Sunday July 05, 2020

लघुकथा - प्रतिच्छवि समाज

१३ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1179


लघुकथा - प्रतिच्छवि समाज

सुबोध अधिकारी ।

वास्तविक रगं छुट्याउन कठिन कलेठी परेको भोटो। रगं कस्तो होइन आङ ढाक्न प्रयाप्त। टाचाँ मारेको धागो फुस्केर जामा बनेको सुरुवाल। थोत्रा टालाको हत्यौरी वाटेर पानीको बोतल कुच्याएर वनेको चप्पल। थोत्रा बोतल, कागज, टिन फलाम संकलन गर्ने बोराको धोक्रो। वर्णले कालो होइन धुलो र पसिनाको लेप र मैलोले लट्टिएको कपालले कुरुप देखिन्छ । धुले र राफिलो सडक या त विकल्पमा  कठाङ्ग्रिदो रात। न परिचय न कुनै उद्धेश्य। भोको पेट पाल्न उसको इमानदार कमाईको श्रोत सभ्य मानिसको असभ्य संस्कार।

सपना जस्तै कोही मनकारी भेटिन्छ । लतार्दै लतार्दै पनि घरी घरी फुत्कने आफैले बनाएको चप्पलको सट्टामा  औला घुसार्ने नया चप्पल उसले पाउछ आज। सहयोगी हातलाई नमन गर्छ। फुरुङ्ग हुदै कहिले गोरेटो त कहिले चप्पल हेर्न उसलाई भ्याई नभ्याई छ । तै पनि खुट्टा भने लतारिए कै छ । ठेउलिएको र खिलिएकोले मात्र होइन। उसको नाप भन्दा ठुलो वा नमिलेर पनि हो। समाल्दै समाल्दै अगाडी वढ्छ इमानदार कमाईको श्रोत थोत्रा बोतल, कागज, टिन फलाम टिप्दै।

चप्पलको जोशिलो प्याट् प्याटी लय र फुरुङ्ग भएको अनुहारको नातो टुट्छ। त चोर हिजोअस्ति  के लाउथ्थो  आज। चोर उपमा मात्र होईन कनपटी पनि रन्किन्छ। चप्पलको प्याट् प्याटी लय जस्तै चडय्याम्म चडय्याम्म । सुनौलो गजुर तल विराजमान भगवान वोल्दैनन । वरिपरिका हुनेखाने रमिता हेर्छन। मनभ्रान्ति सेलाउन आउनेको भिड सबैले खाउला झै आखा तर्छन। मानौ उनीहरू श्वेत श्याम प्रतिच्छवि अर्थात् फोटोकपी हुन । कालो कटकटिएको दागै नहेरी चप्पल अरुको हुन्छ । लछारपछारले ठेउलिएको र खिलिएको खुट्टा रगताम्य हुन्छ। अश्रुधारा र हातको मैलो अननुहारमा लतपतिन्छ। निःशब्द उ टाढा हुदै गएको चप्पलको लय पछ्याउछ। चप्पलको लय हराउदै जादा उ भक्कानिन्छ। भित्र भित्रैको हिक्क हिक्कलाई हावाले लतार्दै ल्याएको पानीकागतको बोतलको प्यारप्यारले क्रमभंग गर्छ। निःसङ्कोच त्यसलाई टिपेर धोक्रोमा हाल्छ। धुले र राफिलो सडक अवच्छिन्न गन्तव्य।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?