Wednesday May 27, 2020

संवादको कुनै बिकल्प छैन।

८ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1156


संवादको कुनै बिकल्प छैन।

बिक्रम भट्टराई,

लण्डन। कालापानी , लिम्पियाधुरा र लिपुलेक एक स्वतंत्र अस्तित्व भएको राष्ट्र नेपालको हो भन्ने हामीहरुसंग यथेष्ट प्रमाणहरु छन। कैयौं घट्नाहरु साँक्षीका रुपमा छन, कैयौं ऐतिहासिक दस्तावेजहरु छन तर यी सबै प्रमाणहरु पेश गर्नको निम्ती आवश्यक प्रक्रियामा नेपाल सरकार जब सम्म जाँदैन तबसम्म हामी आकाशबाट कतिबेला फल खस्ला र क्वाप्प खाँउला जस्तै हो।

यी प्रमाणहरु सामाजिक संजाल,यूट्यूबरहरुको साईडमा,नेपाली भाषाका संचार माध्यममा देखाएर सुनाएर त्यसले कुनै निचोड़ निकाल्दैन। किनकी गएको केही दिन देखी भारतीय मिडीयाहरुको भुकाईमा कालापानी लिम्पियाधुरा र लिपुलेक भारतको भुमी हो भन्ने प्रमाणहरु भन्दापनि ‘हामीले पालेको कुकुरले हामीलाई नै भुक्ने?’ जस्तो अट्टहास बाहेक केही छैन। भारतीयहरुको यो प्रवृत्ति भरखरै सुरु भएको हैन,यो सदियौ देखी चलिआएको हो, सोचौं त आफ्नो क्षमता र कलाले पुरै वलिउडमा स्थापित हुन सफल मनिषा कोईरालाले एउटा देश प्रतिको भावनालाई रोक्न नसकेर छुस्स ट्विट गर्दा त "मनिषा भारत छोड़ो" भन्न सुरु गरेको भारतीय मिडीया, कुनै नेपालको दूरदराज़बाट बाध्यतालेले रोजीरोटीको लागी भारतको कुनै शहरमा कसैको घरमा काम गर्ने ‘कान्छा’ या ‘कान्छी’ लाई कस्तो अनुभव भयो होला?

हरेक सेकेंण्ड सेकेंण्डमा ‘जय हिन्द’ भन्नै पर्ने एउटा नेपालीको छोरो जो भारतीय सेनामा सेवारत छ त्यसलाई कति सकस भयो होला? एक सय पच्चीस करोड़ मध्य ०२४% नेपाली भाषीहरु छन भारतमा जो भारतीय नागरिक हुन। जसलाई भारत नै सम्पुर्ण हो तथापि उनिहरुको मनमा जुन नेपाल प्रति माया र सम्मान छ त्यसमा कति ठेस पुग्यो होला? हो हाम्रो र भारतको रोटी बेटीको सम्वन्ध छ, यतिबेला हाम्रो रौतहटबाट बिबाह गरेर पट्ना घरजम गरेर बसेकी नेपाली चेलीको मनमा के कुरा खेल्दो होला? अथवा पुर्वी नेपालको कुनै पहाड़ी जिल्लाबाट कामका लागी कलकत्ता हिडेको युवा सिलीगुड़ीको ‘नोर्गे स्टेशन (तेन्जीङ नोर्गे) मा साधन कुर्दै गर्दा त्यो स्टेशनको नाम पढेर के सोच्दो हो?
     
यो अति संवेदनशील विषय हो, यसलाई त्यही संवेदनशीलताका हिसाबले हल गरिनु पर्छ। हामी सर्वसाधारण जनताहरुले पनि हरेक अभिव्यक्तिलाई एकदमै सोचेर बिचार पुर्याएर गर्नुपर्छ। प्राय: हामीमा राष्ट्रवाद आफ्नो अनुकूल अनुसार तात्ने र सेलाउने गर्छ। यतिबेला युरोप अमेरिका बस्ने या देश छोडेर बिदेशमा केही आर्थिक हैसियत बनाउनेहरुको राष्ट्रवाद उम्लेको छ, यसमा कतै प्रतिकार गर्न सक्ने स्थिती छैन तर एउटा कुरा के भुल्न हुदैन भने म जस्तो एउटा नेपाली जब केही गर्ने जोश जाँगर थियो त्यो उमेरमा नेपालमा केही गर्न पर्छ भन्ने त के, नेपाली सेनामा भर्ती खुल्दै गर्दा त्यही बाटो काटेर पहिले बेलायती सेनामा कपड़ा खोलेर दौडीने, त्यहाँ पनि केही नभएपछी ‘तुरतुरे’ या भरतपुर हुदै कुनाघाट गोरखपुर गएर ‘जी सा’प’ भन्ने सपना देख्ने अनि त्यहाँ पनि हात लाग्यो शुन्य भएपछी घर जग्गा धितो राखेर युरोप अमेरिका आएर ‘सेटल’ हुनेहरु घरमा सजाउन नेपाल देखी ल्याएको खुकुरी देखाउदै ‘अझैपनि गोर्खाली खुकुरी दाव भित्र हाली सकेका छैनौं’ भन्दै सामाजिक संजालमा भाईरल हुदैमा यति गहन विषयले पार पाँउदैन । हामीले युद्ध सुरु गर्नुभन्दा पहिले आँफ्नो कमज़ोर पक्ष त्यसपछी विपक्षीको कमजोर पक्षको हिसाब किताब गरेनौं भने चाहेर पनि हामी पछी पर्न सक्छौं । सरकारलाई वार्ता र संवादलाई प्राथमिकतामा राख्न दवाव दिऊँ, त्यती ले भएन भने अन्तराष्ट्रीय जगतलाई सहयोगको लागी आव्हान गरौं त्यहाँ पनि केही नभए अन्तराष्ट्रीय अदालत जाऔं। सबैको जय होस्। सुरक्षित र सकारात्मक रहौं। 🙏🏻🙏🏻
 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?