२ पुष, २०७७
उमेश रेग्मी, लण्डन।
स्व. भैरब अर्यालको 'चरिचुच्चे च' पढेर बसिरहेको थिए, त्यतिनै बेला बालखकालमा चुच्चे भनेर बोलाउने गरेको साथीले फोन गर्यो, "यो चोथाले ले हैरान पारिसकी साथी। केहि उपाय बताउन यसको सेखी झार्न पर्यो।" उसको कुरा सुनेर एक छिन छक्क परे म। प्रेम बिबाह गरेका उनीहरुले। केहि बर्षको अन्तरालमै मेरो साथीले आफ्नी श्रीमतीको सेखी झार्ने कुरा गर्छ। बुझ्नै गाह्रो थियो मलाइ। फोनको अर्को पट्टि मेरो चुच्चे साथी आफ्नी श्रीमतीको चुक्ली लाउन ब्यस्त थियो "यो चोथालेको छुच्चो बानीले म कसैको अगाडी मुख देखाउन नसक्ने भै सके। जेगरे पनि यसलाई चित्त बुझ्दैन। संधै म नै नराम्रो, कति सहनु। कुचुक्क परेको अनुहारलाई घोचोले घुचुक्क पारिदिउ जस्तै हुन्छ मलाइ।" उसको कुरा सुन्दा हिजो मात्र भेटेको अर्को साथीको याद आयो। उसले पनि भन्थ्यो "हेर मित्र स्वास्नीको कचकचले गर्दा घर नै जान मन लाग्दैन। बिहे अघिको अप्सरा अहिले त किचकण्डी जस्तो लाग्न थाली सक्यो।" ओ हो ! कस्तो कुरो दुवै मित्रको। लगभग उस्तै। सबैका श्रीमती त यस्ता छैनन् होला पक्कै पनि ! मलाइ उनीहरुको जस्तो अनुभव त हुन दिएकी छैनन् मेरी श्रीमतीले भन्दै मनमनै सन्तोषको सास फेरे।
त्यतिनैबेला पल्लो घरको फुच्चे टुप्लुक्क देखा पर्यो, "दाइ के सोचेर बसिरहनु भएको ?"
"श्रीमती पिडितहरुको कथा सुनेर बसिरहेको नि" मेरो उत्तर सुन्ने बित्तिकै उ पनि निकै उत्तेजित भावमा बोल्न थाल्यो "हो नि दाइ यि श्रीमतीहरु बिहे गर्नु अघिमात्र ठिक। बिहे पछि के को श्रीमती हुनु ? रुपै फेर्छन। म लुच्चो रे। ल भयो अब, उसका कुरा मानेन कि त म छुच्चो, लुच्चो, किचकिचे सबै हुने अनि मेरो कुराको चाही कुनै मतलब छैन। यि आइमाईहरुको चोथाले प्रबिती जे गरे पनि जादो रैनछ दाइ।" मैले एक जना अर्को फेला पारिसकेको थिए श्रीमती पिडित समुहमा। फुच्चे आफ्नै तालमा बोल्दै थियो "पोहोर साल हाम्रै गाउँको साइलो सुइकुच्चा ठोकेको बिर्सनु भयो दाइ ? उ पनि आफ्नी स्वास्नीको घोच्का पेच्काबाट आजित भाको थियो रे।"
म घोत्लिन बाध्य भए "के सबै पुरुषहरु श्रीमती पिडित हुन् त ?" उत्तरको खोजीमा अर्को एउटा मित्रलाई फोन घुमाए। मलाइ विश्वास थियो यो साथी चाही श्रीमती पिडित समुहमा छैन भन्ने कुरामा।
"साथी तिम्रो र भाउजुको बिचमा समझदारी राम्रै छ होला नि। भाउजुले तिमीलाई औधि माया गर्नु हुन्छ। तिमि त साह्रै भाग्यमानी।" मेरो कुरा बिचैमा काट्दै उसले जवाफ दियो "साथी खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ। बाहिर हेर्दा त समझदारी भए जस्तो देखिन्छ तर बन्द कोठामा रणचण्डीको नाच कसले देख्छ र !" मलाई गाह्रो भैसकेको थियो, श्रीमती पिडितहरुको संख्या बढ्दै गइरहेको देखेर। कतै आफु पनि त्यहि समुहको अर्को एउटा सदस्य त हैन भन्ने त्रास मनमा नजानिदो प्रकारले घर गर्दै थियो।
"चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी" भन्ने उखान झैँ बिहे गर्दा रमाइलो भन्ने ठानेर कतै छुच्ची र लुच्चीको कचकच जिन्दगी भर सुन्नु पर्ने त हैन भन्ने शंकाले बिहे नै नगरी बसेको अर्को एक मित्रको रायपनि सुन्न मन लागेर उसलाई फोन घुमाए, "हैन गुरु (म उसलाई यसरि नै सम्बोधन गर्छु) तिमी बिहे नगरी बस्नु को कारण श्रीमती पिडा नै हो त ?"
अचानक मेरो यस्तो प्रश्नले झस्काएथ्यो उसलाई, "हो नि गुरु (उ पनि मलाइ गुरु भन्छ) कसले यिनीहरुको खटन पटन सहेर बसोस। सियोले घोच्दा दुख्दैन बरु, तर यिनको घोचाई त जिन्दगी भर निको हुँदैन। म त एक्लो जिवन बिन्दाश मोज गरेर बिताई रहेछु।" वाह ! कस्तो रमाइलो भन्न मन लागेको थियो तर के गर्नु आफु एक्लो परिन अनि 'उनको' सामिप्यमा यस्तो भन्ने साहस पनि भएन।
अन्तत यस्तो लाग्यो बिहे पश्चात सबै पुरुष श्रीमती पिडित नै हुँदा रहेछन। फरक केवल समय मात्र रहेछ। कोहि छिटो त कोहि ढिलो।
अस्तु
Laboratory Analyzer
???????????????? Laboratory Analyzer