Wednesday May 27, 2020

चुनौती कविता

३१ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1127


चुनौती कविता


नीलकण्ठ न्यौपाने,
कविता।

आयो के कोरोना विषाक्त भुसुना कालै बनी विश्वमा

सारा मानव बस्तीमा दिनदिनै लाग्दैछ विध्वंशमा।

हत्या त्रास जघन्य मृत्यु भयले आतंक मच्चाउँदै

संसारैभर फैलिई मनुजको प्राणान्त पीडा दिँदै ।।

                   १

हाम्रो चेतन वृत्तले कति कुरा सक्दैन भेट्टाउन

भित्री के छ रहस्य यो प्रकृतिको को सक्छ सच्याउन।


दैवी चक्र घुमाउने प्रविधिको लीला कथाका कुरा

को बुझ्ने र बुझाउने त कसरी सामर्थ्य कस्को पूरा ।।

                   २

गर्दै घात प्रघात तीव्र हमला ब्रह्मास्त्र फैलाउँदै

युद्धाभ्यास गरी रहेछ यसले संसार थर्काउँदै ।

कोरोनामय जीवअस्त्र तगडा सूक्ष्माणु बिछ्याउँदै

थाल्यो मानव जातिकै जगतको अस्तित्व सिध्याउनै ।।

                   ३

सिंगो विश्व धकेलियो पछि पर्यो हारेर झोंकाउँदै

हाम्रो भौतिकवादको प्रगतिमा छेको तगारो दिँदै ।

लाखौं लाख मनुष्यमाथि हमला गर्दै चुनौती दिँदै

आफ्नो तागत तौलिँदैछ विधिले सर्वत्र फैलाउँदै ।।

                   ४

कि कर्तव्य विमूढ मूर्छित बन्यो विज्ञानको उन्नति

सोच्दा साथ रहेछ जीवनसँगै अज्ञानकै दुर्गति ।

व्यर्थै आर्जित सम्पदा प्रगतिको हारेर भक्कानियो

मान्छेको अभिमान क्रोध झगडा इर्ष्या सबै नाङ्गियो ।।

                   ५

सारा ती हतियारका बिगबिगी लुके कुनामा कता ?

बन्ने धाक गयो अजय सबमा विज्ञान भाग्यो कता।

हाम्रा ती सपना भविष्य पथका बेकार देखे जति

आर्जेको विजयी ध्वजा प्रकृतिमा ढल्दैछ आजै कति ।।

                   ६

हाम्रो तागतको घमण्ड कतिथ्यो थर्को थियो विश्वमा

त्यस्तै उन्नतिको कथा परिकथा चर्को थियो सृष्टिमा ।

देख्दा तुच्छ रहेछ चिन्तन सबै सनो छुचो दुर्मति

आफैं संकटग्रस्त भै मनुजता भोग्दै गयो यो क्षति ।।

                   ७

त्रासै त्रास छ विश्वमा मरणको सर्वत्र चकमन्न छ

चाङै चाङ छ लास लाख रमिता संसार नै बन्दछ ।

लाखौं लाख सिकिस्त भै परिसक्यो संसार आफैं थला

पूर्वाभ्यास गर्‍यो किता प्रलयको डाकेर यो आपदा ।।

                   ८

शिक्षा दर्शन सृष्टिको बुझिदिने खाँचो छ संसारमा

दीक्षा जीवन दृष्टिमा थपिदिने साँचो सदाचारमा ।

खातै खात रहस्य छन् प्रकृतिमा अदृश्य सम्भावना

कोरोना निहुँमात्र यो विपदमा खोली पढौं चेतना ।।

                   ९

व्यर्थै आपस दुश्मनी कति लिने संकीर्ण स्वार्थी बनी

गर्दै सञ्चय सम्पदा प्रकृतिको के बन्नु खै बैगुनी ।

सेवाभाव उदार प्रेम ममता आदर्श श्रद्धा सँगै

फेरौं जीवनचक्र नै अब सखे सत्कर्ममा गाँसिँदै ।।

                  १०

हाम्रो दैनिक दैनिकी शुभ रहोस् परोपकारी गुनी

आफ्नै पौरखमा रमाइ सबले बाँचौं बनी उद्यमी ।

साँची संस्कृति सम्पदा असल ती पूर्खा पिताका कुरा

बाँचौं जीवन स्वस्थ सभ्य विनयी आरोग्यतामा पूरा ।।

                  ११

कोरोना विषवायु संक्रमणले लाखौं मरे विश्वमा

साराले अब शान्ति सद्गति चुमून् वैकुण्ठ सद्धाममा ।

कालो बादल फारियोस् जगतमा फर्कून् उज्याला दिन

संसारै अब स्वस्थ भै अघि बढोस् व्यर्थै चुनौती किन ।।

                  १२

(सेतोपाटीबाट)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?