Wednesday March 22, 2023

दूतावासबाटै नागरिकता वितरण गर्ने व्यवस्था गर्न एनआरएन युकेको माग

३ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 2860



शीतलपाटीन्युज डटकम।

लन्डन । गैर आवासीय नेपाली संघ युकेले एनआरएन नागरिकता विदेशस्थित नेपाली दूतावासबाट प्रदान गर्ने व्यवस्था गर्न माग गरेको छ ।

नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे चासो व्यक्त गर्दै एनआरएन युकेले उक्त माग गरेको हो ।

लन्डनस्थित नेपाली दूतावासमार्फत विभिन्न माग राख्दै बुझाएको ज्ञापन पत्रमा ‘गैरआवासीय नागरिकता लिन गृह मन्त्रालयमा निवेदन दिनुपर्ने प्रस्तावित विधेयकमा उल्लेख छ । गैरआवासीय नेपालीलाई गृह मन्त्रालय भन्दा पनि आफू रहेको मुलुकमा रहेको नेपाली दूताबास वा नियोग मार्फत नागरिकता प्राप्त गर्ने व्यवस्था गरियोस्’ भनिएको छ ।

एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र प्रवक्ता रमेशसिंह सरांगकोटीले हस्ताक्षर गरि इमेल मार्फत नेपाली दूतावासमा पेश गरिएको ज्ञापनमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा गैरआवासीय नेपाली नागरिकहरुलाई सरोकार राख्ने कतिपय प्रावधानहरु छुटेको, समावेश भएका कतिपय प्रावधानले गम्भीर असर पार्ने देखिएको उल्लेख छ ।


ज्ञापनपत्रको पूर्णपाठ

प्रस्तावित विधेयकमा ध्यानाकर्षण गराइएका बुंदाहरु

१. विधेयकमा गैरआवासीय नेपालीलाई ‘राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता पाउन सक्ने’ भनिएको छ । जबकि संविधानमा गैरआवासीय नेपालीलाई ‘राजनीतिक बाहेक’ भन्ने वाक्यांशको कतै उल्लेख छैन् । यदि गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकको नागरिकताको व्यवस्था गर्न खोजिएको हो भने कुन कुन अधिकार बाहेकको नागरिकता दिन खोजिएको हो सो बाहेक बांकी सबै अधिकार नेपाली नागरिकसरह हुनेछ भनी स्पष्ट ब्यवस्था गर्न हामी माग गर्दछौं ।

२. विधेयकमा गैरआवासीय नागरिकता प्राप्त गर्न ‘नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण’ पेश गर्नुपर्ने भनिएको छ । जबकि नागरिकता ऐनमा नै विदेशी नागरिकता लिए नेपालको नागरिकता स्वतः खारेज हुने प्रावधान भएकाले यो वाक्यांश राखिरहनु आवश्यक देखिंदैन । बेलायतले बहु-नागरिकता स्वीकार गरेको हुंदा यहांको नागरिकता प्राप्त गर्न नेपालको नागरिकता त्याग गर्न अनिवार्य छैन् । यस्तो अवस्थामा नेपाली नागरिकता त्याग गरेको प्रमाण कसरी कहांबाट जुटाउने ? त्यसैले प्रस्तावित व्यवस्थाले नेपालीहरुलाई सहजै नागरिकता लिन गम्भीर असर पार्ने देखिएकाले सच्याउन अनुरोध गर्दछौं ।

३. गैरआवासीय नागरिकता लिन गृह मन्त्रालयमा निवेदन दिनुपर्ने प्रस्तावित विधेयकमा उल्लेख छ । गैरआवासीय नेपालीलाई गृह मन्त्रालय भन्दा पनि आफू रहेको मुलुकमा रहेको नेपाली दूताबास वा नियोग मार्फत नागरिकता प्राप्त गर्ने व्यवस्था गरियोस् ।

४. प्रस्तुत विधेयकमा विदेशीसित विवाह गरेका गैरआवासीय नेपालीका बारेमा केही उल्लेख गरिएको छैन । गैरआवासीय नेपालीसित विवाह गरेका विदेशी नागरिकलाई पनि गैरआवासीय नागरिकता प्राप्त गर्ने र नेपालमा परिवारसित आवतजावत, बसोबास, व्यापार, व्यवसाय गर्न पाउने प्रावधानका बारेमा प्रष्ट गर्न हामी माग गर्दछौं ।

५.गैर आवासीय नेपाली नागरिकता पाएका नेपालीको छोराछोरीका बारेमा विधेयक मौन छ । बाबु आमाले पाएको गैरआवासीय नागरिकताकै आधारमा उनीहरुले पनि नेपाली गैरआवासीय नागरिकता पाउनुपर्ने व्यवस्था राख्न हामी अनुरोध गर्दछौं ।

६. गैरआवासीय नेपालीले नेपालको पूर्ण नागरिकता प्राप्त गर्ने व्यवस्था ऐनमा उल्लेख छैन् । यदि गैरआवासीय नेपालीले विदेश स्थायी रुपमा त्यागेर नेपाल फर्किएको अवस्था कसरी नेपालको पूर्ण नागरिकता प्राप्त गर्न सक्छन् सो बारेमा पनि विधेयकमा थप गर्न हामी विनम्रतापूर्वक अनुरोध गर्दछौं ।

७. ऐनले नेपालको राहदानीको बारेमा कुनै कुरा गरेको छैन । गैर आवासीय नेपाली नागरिकले चाहेमा अरु नेपाली नागरिक सरह नेपाली राहदानी पाउने ब्यवस्था गर्न सकिन्छ र गरियोस् ।

अन्त्यमा, विदेशमा बसोबास गरिरहेका नेपालीका बारेमा नेपाल सरकार र संसद सकारात्मक हुनेछ, गतिशील विश्व परिवेशलाई आत्मसात गर्दै भविष्यमा नेपालको उन्नति, सम्वृद्धि र विकासमा लाग्न विश्वका जुनसुकै कुनामा रहेका नेपालीलाई आत्मसम्मान, आत्मगौरव महसुस हुने गरी गैरआवासीय नेपालीहरुले राखेको सुझावलाई विधेयकमा समेटिने छ भन्ने पूर्ण विश्वास राखेका छौं । हाम्रो सुझावलाई नेपाल सरकार र सम्बन्धित निकायसम्म पुरयाउन महत्वपूर्ण भूमिका निर्वाह गरिदिनुभएकोमा नेपाली दूतावास लण्डन र महामहिम राजदूतप्रति अग्रिम हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

भवदीय

१. कुल आचार्य- उपाध्यक्ष गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्मय परिषद

२. सुरेन्द्र श्रेष्ठ – सल्लाहकार गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्मय परिषद

३. मेजर रिटायर्ट डमर घले (एमबीई) – प्रमुख सरक्षक गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत

४. राजेन्द्र पुडासैनी – अध्यक्ष प्रबासी नेपाली मन्च बेलायत

५. पूर्ण लक्सम – पूर्व केन्द्रिय सदस्य नेकपा माओबादी

६. युवराज गुरुङ – अध्यक्ष नेपाली जनसंपर्क समिती बेलायत

७. चन्द्र गुरुङ- अध्यक्ष अन्तराष्ट्रिय नेपाली समाज बेलायत

८. जङग बहादुर सुनुवार – अध्यक्ष आदिबासी जनजाती महासंघ बेलायत

९. नरेश खपाङी मगर -अध्यक्ष नेपाल पत्रकार महासंघ बेलायत

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?