Wednesday October 20, 2021

सकारात्मक कुरा पनि सोचौं न : एक अनुभुति

१० बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1828


सकारात्मक कुरा पनि सोचौं न : एक अनुभुति

बिक्रम भट्टराई :
लण्डन। आमा भन्नुहुन्छ “यो लकडाउन भन्ने कुरा त हरेक बर्ष भईदिए राम्रो हुन्थ्यो, कमसेकम यसैको बहानाले  कयौं बर्षपछी हाम्रो खेतबारीले आफ्नो वास्तविक धनिकों अनुहार देख्न पायो” | काठमाण्डू लगायतका शहरहरुबाट विशेष चार्डपर्वमा मात्रै “गाँउ जाने” भन्दै पुस्तौं शहरिया बनेको ढोङ गर्नेहरु पनि यतिबेला आफ्नो वास्तविक “घर” खोज्दै पैत्रिक घरमा पुगेका छन। घर र आँफ्ना परिवार भनेको जस्तो परिस्थितिमा पनि हामीबाट टाढा हुनै सक्दैन भन्ने कटुसत्य प्रमाणित गरेको छ यो अप्रत्याशित अवस्थाले, कयौं पहिलो पुस्ता र तेश्रो पुस्ता  (हजुरबा आमा र नाती नातीना) बीच नजिक हुने मौका मिलेको छ यही लकडाउनले। धेरै शहरमुखी बुहारीहरुलाई आफ्नो श्रीमानको पुर्खौली थलोंको महत्व दिलाएको छ यसले। खाजामा मम चाउचाउ र चिप्स भन्दा अरु कुनै खाने कुरा नै हुदैन भन्ने निश्चय गरिसकेका कयौं नेपाली शहरियाहरुलाई मकै, सातु, भट्टमास, चिउरा , थेप्चे रोटी कोदोको पुवा जस्ता स्वस्थ्यकर खानेकुराहरु पनि छन है भन्ने ज्ञान दिलायो।

घरमा जगेडा कसरी गर्ने, हाम्रा अग्रजहरुले किन पकाउने बेलामा हरेक मुठ्ठी चाँमल बाट एक चिम्टी चाँमल फर्काएर डालो या बोरामा हाल्दा रहेछन , मङ्सीरमा धेरै भएको सागलाई गुन्द्रुक बनाईए पछी सुखा र अभावमा त्यसले हरियों सागको काम गर्छ भन्ने, एउटा करकलो बाट कति थरी ड्राई तरकारी बन्दों रहेछ जस्ता कयौं जीवनमा अति महत्वपूर्ण कुरा सिकाएको छ यो असामान्य भनिएको अवस्थाले, त्यती मात्रै कहाँ हो र आफ्ना ईष्टमित्र नातागोता कुटुम्वहरु कहाँ र कसरी बसेका छन कस्लाई के भनेर सम्वोधन गर्ने भन्ने कुरा पनि यसपालीको यो महामारी भनिए को स्थितीले बुझाएको छ। उता भलै विश्व स्वास्थ्य संगठनले खुलेर समर्थन गरेको छैन तर पनि हामीले अधिक मात्रामा प्रयोग गर्ने बेसार लसुन जिरा लगायतका हाम्रा मौलिक र स्थानिय मसालाहरु लगायत कयौं जडीबुटीहरुको बारेमा एकपटक सोच्न प्रेरित गरायो यो विषम परिस्थिति ले। चाख लाग्दो कुरा त यो पो भयो कि यतिबेला कुनैपनि धार्मिक मन्दिर गुम्वा, चर्च या मश्जिदहरु खुलेका छैनन तैपनि ईश्वरले आँफ्नो कर्तव्य यथावत गरिरहेको देखियो, न कसैको भाक्कल न कसैको टुन्डा, न कतै आइतवार विशेष चर्च समारोह तैपनि प्रकृतिले आँफ्नो नित्यकर्म गरेकै छ।

