Sunday April 11, 2021

साहित्य सिर्जना र साधनाकी अग्रिणी नारी हस्ताक्षर हिन्दमैञा वैद्य

१३ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1410



सुरेशजङ्ग शाह         
 लण्डन।
                                                                          
सन्दर्भले नारी दिवश आउन लागेको र भागिरथी हत्या प्रकरण चर्चामा रहेको यस समयमा माया ममाता र सौन्दर्यकी प्रतिमूर्ति जगतकी जननी समस्त नारी पर्ति सम्मान् समर्पणका लागि प्रतिनिधि नारी चिनारी स्वरूप यस नारी दिवसका अवसरमा बेलायत स्थित अग्रिणी नारी सर्जक वरिष्ठ कवयित्री हिन्दमैञा वैद्य र उनको कृति "नारी" कवितासङ्ग्रह पुस्तक भित्रबाट सान्दर्भिक केही कविताका अंशहरू यहाँ उद्यृत गरेर लेखन आरम्भ गर्दै समस्त नारीहरूमा नारी दिवशको शुभकामना !

 

...
कुनै प्रेमी या प्रेमिकाको
उपहार बनी
धेरै दिन सजाइने हुँ कि ?
अनि सुकेर झरेर पनि
बार बार चुँडिने हुँ कि !
के थाहा
केही दिन फूलदानमा राखी
अनि फ्याँकिने हुँ कि ?

...

यी माथिका अंशहरू वरिष्ठ कवयित्री हिन्दमैञा वैद्यको नारी कवितासङ्ग्रह भित्रको 'फूल' कविताबाट एउटा अंश उद्यृत गरिएको हो। यस कवितामा कवयित्री वैद्यले 'फूल' भित्र नारीलाई उभ्यएकी छन् । फूल जस्तै कोमल हृदय र फूल जस्तै सौन्दर्यकी धनी नारीहरूको अस्मिता कति असुरछित छ दुष्ट आँखाहरूमा ! निर्मला र भागिरथीहरू जस्ता दुखद् घटनाहरू कति चोटी दोहोरिने हुन् भन्ने एउटा सन्देह कवयित्री वैद्यले पोखेकी छन्। नारी अस्मिताको प्रश्न उठाएकी छन्। सरल शब्दावलीमा गहन साहित्य बोकेका कवयित्री वैद्यका कविता मीठा र सुवोध छन्। समाजलाई सकारात्मक सोच तर्फ उन्मुख गराउन उभिएका छन् । यस्तै नारी कविता सङ्ग्रह भित्रैबाट एउटा अर्को  'मन' कविता को एउटा अंश उद्यृत गरौँ :
. . .
गल्तीलाई जितेर
कलिलो मनलाई
रूवाउने होइन
असल मनले असलै सल्लाह दिन्छ
मन प्रफुल्ल भए, स्वर्ग बन्छ
मन टुक्रिए, पैरो जान सक्छ !

. . .

आधुनिकताको काँचुलिमा कलिला युवा युवतीहरूलाई नबरालिन सुझाव दिएकी छन् कवयित्री वैद्यले यी कविताका पङ्क्तिहरूमा। गलतबाटोतिर नजान आग्रह गरेकी छन्। सँधै खुसी रहन सहि मार्ग रोजेर जीवन सुखी बनाउन प्रेरित गरेकी छन्। टुक्रिएर नझर्न सरल शैलीमा सुझाएकी छन्। नारीको जीवन फूलसरि कोमल र सौन्दर्यमयी छ ! वस केवल दुष्ट नजरहरू सच्चिनु पर्छ कवयित्री वैद्यको माग रहेको छ।

यस्तै अर्को 'नारी' कवितासङ्ग्रह भित्रकै 'आमा' शिर्षकको कवितामा कवयित्री वैद्य आमाको महत्त्व यसरी दर्शाउँछिन् :
. . .
मेरो मुटू भरि तिम्रै रगत छ
आमा तिमी विना
म अलपत्र छु
सूर्यको किरणमा पनि म विलिन छु
बतासमा उडेको धुलो जस्तै

. . .

