२० चैत्र, २०७७
बिक्रम भट्टराई,
बेलायत।
०२/०४/२०२१, चैत्र २० २०७७
लण्डन। सात घण्टाको उकुसमुकुस,कता कता उत्साह अनि कतै कौतुहलता संगै २० वर्ष पहिले आजैको दिनको बिहानै जब गल्फ एयरले लण्डनको हिथ्रो एयरपोर्टको रनवेबाट आँफ्नो गतिलाई क्रमैसंग कम गर्दै दाँया लिँदै पार्किंगमा पार्क गर्यो, यात्रुहरु आफ्ना सिटबाट उठ्दै सल्याङबल्याङ गर्न थाले। केही बेरको पर्खाई पछी जब जहाज़को ढोका खुल्यो एक किसीमको आँङ नै सितलो बनाउने एक सर्को हावा जहाज़ भित्र छिर्यो। मनमा जीन्दगीले नयाँ अध्याय सुरु गरे जस्तो हुदै थियो भने फेरी अन्तरमनमा भने सबैभन्दा महत्वपूर्ण कुराबाट टाढा भएको, एक्लो अनि निरिह यस्तै यस्तै पनि थियो।
लण्डनको चिसो कम भएको रहेनछ। एयरपोर्टमा मान्छेहरुको चहलपहल देखेर छक्क परेँ। कोही हातमा चिया कफी लिएर दौडदै त कोही हिड्दा हिड्दै साण्डविच चबाउदै,कसैलाई रेल समाउन हतार त कोही बस,अनि कोही प्लेन चड्न हतारमा थिए क्यार, कति व्यस्त हरेक मान्छे! तर कोही पनि बिना काममा दौडेको जस्तै नलाग्ने। साहेद यही होला दौड़ जीन्दगी को, जसमा मपनि एक प्रतिस्पर्धी जो हुनु थियो। मपनि आँफ्नै दौड़मा थिएँ, आँफैसंग प्रतिस्पर्धा गर्दै थिएँ किनकी एक्लो यो विरानो ठाऊँमा कस्लाई प्रतिद्वंद्वी मान्नु।
२० वर्ष पहिलेको त्यो चिसो बिहानी, अनेक सपनाहरु बोकेर बेलायत भित्रिएको म, त्यो बिहान संसार नै जितेको जस्तो नलागेको पनि हैन,न मामाघर,न फुपुहरुको गाँउ,न आँफ्ना कोही बेलायती लाहुरे साथीहरु न त कोही नातागोता राजदुतावासमा जागीरें,बस् हिथ्रोमा निकै बेरको अन्यौल पछी चिसोले कठाँग्रिदै खल्तीमा बोकेर आएका केही नम्वरहरुमा डायल गर्न कनिकुथी नेपालबाटै ल्याएका पौण्ड क्वाईनहरु हातमा लिएर टेलीफोन बुथमा लागेँ। पहिलो पटक टेलिफोन बुथ प्रयोग गरेको म बबुरो लाई के थाहा त्यसमा एकपटक क्वाईन हालेर भ्वाईस मेलमा नजाँदै फ़ोन काट्नु पर्छ नत्र पुरै पैसामा चैट हुन्छ भन्ने कुरा, त्यसो त यो भ्वाईस मेल भन्नेपनि त कत्रो हाम्रो नेपाली शैक्षिक कोर्समा थियो र। केही नम्वरहरु मध्य एकजनाले फ़ोन उठाए र “आ....तो.... आ....” को संकेत पाएँ। हिजोआज पनि हिथ्रो एयरपोर्टबाट अल्डरसटमा ट्याक्सीमा आउन £५० लाग्छ, तर के गर्ने त्यो बेला गोरा ट्याक्सी ड्राईवरलाई पाँच पटक अल्डरसट भन्दा पनि नबुझेर एउटा कागजमा लेखेर दिएपछी ‘ओ.....औल्डोसोट??’ भन्यो, हो हो भन्दै टाउको हल्लाएँ, भ्याकुते ट्याक्सीको ढोका खोलीदियो र भित्र पसेर खै कुन्नी किन हो अलक्क (नचलिकन) बसेँ। ट्याक्सी सफा र टल्केको थियो। ट्याक्सीमा रेडियोमा खै अंग्रेज़ी गीत बज्दै थियो र ड्राईवर साहेद त्यसैको तालमा टाउको हल्लाउदै थियो क्यार तर म अन्धधुन्ध थिएँ। ट्याक्सी घुईकियो तर म अन्धाधुन्ध छु कता हो कता, अचानक मेरा आँखा त्यो ट्याक्सीको अगाडी पट्टी विनदास दौडीरहेको मिटरमा पर्यो जसमा तत्कालीन नेपाली विनिमय दर (£१=रु१०४थियो क्यार) अनुसार चौध सय रुपिया चैट भईसकेको थियो। अब मेरा आँखा गाड़ीको सिसाबाट बाहिर हेर्न छोडेर त्यही मीटर मै अड्कियो, मीटर जति जति दौडन्थ्यौ मेरो शरीरको जाडो ग़ायब हुदै उल्टै तापक्रम माथी जाँदै थियो । मोटरवे हुदै आयो की कस्तो बाटो हिडीयो चालै पाईन किनकी मेरा आँखा त एक तमाश ले त्यही मीटर हुदै सेकेंड सेकेंड मा नेपाली रुपियामा हिसाब किताब गर्दै रह्यो । नेपाली रुपिया पन्द्रह हज़ार जति होला £१४३ मिटरमा आएपछी ड्राईवरले मलाई र मसंगै मन नलागी नलागी आएको झोलालाई अल्डरसटको एउटा पुरानो घरको अगाडी फालीदियो।