यता ग़ैर आवासीय नेपाली संघ को गएको एक महिनाको डाटा अनुसार ७७% बिदेशी भुमीमा रहेका नेपालीहरु नेपाल फर्किन चाहान्छन रे यसको मतलब ती नेपालीहरुलाई पक्कै नेपालमा नै गएर केही गर्नु पर्छ, केही गर्न सकिन्छ भन्ने सोच आएको हुन पर्छ जुन कुरा देशको लागी एकदमै सकारात्मक हो। म आफै एक महिना पहिले सोच्थें कि “यदी म एक हप्ता घरमा काम नगरी बसेँ भने त जहाजै डुब्छ”, तर खै आज एक महिना भयो मेरो त्यस्तो जहाजै डुब्ने केही त भएको छैन। म हरेक बिहान दाँत पनि राम्रोसंग ब्रस नगरी के के नै छोप्नु छ जसरी दौडन्थे तर एक महिना भयो घरमा नै छु सक्दो आफुलाई समय दिन पाएको छु। मनमा सोचेको कुराहरु गर्ने प्रयास गरेको छु, छोरी पनि घरैबाट जागीर गर्दैछ , श्रीमती पनि अनावश्यक धपरी गरेर काममा दौडेकी छैनन् , छोराले पनि पहिले भन्दा बड़ी नै फोनमा सम्पर्क गर्दैछ । मेरी आमालाई दिनमा एकपटकको सट्टा दुई तिन पटक फोन सम्पर्क गरिन्छ त्यस्तै सबै साथीभाईसंग जोड़िने कोशीस गरेको छु। २६ बर्ष पछी पहिलो पटक हाम्रो एसएलसी ब्याचका साथीहरु बिच सम्पर्क भएको छ। हरेक आफन्तहरुलाई एकआपसमा कस्तो सम्वन्ध हुन पर्ने रहेछ भन्ने महसुस गरेको मैले ठानेको छु ।

हरेक विषय आफुले सोचेको भन्दा प्रतिकुल हुने बितिक्कै संसारै ठप्प हुन्छ भन्ने भ्रममा रहेछौं हामी सबै, तर त्यस्तो हैन रहेछ , हामीले आँफैलाई बिर्सेका रहेछौं, हाम्रा प्रतिस्पर्धात्मक दौड़हरु फगत रहेछन, प्रकृतिले चाहेमा मात्रै सबैकुरा ठप्प हुने रहेछ , हामीले हामी प्रकृतिको दास हौ भन्ने कुरा बिर्सेका रहेछौं। हिजो कति कमाउने र कसरी कमाउने चिन्ता थियो तर आज त्यो कमाउने कुरा नै नभएपछी चिन्ता के को मान्नु , यतिबेला अनावश्यक भेटघाट छैन,धनसम्पति देखाउने होडबाजी छैन, अनावश्यक सभा समारोह र पार्टीहरु भएका छैनन् जसले गर्दा कयौं का घरमा प्रतिस्पर्धात्मकता मानसिकताबाट हुने नकारात्मक वातावरण बनेको छैन। यता परिवारमा पनि एकआपसको महत्व पनि यही अवस्थामा बड़ी देखिदो रहेछ , म आफै बिरामी परेको गएको दुई हप्ता मेरी श्रीमतीले गरेकी सेवाको साहेदै मैले भुक्तानी गर्न सकुला। सच्चा साथीभाई पनि यस्तै बेलामा चिन्ने बेला रहेछ।
 

संसार नै म ठप्प पार्न सक्छु भन्ने घमण्डी राजनैतिक नेताहरु पनि यतिबेला धराशायी बन्दै गएको प्रष्ट हुदैछ। हामीले संसार मै सबैभन्दा व्यवस्थित र शक्तिशाली भनिएका देशहरुको हविगत पनि यही महामारीले देखायो। यसले मलाई लाग्छ हाम्रो जस्तो तेश्रो विश्व अन्तर्गतका राष्ट्रहरुलाई पनि धेरै पाठ सिकाउनका साथसाथै मनोबल बढाउन मद्दत गर्नेछ ।

अन्तमा मेरो बिचारमा त हामी असामान्य अवस्थामा थियौं , जानै नपर्ने गन्तव्यका लागी दौडीरहेका थियौ, हामीले बाटो भुलेका थियौं, हामीलाई यो कोरोना भाईरसरुपी महामारी मार्फ़त सामान्य जीवन जीउन प्रेरणा मिलेको छ। हामीलाई अझै ढिलो भएको छैन बिराएको बाटोबाट फर्किन या सही बाटो तर्फ मोडीन अभिप्रेरित गरेको छ। यसलाई यसरी सकारात्मक रुपमा लिऔं। सबै सुरक्षित रहौं, भावनात्मक हिसाबले नजिक रहौं, एकआपस भाईचारा क़ायम राखौं । सबैको जय होस्.....




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?