नारी विना सृष्टीको परिकल्पना गर्न सकिदैन। नारी आफै सिङ्गो घर हुन्। जीवनको पूर्णता हुन्। परिवारको पूर्णता हुन्। सम्वन्धको पूर्णता हुन्। शिष्टाचारको पाठशाला हुन्। आदर्श,नैतिकता, सहनशीलता, सुख, खुसी, त्यौहार,चाडपर्व,समस्त उत्सव र सुखान्त जीवनको सिङ्गो जीवन नै नारी हुन्। "आमा" कवितामा कवयित्री हिन्दमैञा वैद्यले यही यतार्थ जिकिर गरेकी छन्।

चटनीको स्वाद जस्तै स्वादिला कविताहरूको सङ्ग्रह 'नारी' कविता सङ्ग्रह भित्र भूमिकामा वरिष्ठ साहित्यकार कविवर स्वर्गिय कृष्णचन्द्रसिंह प्रधान लेख्नुहुन्छ 'नारीमा बिम्बित नारीलाई जीवनको प्रतीकसरि अर्थ्याएर उसलाई सार्थकताकेन्द्री सम्झिएको छ। यो हिन्दू नारी कञ्चन छ, स्वच्छ र त्यागमयी। यही आदर्शरूपको महिमा अन्तर्गत तिनका रूपहरू अनेक शिर्षकमा विवरणित छ। नारी महात्म्य सम्झेर यसलाई हेर्नेहरू हुन सक्छन् तर म प्रतिष्ठा मानेर लिइरहेको छु।... विदेशमा रहेर पनि आफ्नो मातृभाषा र राष्ट्रभाषा दुवै भाषा प्रति समान स्नेह राखी कविता जस्तो सृजनकार्यमा तल्लीन हुने हिन्दमैञा वैद्यको नारीत्व र मातृत्वभाव कविताको सर्वोत्तम गुण लाग्यो।
         
बेलायतमा नेपाली साहित्यमा सशक्त कलम चलाउने अग्रणी नारी हस्ताक्षर वरिष्ठ कवयित्री हिन्दमैञा वैद्यको ४० वटा कविताहरूको सङ्कलन 'नारी' कवितासङ्ग्रह भित्र कवयित्री वैद्यको कलम सशक्त रहेको छ। मेरो हातमा कवयित्री वैद्यका अरू दुई अङ्ग्रेजी भाषाका कवितासङ्ग्रहका पुस्तकहरू 'इन्डलेस् लभ' कवितासङ्ग्रह र 'स्याडो' कवितासङ्ग्रह आइपुगेका छन्, अध्ययन पश्चात समिक्षा पठाकवर्गहरूमा कुनैबेला पेश गर्ने छु।

बेलायतमा सन् १९९२ मा म लगायतका साथीहरूले सगरमाथा पत्रिका प्राकशन गर्दा पत्रिका भित्रको साहित्य स्तम्भमा नियमितरूपले आफ्ना सिर्जनाहरू उपलब्ध गराउन नारी स्रष्टा कवयित्री हिन्दमैञा वैद्य कहिल्ये पछि परिनन्। पछि म यती पत्रको सम्पादक हुँदा उनका कविताहरू यती पत्रको साहित्य स्तम्भमा पनि कहिल्यै छुटेनन्। सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूकेको स्थापना पश्चात परिषद्का नियमित साहित्यिक कार्यक्रमहरूमा आफ्ना कविता वाचन गर्न न्युह्विटिङ्टन, चेस्टरसायर, डर्विसाएरबाट आफ्ना कविताहरू बोकेर निकै उत्साहसाथ नेपाली राजदूतावास लन्डनमा टुप्लुक्क आइपुग्थिन् कवयित्री हिन्दमैञा वैद्य। उतिखेर नेपाली साहित्य विकास परिषद्का सबै साहित्यिक कार्यक्रमहरू नेपाली राजदूतावसमा नै हुने गर्थे। उ बेलादेखि परिषद्को नियमित प्रकाशन लालीगुराँस साहित्यिक पत्रिकामा कवयित्री वैद्यका कविताहरू हालसम्म कहिल्ये छुटेका छैनन् ।

