Friday January 22, 2021

छोटो मिठो मेरो बिचार : मेरो पकाउने पालो

१० मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1761


छोटो मिठो मेरो बिचार : मेरो पकाउने पालो

उमेश रेग्मी।

आज उनले मलाइ पकाउन भनिन। "संधै उनले मात्र पकाउन पर्ने अरे ! उनि पनि अफिस बाट फर्किंदा थाकेको हुन्छिन अरे। घरको काम गर्ने दाइत्व उनको मात्र हैन अरे।  खाना पकाउ, लुगा धोउ, सरसफाई गर अनि अरु के के हो के के गर्दा गर्दा दिक्क भै सकिन अरे।" उनको कुरा सुनेर एकछिन त झोक चलेको थियो तर पछि सोचे ठिकै त हो। उनको दिनको सुरुवात पनि मेरो जस्तै हुन्छ - अफिस जाने देखि घर आउने सम्म। फेरी घरको काम गर्नु पर्छ। लाग्यो कहिले काही सहयोगको आशा गर्नु बेठिक होइन।

मैले पकाउने निश्चय गरे।

पहिलो प्रश्न, के पकाउने ? धेरैबेर घोत्लिए पछि पनि दिमागमा उत्तर आएन। कहिले केहि पकाएको भए पो ! आफैलाई धिक्कार्न थाले। पुरुष प्रधान समाजको एउटा अर्को पुरुष भन्दा के फरक रहेछुर ! 'तर हैन म फरक हुनुपर्छ' भन्ने सोचले मलाइ केहि न केहि गरि श्रीमतीको नजरमा अरु श्रीमानहरु भन्दा भिन्न हुन मन लागिरहेको थियो।

पकाउने सुरसार गर्न थाले। भान्छा सफा राख्नु पर्छ भन्ने सुनेको सानै देखि, पकाउनु भन्दा पहिले भान्छा सफा गर्न थाले। कुचो लगाई, पुछपाछ गरेर सिध्धाये। के पकाउने भन्ने कुरा दिमागमा अझै पनि अल्मलिरहेको थियो। भात, दाल, तरकारी त संधै खाएको, केहि भिन्न बनाएर उनको अगाडी आफ्नो फुर्ति बढाउन पाए हुन्थ्यो भन्ने बिचारले 'के पकाउने ?' भन्ने प्रश्न सोचे भन्दा जटिल अनुभव भैरहेथ्यो।

बजारबाट केहि किनी ल्याएर आफैले पकाएको भनु कि भन्ने सोच नआएको पनि हैन। तर थाहा पाइन भने अर्को उपद्रो होला भनेर त्यो सोचलाई त्यहि नै बिश्राम लगाईदिए।

मेरो अन्योलको बिचमा छोरी नाक खुम्च्याउँदै आइपुगी "बाबाले पकाउने? मलाइ त भोकै लागेको छैन आज, म त नखाने।" मेरो लागि अझै बढी चुनौती भएझैँ लाग्यो। मनमनै सोचे 'यस्तो पकाउँछु कि अब देखि बाबाले पकाएको मात्रै खान्छु भन्न परोस।' घुमाइ फिराइ कुरा त त्यहि आएर अट्क्यो 'के पकाउने?' पकाउन नआउनु पनि अभिशाप नै रहेछ। गाली गर्न थाले आफैलाई।

अन्त्यमा निश्चय गरे, पहिलो चोटी दाल, भात र तरकारी नै पकाउन पर्यो। बिस्तार बिस्तार अरु कुरा सिक्दै जाउला।

उनले खाना बनाउने बेलामा मैले कति सहयोग गरिदिन्थे तर मेरो पालोमा चाही कोहि पनि भान्छा नछिर्दा रिसको पारो चाही बढिरहेको थियो।

अनेकौ सोच, रिस, र अन्योलको बीच मैले चामल भिजाए। बास्तबमै मैले पकाउन सुरु गरे। वाह ! आफैदेखि गर्वित अनुभव भैरहेथ्यो। प्रेसर कुकरमा दाल बसाले र तरकारी बनाउनलाइ आलु काट्न थाले। प्राय भान्छा बाट कराउने श्रीमती आज कोठाबाट सोध्दैथिइन् "तरकारी के बनाउने ?" मेरो उत्तर बिचमै अट्क्यो "आलु र ...." हो त नि, आलु र के ? फेरी अल्मलिन थाले म। त्यतिनै बेला प्रेसर कुकरले सिठी लगायो, उता भात बसालेको भाँडोमा पानी उम्लिन थाल्यो। कता हेर्नु के लाइ सम्हाल्नु ? उनले पकाउँदा त यस्तो गाह्रो होला जस्तै लाग्दैनथ्यो तर मलाइ सबै बिपरित महसुश भैरहेथ्यो।

जसोतसो भात र दाल तपकाएर सिध्धाये। अब आयो तरकारीको पालो। स्व. भैरब अर्यालको 'आलु' निबन्ध याद आयो - आलु त जे मा नि मिल्छ। उनको लेखाइको अर्थ अरु नै भएपनि यतिखेर मलाइ चाही सजिलो भयो आलु को साथी खोज्न। संगै राखेको प्याज काट्न थाले। प्याज काट्दा आँखा पोल्छ भन्थे तर अनुभव चाही थिएन। हे भगवान ! कस्तो गज्जब हुँदो रहेछ। बलिन्द्र धारा आँशु झार्दै प्याज काट्ने काम पनि सकियो। आलु र प्याजको तरकारी जेनतेन बनाइयो। उनीलाई खान आउ भनेर बोलाउनु भन्दा अगाडी कस्तो बनेछ भन्ने उत्सुकताले सबै कुरा चाख्न थाले।

'छि !' भन्न पनि सकिन आफैले पकाएको तर खान पनि सकिन।

मेरो दुइ घण्टा लामो भान्छाको समय ब्यर्थ गएको पिडा अब कसलाई सुनाउनु अनि उनलाई के खुवाउनु ?

मेरो प्रश्नको उत्तर कसै संग छ कि !

 




मतहरू

?????????????????

Gift Pick Price ?????????????

?????????

Home Style ???????


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?