Sunday April 02, 2023

यी हुन् नेपाली चलचित्र क्षेत्रका शाहसिक महिला निर्देशक

३ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 2537



शीतलपाटीन्यूज डटकम

काठमाडौं   निर्देशक, जो फिल्मको क्याप्टेन हो । उसले एक फिल्मको निर्माण देखि प्रदर्शनसम्म आइपुग्दा धेरै मिहिनेत गर्नु पर्छ वा गरेको हुन्छ । सुरुमा कथा, पटकथा तयार पर्ने देखि कलाकार छनोट, छायांकन, सम्पादन जस्ता हरेका कुरामा उसैले नेतृत्व गरेको हुन्छ ।

फिल्म क्षेत्रमा निर्देशक भन्ने बित्तिकै पुरुषको चित्र तपाई-हाम्रो दिमागमा बन्छ । पुरूषप्रधान हाम्रो देशमा महिलाको क्षमतालाई कमजोर रुपमा हेरिन्छ । अझ भनैं फिल्म क्षेत्रमा उनीहरुको सहभागीता एकदमै कम हुन्छ । उनीहरुले फिल्मको लिडरशिप गर्न सक्दैनन् भन्ने मान्यता अझै पनि छ। धेरै महिलाहरु अझै कलाकार र फिल्म निर्माणको सहायक भूमिकातिर मात्र छन् ।

नेपाली फिल्मको इतिहासलाई फर्केर हेर्दा पनि फिल्म निर्देशनमा महिलाको सहभागिता एकदमै कम देखिन्छ । हातको औलामा गन्न सकिने महिला मात्र फिल्म क्षेत्रको निर्देशक बनेर काम गरेका छन् । फिल्मको नेतृत्व सम्हालेका छन् ।

नेपालमा महिलाले फिल्म निर्देशन सुरु गरेको १७ वर्ष भइसकेको छ । 

सुचित्रा श्रेष्ठ

नेपालमा पहिलो महिला निर्देशकको परिचय बनाएकी छन्, सुचित्रा श्रेष्ठले । २०५८ सालमा ‘प्रेमयुद्ध’ निर्देशन गरेकी उनले फिल्म क्षेत्रमा पुरुषमात्र निर्देशक रहेका बेला आफ्नो उपस्थिति जनाएकी थिइन् । धेरै टेलिसिरियल निर्देशन गरिसकेकी उनले आफ्नो दोस्रो फिल्मको रूपमा ‘को कसको’ निर्देशन गरिन् । तर दुबै फिल्मले राम्रो व्यापार भने गर्न सकेनन् ।

फिल्मले सफलता पाउनु, नपाउनु पछिको कुरा । तर फिल्म निर्देशकको रुपमा महिलाको उपस्थिति हुनु नै ठूलो कुरा थियो सुचित्राको समयमा । हाल सुचित्रालाई नेपाली फिल्म क्षेत्रले निर्देशकको पहिचान दिइसकेको छ । उनी २०७३ सालमा चलचित्र निर्देशक संघको अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

दिपाश्री निरौला

नेपाली फिल्म क्षेत्रमा सर्वाधिक कमाइ गर्ने फिल्म हो छक्का पञ्जा । यस फिल्मकी निर्देशक हुन् कलाकार दीपाश्री निरौला । लामो समय टेलिसिरियल ‘तीतो सत्य’मा कलाकार दीपकराज गिरीसँग निर्माण र निर्देशनमा सहकार्य गरेकी उनले ‘छक्का पञ्जा’बाट आफूलाई अब्बल निर्देशकको रूपमा स्थापित गरिन् । दीपाले नेपाली फिल्म क्षेत्रमा महिलाले निर्देशन गरेका फिल्म पनि सफल हुन्छन् भन्ने प्रमाणित पनि गरिन् ।

दीपाको निर्देशन यात्रा यतिमै रोकिएन । उनले दोस्रो फिल्म ‘छक्का पञ्जा २’ पनि निर्देशन गरिन् ।  ‘छक्का पञ्जा २’ले पनि राम्रो व्यापार गर्न सफल भयो । अहिले उनी फिल्म ‘छक्का पञ्जा ३’को छायांकन सक्काएर बसेकी छिन् ।

झरना थापा

अर्की अभिनेत्री झरना थापा पनि निर्देशक बनिसकेकी छिन् । लामो समय अभिनेत्रीको भूमिकामा रहेकी उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ निर्देशन गरिन् । फिल्म सफल मात्र भएन, उनको कामको समेत तारिफ भयो । उनको निर्देशकीय पक्षलाई पनि दर्शकले रुचाए ।

झरना अहिले उनको दोस्रो निर्देशनमा बन्न लागेको फिल्म ए मेरो हजुर ३ को प्रि-प्रोडक्सनमा वयस्त छिन् । यो फिल्म छिट्टै छायांकनमा जाँदैछ । झरनालाई सम्भावना बोकेकी निर्देशकको रुपमा हेरिएको छ ।