बेलायतमा नेपाली साहित्यको संरक्षण,संवर्धन र सम्वृद्धिमा संस्थागतरूपले वा सिर्जनात्मकरूपले नारी सर्जकहरूको पनि नेतृत्वगत योगदान गहन र उत्साहवर्धकरूपमा रहेको छ र आफ्नो इतिहास कायम गर्न सफल भएका छन्। यस क्रममा बेलायतमा नेपाली परिकाकार, नेपाली संस्कार,चाडपर्व,धार्मिक एबम् प्राकृतिक सौन्दर्य आदि विषय वस्तुमा आफ्ना सिर्जनाहरूका पुस्तकहरू नेपाली भाषा,नेपाल भाषा र अङ्ग्रेजी भाषा गरी तीन भाषामा प्रकाशन गरी साहित्य सिर्जनाद्वारा नेपाली पहिचानलाई फराकिलो बनाउने र साहित्यिक गतिविधिहरूमा सक्रियरूपले लागी पर्ने नेपाली नारी सर्जकहरूमा नेपाली साहित्य विकास परिषद्की संस्थापनाकाल देखिकी आजीवन सदस्य वरिष्ठ कवयित्री हिन्दमैञा वैद्यको नाम बेलायतमा रहेका नारी सर्जकहरूमा सबै भन्दा पहिले  लिनु पर्ने हुन्छ। वरिष्ठ कवयित्री वैद्य सन् १९७७ मा बेलायत आउनु अघि नेपालमा कन्या निकेतन हाइस्कुल मंगल बजार, ललितपुरमा ९ कक्षामा पढ्दा खेरी नै स्कुलबाट 'किरण' हस्त लिखित साहित्यक पत्रिका संपादन र प्रकाशन गर्ने गर्थिन् र यसका साथै आफूले लेखेका नेपाली भाषा र नेपाल भाषाका कविताहरूका पहिलो स्रोता आफ्ना मामा नेपालका शिखर साहित्यकार वरिष्ठ कविवर केदारमान वेथितले सुनिसके पछि केही सच्याउनु पर्ने भए सच्याएर  नेपाल भाषा प्रकाशन परिषदबाट प्रकाशित हुने पत्रिकामा प्रकाशित गरिदिने गरेका थिए। यस प्रकार बाल्यकाल देखि नै कविवर केदारमान वेथितबाट प्रशिक्षित कवयित्री हिन्दमैञा वैद्यका नेपाल भाषाको कविता सङ्ग्रह 'मतिनाया स्वाँफो'(ममताको फूल) पुस्तक उतिबेला नै प्रकाशित भइसकेको थियो र बेलायत आएपछि पनि उनको साहित्य लेखन रोकिएन र बेलायतबाट नेपाली भाषा, नेपाल भाषा र अङ्ग्रेजी भाषाका नेपाली पाक शिक्षा र कवितासङ्ग्रह गरी अरू पाँचवटा पुस्तकहरू प्रकाशित गरेकी छन्। नेपाली साहित्य विकास परिषद्को संस्थापनाकाल देखि नै आजीवन सदस्य रहेर संगठनात्मकरूपले र सिर्जनात्मकरूपले गहन नेपाली साहित्यको सम्वृद्धिमा योगदान पु-याउँदै  आएकी छन्। बेलायतमा मौलिक साहित्यिक कृति प्रकाशन गर्ने नेपाली नारी सर्जकहरूमा पहिलो नारी स्रष्टा वरिष्ठ कवयित्री हिन्दमैञा वैद्य नै हुन्। यो इतिहास कवियित्रीले आफ्ना सिर्जना र साधनाले निर्माण गरेकी छन्।

सन् १९७७ मा बेलायत आएपछि पेशा र अध्ययनले बृक्षविज्ञ (Botanist ) भएपनि आफ्ना श्रीमान डा.त्रिभूवन नन्द वैद्य (Dr.Tribhuban Nanda Vaidhya) बेलायतमा डाक्टर पेसामा हुनुभएकाले  सन् १९८५ मा बेलायतमा स्थापना भएको नेपाली डाक्टर एसोसिएनको प्रकाशन तर्फको जिम्मेवारी बोकेर नियमितरूपमा सोभेनियर पत्रिका प्रकाशन गर्दै आएकी कवयित्री वैद्य उक्त नेपाली डाक्टर एसोसिएसन युकेबाट कृति प्रकाशन कार्यका लागि पुरस्कृत र सम्मानित भएकी छन् भने सन् १९९४ मा हामीले सगरमाथा टाइम्स पत्रिकाबाट आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएर स्वर्ण पदक पुरस्कारबाट सम्मानित कवयित्री हिन्दमैञा वैद्य सन् १९९५ मा अनेसास अमेरिकाबाट आयोजित कविता प्रतियोगितामा पनि प्रथम भएर प्रथम पुरस्कारबाट सम्मानित भएकी छन्। नेपाली साहित्य विकास परिषद् यूके को संस्थापनाकाल देखि आजीवन सदस्य रहेकी कवयित्री हिन्दमैञा वैद्य परिषदकी सक्रिय सर्जक सदस्य हुन् र परिषदबाट बेलाबेलामा प्रसंशा पत्रहरूबाट सम्मानित भएकी छन्  सन् २०२० मा परिषद्को रजतमहोत्सवका अवसरमा विदेशमा रहेर नेपाली साहित्यलाई सम्वृद्ध गराउन गहन योगदान पु-याए बाफत 'साहित्य सम्मान रजतवर्ष अभिनन्दन पत्र तथा पदक' पुरस्कारबाट सम्मानित भएकी छन्।

अन्तराष्ट्रिय महिला दिवश २०२१ को सुखद उपलक्षमा यही नारी चिनारी समर्पण गर्दै समस्त नारी जगतमा हार्दिक शुभकामना
                        -0-
संस्थापक तथा पूर्वअध्यक्ष नेपाली साहित्य विकास परिषद यू के (Estd.1995), लण्डन।
प्रधान सम्पादक- लाली गुराँस साहित्यिक पत्रिका यूके (प्रकाशन आरम्भ-1996)।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?