Friday January 22, 2021

छोटो मिठो मेरो बिचार : हवाइ जहाजको यात्रा

१ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 1130


छोटो मिठो मेरो बिचार : हवाइ जहाजको यात्रा

उमेश रेग्मी।

करिब दुइ महिना अगाडी गजबको मौका मिल्यो मलाई। अफिसको कामले सिंगापुर जान पाउने भए एक हप्ताको लागि। लगभग तिन दशक देखि सुन्दै आएको शहरको नाम सिंगापुर स्वयं जान पाउने निश्चित भए देखि नै मन प्रफुल्लित थियो मेरो। म भन्दा पनि खुशी थिइन श्रीमतीजी। भुइमा खुट्टो थिएन उनको। आफ्ना संगिनीहरुसंग मेरो सिंगापुर जाने कुरा गर्नु उनको दैनिकी झैँ बनिसकेको थियो।  आफु जान नपाउदा पनि यत्रो बिघ्न खुशी हुने मेरी श्रीमती स्वयं आफु जाने भए देखि के पो गर्थी होलिन। सोच्दा खेरि नै पनि गजबको अनुभूति हुन्छ।

मेरो लागि सिंगापुर अफिसको कारणले भन्दा पनि अन्य कारणले महत्वपूर्ण प्रतित भै रहेको थियो। तिन दशक अगाडी हाम्रो शहर पनि सिंगापुर जस्तै बन्छ भनेर ठोकुवा गरेका थिए नेताहरुले। मलाई हेर्नु पनि थियो हाम्रो काठमाडौँ तेस्तै भयो कि भएन भनेर। अन्तत मेरो यो कौतुहलता केहि दिनमै मेटिदै थियो, म उत्साहित भैरहेथे। खुशी सोचे भन्दा बढी अनुभव गरि रहेथे। फेरी अर्को कुरा,जिन्दगीमा पहिलो चोटी हवाइ जहाज चढ्ने सौभाग्य मिल्दै थियो। अफिसमा एक तह बढुवा पाउने बित्तिकै आएको सिंगापुर यात्राले परिवारमा लेराएको खुशी बर्णन लायक बनेको थियो।

दिनहरु गन्दा गन्दै जाने दिन पनि आयो। श्रीमतीले साइतको टिका लगाई दिइन। छोरीको हातबाट खादा र माला पहिरिए। एअरपोर्ट जानलाई ट्याक्सी अगाडी आइपुगी सकेथ्यो। म चढे, ट्याक्सी हुँइकियो।

अध्यागमनको औपचारिकता पुरा गरेपछि हवाइ जहाज चढ्नलाइ लाइन लागियो। मनमा एउटा अनौठो हलचल अनुभव गरि रहेथे। कतै डर थियो त कतै उत्सुकता, अनि कतै हर्ष पनि।

"वेलकम अन बोर्ड सर", एउटा अतिनै हिस्सी परेकी सुन्दरीले दुइ हात जोडेर स्वागत गरिन मलाई जहाजको ढोकामा। म स्वयंलाइ धेरै ठुलो मान्छे ठान्दै भित्र पसे। "थ्यांक यु", भन्न बिर्सिन ति सुन्दरीलाई। भित्र अर्कि सुन्दरीले मलाई बस्ने सिट सम्म पुर्याइन र मेरो झोलालाइ सुरक्षित संग सिट माथिको बक्समा थन्क्याइन। "पुट योर सिट बेल्ट अन सर", उनले के भनिन मैले बुझिन। संगै बस्ने अर्को भलादमीले सम्झाउनु भयो। पहिलो चोटीको हवाइ यात्राको अनुभव समेट्न थाले मैले।

तिनै सुन्दरी फेरी आइन मेरो अगाडी, "हट टावल सर" भन्दै। उनले दिएको तातो कपडा हात मुख पुछ्नलाइ रहेछ,मलाई के थाहा ? निकै बेर कुर्नु परेथ्यो मैले त्यो कुरा पत्ता लगाउन। तिनै संगै बस्ने भलादमीले प्रयोग गरेपछि मलाई ज्ञान भएथ्यो। घरि घरि नजिक आइरहने र आँखा जुध्नासाथ मुस्काउने ति सुन्दरी देखेर आफु बेकाबू भैरहेको भान स्वयंलाइ हुन थालीसकेको थियो। उनि अगाडी उभिइ रहेनि हुन्थ्यो भनेझैँ भयो मलाई जहाज चढेको आधा घण्टा नबित्दै। मनमनै सोचे श्रीमती नआएको पनि एक हिसावले ठिकै भयो। साथमा उनि भएको भए यस्तो आँखा लडाई कहाँ गर्न पाउंथे र।

