । सुन्दा नराम्रो लाग्छ तर कोभिड बिरामीका लागि भनेर डर्टी एरिया अथवा संक्रमण हुन सक्ने र नन कोभिड बिरामका लागि क्लिन एरिया छुट्टाइएको छ । अहिले संक्रमण 'पिक' मा पुगिरहेको छ। यसको मतलब केही साताभित्र कोभिड १९ बेलायतमा झन् भयावह हुने अवस्थामा छ।

कोभिडका शंकास्पद बिरामी कोही हिंडेरै आउंछन् । कोही जिपी सर्जरीले अस्पताल जानु भनेर आउंछन् । कति एनएचएस-१११ नम्बरमा फोन गरेर अनि केही एम्बुलेन्समार्फत आफै अस्पताल आइपुग्छन् ।

कोभिड १९ का लक्षण-

श्वासप्रश्वासमा गाह्रो, ज्वरो ३७.८ वा त्यो भन्दा बढी, नयां सुख्खा खोकी निरन्तर लागिरहने, नाक बगिरहने, घांटी, जीउ दुख्ने कोभिड १९ का लक्षण हुन् । बिरामीलाई एम्बुलेन्सबाट निकालेपछि शुरुमा कोभिड वेटिङ एरियामा राखिन्छ अनि ब्लडप्रेसर, तापक्रम, अक्सिजन लेभल, निमोनिया छ छैन जांचिन्छ । नेजल स्वाब लिइन्छ । डायबेटिज, ब्लडप्रेसर, क्यान्सर, श्वासप्रश्वास समस्या छैन्, गर्भवती होइन् र स्टेबल बिरामी अर्थात एक्सरे गर्दा निमोनिया देखिएन, सबै क्लियर छ भने घर पठाउंछौं हामी ।

त्यस्ता बिरामीलाई अस्पतालले १४ दिनसम्म घरैमा बस्न सुझाउंछ र दैनिक फोन गरेर अवस्था बुझ्छ । पुरानो रोग भएका वृद्धवृद्धा वा सिभियर सिम्टम्स् ग्रुपका बिरामी आए भर्ना गरि हाल्नुपर्ने हुन्छ ।

 कोभिड बिरामी भनेर आएपनि आधा जस्तो बिरामी घरैमा उपचार गरेर निको भएको पाइएको छ। अहिले डाक्टर, नर्स सबैमा त्रास छ। हाम्रो अस्पतालमा प्रत्यक्ष खटिइरहेका जुनियर डाक्टर, नर्स, हेल्थ केयर असिसटेन्ट, पोर्टर, क्लिनर धेरै नेपाली छन्। सबैको सकृय योगदान छ। ती सबैको आत्मविश्वास बढाउनु पर्ने बेला आएको छ।

नेपलिज डक्टर्स एसोसिएसन यूकेले पनि हालै जानकारीमूलक लिफलेट सार्वजनिक गरेको छ, त्यो अनुशरण गर्नुस् । तपाईंहरु सबै बेलायत सरकारको सल्लाह मानेर नियमित हात धुनुहोस् । जमघट नगर्नुहोस् । मानवीय संकटको बेला वरपरका अशक्त, बृद्धबृद्धालाई पनि रेखदेख गर्नुस् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुस् , मानसिक स्वास्थ्यको ख्याल गर्नुस्, आफूलाई बिजी राख्ने गर्नुस्, कोरोनाको आधिकारिक बाहेक समाचार धेरै नहेर्ने, यति मरे उति मरे भनेर गणना नगर्ने गर्नुहोस् । रोग लागेपनि स्वस्थ हुनुहुन्छ भने नियन्त्रण हुन्छ तर समय लाग्छ । यसमा धैर्यता आवश्यक छ । सबैजना घरैमा बसेर कोभिड १९ नियन्त्रणमा सहयोग गर्नुस्, हाम्रो त्यही अपिल छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?