रेखा थापा

नायिका रेखा थापाले पनि फिल्म निर्देशकका रुपमा काम गरिसकेकी छिन् । हक्की र निडर स्वभावकी रेखाले ‘हिम्मतवाली’ फिल्मबाट आफ्नो निर्देशन हिम्मत प्रकट गरिन् । उनी विनायोजना नै निर्देशक बनेकी थिइन् । यस फिल्मको लगभग आधा छायांकन श्याम भट्टराईको निर्देशनमा सकिएको थियो तर रेखा र श्यामबीच मनमुटाव भएपछि श्यामलाई हटाएर रेखा आफै निर्देशक बनिन् ।

अहिले रेखा फेरि आफैं फिल्म निर्देशन गर्न अघि सरेकी छिन् । उनको निर्देशनमा ‘मालीका’ तयार भएको छ । हिम्मतवालीबाट रेखा निर्देशित फिल्मले पाएको ब्यापारिक सफलतालाई मालीकाले कायम राख्ने-नराख्ने हेर्न बाँकी छ  ।

दीपा बस्नेत

दीपा बस्नेत पनि महिला फिल्म निर्देशनमा अग्रपंक्तिमा आउने नाम हो । ओस्कार कलेज अफ फिल्म स्टडिजबाट आफ्नो स्नातक सकेकी उनले पहिलो फिल्मको रूपमा ‘अन्तराल’ निर्देशन गरिन् ।

त्यसपछि उनले फिल्म ‘श्री पाँच अम्बरे’ निर्देशन गरिन् । तर दुबै फिल्मको चर्चा राम्रै चले पनि खासै राम्रो व्यापार भने गर्न सकेनन् । भिडियो सम्पादनमा लामो समय अनुभव बटुलेकी उनी राम्रो भिडियो सम्पादक पनि हुन् । ​

सम्झना उप्रेती रौनियार

त्यस्तै, ‘मेघा’ सम्झना रौनियारको निर्देशनमा तयार भएको फिल्म हो । केही नेपाली फिल्ममा सहायक निर्देशकको भूमिका निर्वाह गरेकी उनले बलिउड फिल्ममा पनि सहायक निर्देशकको अनुभव बटुलिसकेकी छन् । उनले करिश्मा मानन्धरको निर्माण रहेको फिल्म ‘फागु’ पनि निर्देशन गरेकी छन् ।

समुन्द्र भट्ट

सुमुन्द्र भट्ट पनि निर्देशकका रुपमा काम गरेकी आँटिली महिला हुन् । अहिलेसम्म उनको निर्देशनमा दुई वटा फिल्म बनिसके । समुन्द्रले ‘आधापेज’ र ‘रिंगरोड’ फिल्ममा आफ्नो निर्देशन कला देखाएकी छिन् ।

रक्षासिंह राणा

रक्षासिंह राणा, नेपाली फिल्म क्षेत्रमा सम्पादका रुपमा चर्चित नाम हो । लामो समय सम्पादनमा बिताए पनि उनले निर्देशनमा हात हालिन् । ‘द गेम’ उनले निर्देशन गरेको फिल्म हो । सम्पादनबाट प्राप्त अनुभवलाई उनले एउटा एक्सनप्रधान फिल्ममा उतार्न कोसिस गरेकी थिइन् ।

पहिलोपटकमै द्वन्द्वप्रधान फिल्ममा उनले निर्देशकको भूमिका निभाउने आँट गरेर हामफालेकी थिइन् । फिल्मले गतिलो ब्यापार गरेन । त्यसपछि उनी अर्को फिल्म लिएर आएकी छैनन् ।

सावित्री खत्री

सवित्री खत्रीले पनि फिल्म निर्देशन गरेकी छिन् । उनले काफल पाक्यो नामक फिल्म निर्देशन गरेकी हुन्। तर, फिल्मल् व्यापारिक सफलता पाउँन सकेन् । त्यसपश्चात सावित्रीले कुनै पनि फिल्म निर्देशनको आट गरेकी छैनन् ।

सवनाम मुखिया

सवनाम मुखियाले फिल्म झेली निर्देशन गरिन् । फिल्मले सफलता पाएन् । फिल्मको असफलतासँगै उनी पिन गुमनाम भइन् । उनी अहिले फिल्म क्षेत्रमा उत्ति सकृय छैनन्।

निलु डोमा शेर्पा

निलु डोमा शेर्पाले पनि फिल्म ‘हाउ फन्नी’ निर्देशन गरेकी थिइन् । तर निलुको हृदयघातको कारण मृत्यु भइसकेको छ । निलुले एउटै फिल्म निर्देशन गरेर भए पनि आफुलाई निर्देशकको रुपमा चिनाउन सफल भएकी थिइन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?