संगै बसेको भलादमी लगायत सबै यात्रुहरु आफ्नो अगाडीको 'एल सी डी' मा विभिन्न प्रकारको मनोरन्जनमा ब्यस्त हुन थाले तर म चाहि उनलाई कसरि आफु नजिक बोलाउने बहाना सोच्न थाले। मैले सिट माथि रहेको बटन दबाए। उनि अगाडी देखा परिन केहि छिनमै, "यस सर, हाउ क्यान आइ हेल्प यु?" उनको मन्द मुस्कान अनि मधुर स्वरमा आएको प्रश्न मलाइ एउटा सुमधुर गीत झैँ भान भयो जुन सुनिरहन मन लाग्छ संधै। "वाटर प्लिज" मैले पानी मागे। त्यतिकै मागे वा उनि देखेपछि साच्चै मेरो मुख सुक्यो थाहा भएन। 

केहि समयको अन्तराल पछि एउटा ठुलो ट्रली गुडाउदै आइन उनि। "व्हाट उड यु लाइक सर ? भेजिटेरिअन अर चिकन ?" उनि खाना बाड्दै रहिछिन। मोरीले आफ्नै हातले खुवाईदिए हुन्थ्यो नि। मनमा खयाली पुलाउ पाक्न थाल्यो। "सर एनी ड्रिंक्स?" उसको अर्को प्रश्नले झस्कायो मलाई। "गिव मि भेजिटेरिअन एण्ड ए ग्लास अफ रेड वाइन" मैले "थ्यांक यु" भन्दै खाना समाते। 

ति सुन्दरी संग आँखा जुध्दाजुध्दै जहाजको सफर सकिनै लागेछ। क्याप्टेनले फेरी सिट बेल्ट बाध्नु अब जहाज ल्याण्ड गर्ने बेला भयो भन्ने जानकारी दिए। म बिचलित भए सुन्दरी संगको बिछोडको कल्पना मात्रले पनि। सिंगापुर हेर्ने उत्सुकता कता कता हराइसकेको भान हुन्थ्यो। अफिसको काम त बिर्सिसकेको थिए त्यतिखेर सम्म। के थियो त्यो आँखामा अनि कस्तो त्यो आकर्षण हो उनको मुहारको म उनि प्रति खिचिदै गैरहेको थिए।

तर अफसोस, यि सबको वावजुद जहाजले सिंगापुरको जमिन छोयो। उनि जहाजको ढोकामा दुइ हात जोड्दै सबैलाई बिदाइ गरिरहेको थिइन्, "थ्यांक यु फर फ़्लाइङ्ग विथ अस, ह्याभ ए प्लिजाण्ट स्टे इन सिंगापुर"। मैले केहि बोल्न सकिन। कृतिम हाँसो थियो मेरो अनुहारमा। मलाई नारायण गोपालको गीत याद आयो "मुटु माथि ढुंगा राखी हास्नु परया छ"।

अन्तत, मैले सिंगापुरमा पाइला टेके। मन भारि नै थियो तर त्यहाको चमक धमकले सुरुका मेरा उत्सुकताहरु पुनर्जिबित हुन थाले।

"काठमाडौँ रुपी कुवामा रहेछु म त" संसार त काठमाडौँ मात्र होइन रहेछ। 'कुवाको भ्यागुतो' को कथन साचो झैँ प्रतित लाग्न थाल्यो सिंगापुरको सडकहरुमा हिड्दा। पहिलो चोटी जन्मथलो छोडेको मैले त्यति खेर महसुस गरे सिंगापुरको सडक र काठमाडौँको सडकको भिन्नता। नेताहरुको सिंगापुर बनाउने कुरा एउटा सस्तो चुनाबी नारा बाहेक अरु केहि होइन रहेछ भन्ने कुरा यकिन भयो।

कस्तो ठाउमा जन्मिएछु म ? कस्तो ठाउमा हुर्किएछु म ? आफ्नो भाग्यलाई दोष दिउ वा नेताहरुलाई सरापौ ! झुठै झुठले तहस नहस भै सकेको हाम्रो देश साच्चै नै सिंगापुर झैँ कहिले हुन्छ होला ? यो प्रश्नको उत्तर खोज्दैछु म आजसम्म।

अस्तु।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?