Thursday October 01, 2020

छोटो मिठो मेरो विचार : बिबाह

२२ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1296


छोटो मिठो मेरो विचार : बिबाह

उमेश रेग्मी ।

राम प्रसादलाई आफ्नी श्रीमती राधाको कुरा चित्त बुझिरहेको थिएन "मेहन्दी रे ! के हो यो मेहन्दी भनेको ? हाम्रो पालामा त हुँदैनथ्यो। खै हाम्रो बिहे भयो त। राम्रै छ अहिले सम्म २८ बर्ष भैसक्यो।  आजभोली चाही यो चाहिने नचाहिने बिदेशी नक्कल गर्नु पर्याछ सबैलाइ।" राधा सम्झाउन खोज्दै थिइन् "समय अनुशार चल्नै पर्यो नि बुढा। अन्त गएर चाही खानुसम्म खाने अनि आफ्नो पालामा चाही बिदेशी नक्कल भनेर पन्छिन खोज्नु भएन नि।  के भन्लान जोरिपरिले पनि।" रामप्रसादलाई श्रीमतीको कुरा मन परेन "छोरी हाम्रो बिहे उसले गर्ने र गराउने हामी। जे सकिन्छ त्यहि गर्ने हो। जोरिपरिले यो भन्छन र त्यो भन्छन भनेर हुन्छ कहिँ ?"

राधालाई एक्ली एउटी छोरीको बिहे धुमधामसंग गर्ने रहर छ।  पोहोर साल पुष्पाको बिहेको खुब तारिफ गरेकी थिइन् राधाले। आफ्नी एकदम मिल्ने साथी निर्मलाकी छोरी पुष्पा, कति भाग्यमानी भनेकी थिइन् उनले। उसको बिहेमा के भएन र अनि निर्मलाले के मात्र दिइन र दाइजोमा पुष्पालाई। राधालाई सबै राम्ररी सम्झना छ। उनलाई आफ्नो छोरीको बिहे पुष्पाको भन्दा पनि अझ राम्रो संग गर्न मन छ।

रामलाइ भने तडक भडक पटक्कै मन परिरहेको छैन। "बिदेशी संस्कृतिलाई हुल्दैमा हामी ठुला हुने होइनौ र बिहे राम्रो हुने होइन बुझ्यौ।  दुलाहा र दुलहीको मन मिल्नु पर्छ, बिहे त्यहि हो। यस्ता वाहियात खर्च किन गर्नु पर्यो?" रामप्रसाद प्रयास गर्दै थियो राधालाई सम्झाउन। "मलाई त यो दाइजोको सामान तिमीले किनेको पनि मन परेको छैन। केटा बिदेशमा बस्छ। छोरीलाई बिहे गरेर उतै लैजाने भन्या छ। यत्रा सामानहरु किनेर कसलाई दिने तिमीले? छोरी ज्वाईले उपभोग गर्ने पनि होइन।" श्रीमानको कुराले राधाको बेचैनी बढिरहेको थियो। "ब्यबहार के हो हजुरलाई के थाहा छ। सबै सुन्नुपर्छ मैले। सबै गर्नु पर्छ मैले। कुरा काट्नेहरुको कमि छैन यहाँ, सहनु पर्छ मैले। हजुरलाई त यो गर त्यो नगर भने भै हाल्यो।" श्रीमतीको कुरामा सहमति जताउन गाह्रो भो रामप्रसादलाई "कुरा सुन्न थाल्यो भने कंगाल भईन्छ। आफ्नो गच्छे अनुशार गर्ने हो जे पनि। लहै लहैमा लागेर गरेका कामहरुले पछि पछुताउनु पर्ने हुन्छ। व्यवहार भनेको एकले अर्कोलाई बुझेर गरेको राम्रो अनि समय अनुसार पनि हुनु पर्छ बुझ्यौ" श्रीमतीलाई बुझाउने उसको असफल प्रयास जारि नै थियो।

छोरीको बिहेको बागडोर सम्हालेकी राधा आफ्नो श्रीमानको समर्थन पाउने कुरामा ढुक्क थिइ। उसलाई लाग्थ्यो उसले गरेका कुरामा श्रीमान दङ्ग पर्छन तर यहाँ उल्टो भैरहेको थियो। "एउटी भएकी छोरीको पनि मन फुकाएर बिहे गर्न नपाइने, यत्रा सम्पत्ति भएको कुन दिन काम लाग्छ" फतफत गर्न थाली राधा।

ठुलो ठुलो स्वरमा भैरहेको उनीहरुको सम्बाद सुनेर नजिकै बसिरहेको छिमेकी मदन मिस्रित बिचारहरुमा अल्झिन पुग्यो। को ठिक को बेठिक छुट्याउन गाह्रो भो उसलाई। राधाको तडक भडकले समाजमा ल्याएका नया चलनहरुलाई 'बिकृति' को संज्ञा दिन सकेन उसले न त आफ्नी श्रीमतीको अनाबश्यक मागहरुको चपेटामा परेको रामप्रसादका कुराहरुलाई 'पुरानो विचार' वा 'पुरानो शैली' भन्न सक्यो। उ समाजमा आइरहेको यस्ता नया चलनहरुले कतिपय परिवार बिच निम्त्याई रहेको द्वन्दलाई महसुश गर्दै थियो।

बदलिदो समयसंगै अगाडी बढ्न नसक्दा खेप्नु पर्ने अनेकन सामाजिक आलोचनाहरुसंग जुझ्न निक्कै गाह्रो हुने यथार्थसंग भालिभाती परिचित थियो मदन। तर के हाम्रो संस्कृति कमजोर छ त ? उ सोध्थ्यो आफैलाई। किन हामी बाहिरी कुरामा आकर्षित छौ, किन हामी समाजमा रहेका ति परिवारहरुका लागि अप्ठेरो बन्दै छौ जहाँ 'ब्यबहार' का लागि आफ्नो सर्बस्व स्वाहा पार्नु पर्ने स्थिति छ। उसका मनमा अनेकौ यस्ता प्रश्नहरु उब्जिरहेका थिए।

मदनको जिज्ञाशाहरुलाई पाठकवृन्दले समाधान गरिदिनु हुन्छ भन्ने कुरामा यो लेखक निश्चिन्त छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?