Sunday July 05, 2020

कार्यतालिका हेरफेर गर्दै कांग्रेसको महाधिवेशन फागुनमै

१६ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1028


कार्यतालिका हेरफेर गर्दै कांग्रेसको महाधिवेशन फागुनमै

शीतलपाटीन्युज डटकम।
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा केही परिमार्जन गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार असार १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ ।

यस्तै, साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ७ गते देशभरिका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरूमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने प्रवक्ता शर्माले बताए ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति:

कांग्रेसले प्रधानमन्त्रीले सरकार परिवर्तनका लागि भारतले षड्यन्त्र गरिरहेको भनेर दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ ।

केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले बताए । संसद र संसदीय समितिमा आफ्नै पार्टीको बहुमत हुँदा पनि यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु आपत्तिजनक भएको उनले बताए ।

‘नक्साको विषयलाई आफूले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउनतर्फ अमूक देश लाग्यो भन्ने अभिव्यक्ति गैरजिम्मेवार, कूटनीतिक मूल्यमान्यताभन्दा बाहिरको छ । नक्सा पारित गरेको विषय एक प्रधानमन्त्रीको विषय होइन । सिङ्गो देश एक भएर संसदले पारित गरेको नक्सा हो । सबैको साझा स्वामित्व छ’ उनले भने।

साझा संकल्पका साथ नक्सा पारित गर्दा देश एक ठाउँमा उभिएको बेला दिल्लीसँग दृढताका साथ कुरा गर्न पनि आग्रह गरिएको प्रवक्ता शर्माले बताए । नक्सा प्रकाशित भएपछि भूमि फिर्ताका लागि पहल गर्न आग्रह गर्दा पनि प्रधानमन्त्रीले विषयान्तर गर्न खोजेको उनले बताए।

संविधानले बहुमतबाट सरकार बनाउने र हटाउने अधिकार दिएको उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीले आफ्ना सहपाठी वा अन्य कुनैसँग सम्बन्धित भएर दिएको अभिव्यक्ति गैर राजनीतिक भएको टिप्पणी गरे।
( अनलाइन खवर)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?