२५ फाल्गुन, २०७७
उमेश रेग्मी,
लण्डन।
म थाकेर अफिसबाट फर्कदा
तिमी मुस्कानले स्वागत गरिदेउन
म भान्छामा तिमीलाई सघाइदिन्छु
तिमी मिठो खानेकुरा पस्कि देउन
जिन्दगीको अप्ठेरोमा म छटपटाउँदा
तिमी साहारा भएर उभिदेउन
दर्दहरुमा म रोइ रहंदा
तिमी मलम बनेर आइदेउन
छोराछोरीको पिरलोमा कति अल्मलिन्छौ
दु:ख सहने कसरि मलाइ बताइदेउन
केहि छिन तिमी पनि बिश्राम गर
परिवारको व्यथाहरु म मा बिसाइदेउन
रहरहरु त्यागी कति अरुलाई दिन्छौ
सम्झौताको कला मलाइ पनि सिकाइदेउन
आमा बनेर पाएका ति असिमित मायाहरू
केहि अंश त्यसको मलाइ पनि दिलाइदेउन
म कविताहरुमा तिम्रो तारिफ गर्छु
तिमी मेरो प्रेरणा बनिदेउन
म मायाका शब्दहरुले तिमीलाई सिंगार्छु
तिमी नवदुलहि झैँ लजाइदेउन
आफन्त र साथीभाइको रमाइलोमा
तिमी पनि संधै रमाइदेउन
खुशियाली अपार राखेर संधै
हाम्रो यो घरलाई एक मन्दिर बनाइदेउन
लहैलहैमा म कतै बहकिन्छु होला
तिमी हात थामी मेरो, सम्हाली देउन
ठिक बेठिकको दोबाटोमा म अल्मलिदा
संगै मलाइ गन्त्यब्यसम्म डोरयाइदेउन
8 March 2021.