मनमा केही रमाईलो, केही चिन्ता, केही अन्यौलता र धेरै परिवार तथा देश छोड्न परेको पिडा सहित सुरु भयो बेलायती जीन्दगी। मेरा आदार्णिय मीतज्यु ठाकुर प्रशाद गुरुङ ज्युको भनसुनमा एक जना मित्रको नेतृत्वको एउटा बंगालीको रेस्टोरेन्ट मा वैटरको लागी हप्ताको £७० मा “नीचे दुकान उपर मकान” को आधारमा खान र बस्ने जागिर तय भयो। पहिलो हप्ताको अन्तिम साँझ आईतवार बङ्गाली साहुले “तुम हिन्दी अच्छा बोल्तेहो” भनेर £१० थपेर £८० हातमा हालेको रात मैले कयौं सपनाहरु बुनेको थिएँ जुन सपनाहरुमा कहीं कतै पनि यही बेलायत मै बसिएला भन्ने थिएन। न त यसरी श्रीमती छोराछोरीलाई पनि यतै अड्काईएला भन्ने थियो। केही बर्ष बेलायत बसेर केही लाख कमाउँला, आँफ्नै गाँउठाँऊमा एउटा ‘स्वाँरों’ किनौला, अन्य साथीभाईहरु भन्दा केही फरक गरौला भन्ने नै थियो त्यो बेला। मलाई अझैपनि यही लाग्छ की साहेदै कुनै त्यस्तो नेपाली होला जो नेपालको एयरपोर्ट छोड्दै गर्दा जीन्दगीमा हरेक हिसाबले छलाङ मारेर त्यही एयरपोर्ट हुदै नेपाल फर्केको कल्पना नगरेको होस्। किनकी जति पनि परदेशीएका नेपालीहरु छन सबैलाई आँफुले गरेको प्रगति र उपलब्धिहरु आफ्ना परिवार, ईष्टमित्र तथा साथीभाईहरुलाई नभने सम्म या देखाउन नपाए सम्म त्यसको वास्तविक आनन्द आउदैन। म पनि त्यही भिड मध्य एक थिएँ।
बेलायत सपनाहरुको देश,असंख्य सम्भावनाहरुको देश,गर्न सक्ने र क्षमतावानहरुको निम्ती मौकै मौक़ाहरु भएको देश,बहुजाती,विभीन्न धर्मलाई सम्मान गर्ने देश,बहुभाषीहरुको देश,प्रजातन्त्रकी जननी,निश्चित मापदंडहरु सहितको स्वतंत्रता भएको देश। मैले यावत लिन सक्ने सुविधाहरु लिदैं गएँ, समयले दिएको निर्देशनहरु पालना गर्दै गएँ, धेरै पटक रमाएँ,धरै पटक रोएँ,कयौं पटक आँफ्नै भाग्यसंग चित्त दुखाएँ। अझ जीवन मै बिर्सन नसक्ने त पहिलो रात अल्डरसटको रेल स्टेशनको अगाडी रहेको रातो टेलीफोन बुथमा बिताएको छु। एउटा ज्यान आएको म सपरिवार भएँ। छोरी छोरा हुर्के बड़े, राम्रो पढे । आँफ्नै खुट्टामा हिड्ने क्रममा छन ।
समय परिवर्तनशील छ, जीवनपनि फेरीएको छ। म ईश्वर प्रति कृतज्ञ छु कोही नभएको ठाऊँमा आज हज़ारौ मन मिल्ने साथीभाईहरु भेटेको छु, दुःख सुख साट्ने आँफन्तहरु पाएको छु,खुट्टै समाएर ढोंग गर्ने स्तरको सम्मानयोग्य दाईहरु भाउजुहरु भेटेको छु, स्थानिय गोराहरु पनि कता कता पुरानै चिनजानका हुन की जस्तो महसूस हु थालेको छ, म बस्ने ठाउमा लगभग हरेक दश घरमा एक घर नेपालीहरुका छन, हाम्रै मन्दिर छ,गुम्वा छ,व्यवसायहरु छन,आवश्यक ठाँउहरुमा पहुँच छ,तथापि मन दोसाँधमा छ, यताकी उताको अवस्थामा छ। शरीर र कर्तव्यले हरेक साँझ बिहान झकझकाउदै केही सम्झाई रहेको जस्तो लाग्छ।
दुई दशक बेलायतको बसाईमा सायदै कुनै त्यस्तो बिहान होला जसमा उठ्ने बितिकै नेपाल फर्कने कल्पना नगरेको होस् तर पनि खै यो मिलाउछु भन्यो, त्यो मिलाउछु भन्यो, यताबाट बिट मार्छु भन्दा भन्दै अर्को पट्टी फुस्केको जस्तो हुने रहेछ, अनि त्यो दिन पनि त्यसै बित्छ..... । यस्तै छ, बस ..... सोचे झै जीन्नकी रैनछ.. ।
सबैको जय होस्।