२ फाल्गुन, २०७७
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतलाई कर्मथलो बनाउंदै आएका सफल व्यवसायी एवं समाजसेवी विष्णु खरेलद्वारा अभिनित ‘मनको व्यथा’ बोलको गीतमा बनाइएको म्यूजिक भिडियो "भ्यालेन्टाइन डे" को अवसर पारेर सार्वजनिक भएको छ। "भ्यालेन्टाइन डे" को पूर्वसन्ध्या फेब्रुअरी १३ का दिन गायक पवन गिरीको युट्यूब च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियोमा विष्णु खरेललाई चर्चित अभिनेत्री सुरक्षा पन्तले साथ दिएकी छन्। प्रतिक ढुंगेलको सम्पादन तथा राज पोखरेलको छायांकन रहेको म्यूजिक भिडियो निर्देशन रिजोन थापाले गरेका छन। फिल्म मेकिङ अध्ययन गरेका रिजोनको यो ‘डेब्यू’ निर्देशन हो। गायक पवन गिरीको स्वर,शब्द तथा कम्पोज रहेको उक्त गीतको संगीत संयोजन विशाल क्षेत्रीले गरेका छन्।
काठमाण्डौंमा छायांकन गरिएको यो म्युजिक भिडियो ‘स्लो रक’ शैलीको वियोगान्त ‘मनको व्यथा’ हो। खरेलले केही महिना अघि बेलायतका राजदूत डा दुर्गाबहादुर सुवेदीले लेखेको ‘अधर’ बोलको गीतमा पनि बेलायतमै बनाइएको म्यूजिक भिडियोबाट अभिनय शुरु गरेका थिए।
मनको ब्यथा भिडियो सार्वजनिक भएलगत्तै दर्शक तथा स्रोताहरुबाट राम्रो प्रतिक्रिया पाएको खरेलले जानकारी दिएका छन्। ‘नेपालको व्यवसायिक टिम र लोकप्रिय कलाकारहरुसंग अभिनय गर्न पाउंदा म गौरवान्वित छु’, खरेलले भने। ‘यसले मलाई भविष्यमा यही क्षेत्रमा थप समय दिन उर्जा मिलेको छ ।’
खरेलका साथ अभिनय गरेकी अभिनेत्री सुरक्षा पन्त सफल नेपाली चलचित्र ‘आमा’ की नायिका हुन्। उनले अन्य कयौं चलचित्र र म्यूजिक भिडियोबाट ख्याति कमाइ सकेकी छन्।
‘मनको व्यथा’ म्यूजिक भिडियो-