Sunday July 05, 2020

बेलायतबाट दोश्रो चरणमा ८३ जना नेपाली स्वदेश फर्किए

१२ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1081


बेलायतबाट दोश्रो चरणमा ८३ जना नेपाली स्वदेश फर्किए

शीतलपाटीन्युज डटकम।
लन्डन।  कोरोना भाईरसबाट माहामारीको लकडाउनमा परि बेलायत मै रोकिएका नेपाली फर्काउन व्यवस्था अनुसार चार्टर उडान मार्फत दोस्रो लटमा  थप  ८३ जना स्वदेश फर्किएको समाचार  छ।

 


लन्डनको ग्याटविक एयरपोर्टबाट शुक्रबार दिउंसो ४ बजे जजिरा एयरको विमान क्षमता भन्दा आधा संख्याका यात्रु  बोकेर उड्यो। १ सय ५८ यात्रुको क्षमता रहे पनि  नेपाल जान जरुरी रहेको भन्दै दूतावासमा नाम दर्ता गर्ने धेरैजना  पछि हटेपछि उडानमा यात्रु  संख्या न्यून भएको थियो। 

 


लन्डनस्थित नेपाली दूतावासका डिपुटी चीफ अफ मिसन शरदराज आरण, तृतीय सचिव तेजेन्द्र रेग्मी, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, जजिरा एयरवेजका  लागि नेपाल एजेन्टका बेलायत प्रतिनिधी जीवन सेन लगायतले विमानस्थल पुगेर स्वदेश फर्किने नेपालीहरुको बिदाई गरेका थिए।

यसअघि बुधबारको पहिलो उडानमा फर्किएका १ सय ४६ सहित दुई चार्टर उडानमा बेलायतबाट कुल २ सय २९ नेपालीहरू नेपाल फर्कन सफल भयका छन्। गैरआवासीय नेपाली संघ यूके र लन्डनस्थित नेपाली  दूतावासमार्फत नेपाल फर्कन जरुरी अवस्थामा रहेको भन्दै ५ सय जनाले नाम दर्ता गरेका थिए।

नाम दर्ता गराउनेमा भिसा अवधि सकिएका, नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमका लागि आएका कर्मचारी र सेनाका अधिकृत,जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरु लगायत छन।

लन्डन दूतावासका डिपुटी चीफ अफ मिसन  शरदराज आरणले नेपाल फर्किनै पर्ने अवस्थामा रहेका बेलायतस्थित नेपालीहरु  चार्टर     उडान मार्फत पठाउन सफल भएकोमा खुशी व्यक्त गरेका छन्। शुरुमा जरूरी भन्दै नाम दर्ता गर्ने धेरैले उडान तय भएपछि नेपाल जान नचाहेको  पनि उनले सुनाए। अहिलेसम्म जरूरी हुने सबैले फर्किने अवसर पाएको र अब नियमित उडान सुचारु हुनुअघि थप चार्टर उडानको सम्भावना नरहेको पनि उनले बताए। 

बेलायतमा रोकिएका नेपाली फर्काउन पहल गरेको एनआरएनए यूके पनि दुई चार्टर विमान नेपाल उडेपछि अहिले उत्साहित छ। नेपाल फर्किनेहरुको बिदाईको लागि दुवै दिन एयरपोर्ट पुगेकी अध्यक्ष पुनम गुरुङले एनआरएनएले शुरु गरेको पहललाई लन्डन दूतावास र नेपाल सरकारको सहयोगले सार्थक बनाएको बताएकी छन। 

चार्टर उडानको  लागि जजिरा एयरवेजको बेलायत प्रतिनिधीका रुपमा काम गरेका क्याट यूके अध्यक्ष जीवन सेनले पनि बेलायतमा अलपत्र नेपालीको उद्धारको  पहल र व्यवस्थापन गर्ने नेपाल सरकार, लन्डन दूतावास र एनआरएनए यूकेप्रति आभार प्रकट गरेका छन्। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?