Sunday June 20, 2021

म के लेखुँ कृतिभित्र कवि कोमल : पुस्तक विवेचना

१९ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1237


म के लेखुँ कृतिभित्र कवि कोमल : पुस्तक विवेचना

सुरेशजंग शाह।

म के लेखुँ कृतिभित्र कवि कोमल

लहरहरू चलिरन्छ
रहर पनि हुन्छ
मन पनि छुन पर्थ्यो !
आकार बदल्न बादल हुनु पर्थ्यो
खेल्न मुटुमा लुकिछिपी
पवन भएर डुल्नु पर्थ्यो !
                  (मन परेकी मायालुबाट उद्धृत)

                         'मन परेकी मायलु' कवितामा मायालुको प्रेमको स्पन्दन् आकार रहित स्पर्सको खोजी आफ्नै मनभित्र मनसँगै आग्रह गरिरहेका कवि कोमल असिमित मायाको चाहाना स्वछन्दभावमा पवनसरि लुटुमुटिन चाहन्छन् र बादलसरि गुटमुटिन चाहन्छन्। कविले प्रेममा सम्पूर्णरूपले समर्पण चाहान्छन्। स्वछन्द(Romantic) प्रेमको माग गरेका छन्। त्येही अपेक्षा गरेका छन्। त्यही गुनासो पोखेका छन्। छातिभित्र देश बोकेर हिँड्ने कवि कोमल जन्मभूमिको माटो खोस्रेर कविता लेख्छन्। समाज बोकेर कविता लेख्छन् । राष्ट्रियधारका अब्बल कविता लेख्छन्। रोमान्टिक कविता लेखनमा पनि अब्बल छन्। सिर्जनाले पुष्टी हुन्छ।

 

के लेखिन्छ कुन्नि पोस्टर भरि ?
गाउँ, बस्ती सहर लेखिएन
यतिका वर्ष बितिसक्दा पनि
राष्ट्रियता र देश देखिएन छ
पोस्टर टाँगिन्छन् , टाँसिन्छन
केरकार हुन्छन् र च्यातिन्छन्
                     (पोस्टर कविताबाट उद्धृत)

                       'पोस्टर' कवितामा कविले गाउँ बस्ती सहरहरूमा मुस्कुराहटको खोजी गरेका छन्। परिवर्तनको दर्पन पोस्टरमा होइन जमिनमा खोजेका छन्। विकासको गति नारामा होइन परिणामा खोजेका छन्। राष्ट्रियतामा ह्रास आएको देख्छन्। राष्ट्र प्रेममा निष्ठा खोजिरहेका छन्। देश जोगाउने  राष्ट्रियता र राजनीति खोजेका छन्। जनभावनामा ब्याप्त असन्तोषलाई बढो ब्यङ्ग्यात्मकशैलीले काव्यमा उतारेका छन्। उनी ब्यङ्गात्मक कविता लेखनमा पनि अब्बल छन्।
बेरोजगार पार्टीहरू मृत्यु बोकेर
काम खोज्छन् देश काट्न
पहिरन काटियो, टोपी छाँटियो
नया शिर्षकमा जातजातको डोरी बाटियो
फाँसीमा देश झुन्डाएर !
                     (चिराहरू कविताबाट उद्धृत)

                      'चिराहरू' कवितामा जातीय द्वयस पैदा गरेर देश संघियतामा जान नहुने आफ्नो अभिमत बढो मार्मिक रूपले राख्दै अपवित्र संघियताको भारले राष्टियताको विगठन भएको र देश फाँसीमा लड्किएको देख्छन्। सिङ्गो देशको अस्वभाविक भागबन्डाप्रति असन्तुष्टि पोखेकाछन्। राजनीतिक पार्टीहरू राष्ट्रिय एकता र सामाजिक सद्भाव प्रति गम्भीर नभएको देख्छन र वितृष्णा पोखेका छन्। जातजातिका नाममा राजनीति अस्वस्थ भएको र सदियौँ देखि मिलेर बसेको समाजिक सद्भाव र एकतालाई  विटुलाएको दोष पनि  थोपारेका छन्। लोकतन्त्रका पक्षपोषक कवि कोमल लोकतन्त्र देश, समाज र सभ्यता अनुकुलको ढाँचामा राष्ट्रिय मौलिक्ता अनुकुल हुन नसकेको अभिमत 'चिराहरू' कवितामा राखेका छन्। देश भक्त राष्ट्रवादी कविकोरूपमा कवि कोमल दिनको घाम झैँ आफूलाई प्रस्ट उभ्याउन सफल छन्।
घर र मान्छेहरू बोक्यो
 उसले ताराहरूलाई लग्यो
जूनलाई टोक्यो र किरण लुटेर
मात्र अँधेरो पोख्यो !
               (आतिसबाजी कविताबाट उद्धृत)

                        'आतिसबाजी' कवितामा कवि कोमलले २०७२ सालको महाभूकम्पको विनासलाई बढो मार्मिकरूपले बिम्बात्मकशैलीमा काव्यमा उतार्न सफल भएका छन्। प्रकृतिको त्यो अततायी रूप जस्ले भोगे, जस्ले देखे त्यो महाप्रलय सर्वस्वहरण नै थियो। दु:खको महाकस्ट थियो। जो नआउनु पर्ने थियो आयो गडगडाउँदै र मानव जीवनलाई तहसनहस पारेर गयो। यही महाकस्टको सटिक रूपान्तरण काव्यमा उतारेका छन्। बिम्बात्मक कविता लेखनमा पनि उनी अब्बल देखिन्छन्।
ओँठले कुन थुङ्गा चुमेर
हार लगाउने हो जीवनमा
मान शान र स्वाभिमानका पात  झरिरहेछ
 म अबुझ होस्टे हैँसेमा
टुक्राटुक्रा मुटु खोज्दैछु !
             (बिजुली दौडमा कविताबाट उद्धृत)

             'म के लेखुँ'  कृतिभित्र गरिमाका पूर्व सम्पादक नेपाली साहित्य विकास नेपाल च्याप्टरका प्रमुख सल्लाहकार संयोजक मदन पुरस्कार विजेता वरिष्ठ कवि गोपाल पराजुली आफ्नो मन्तव्यमा लेख्नुहुन्छ : ‘परिवर्तनको स्वाङमा एकथरी जिन्दावादको एकथरी मुर्दावादको नारामा हिँडे पनि यिनका कविताले मानिससित सम्वन्धको अन्त्य गर्न मान्दैनन्। कोमल बेलायत बसे पनि यिनका कविताको तरङ्गले नेपाललाई छोएकोछ। यिनका कविताहरू देशको प्रेमबाट अलग नबस्ने बयान दिन्छन् । समयले यिनलाई जहाँ पु-याए पनि यिनका कविता यिनलाई ग्लोवल भिलेजमा देखाउने निर्णय गर्छन्'।
देशको स्वाभिमान
रष्ट्रिय एकता
भौगेलिक अखण्डता
सकिन्छ सकिन्न अक्षुण राख्न ?
होसियार !
फेरि पनि मर्दैछु
मसानमा समाहित हुन !
                (खरानी कविताबाट उद्धृत)


पुस्तकभित्र आफ्नो मन्तव्यमा नेपाली साहित्य विकास परिषद् नेपाल च्यापटरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई लेख्नु हुन्छ : 'कवितामा सुनामी आए झै आउने यी कविले कवितामै आफ्नो घर बनाएका छन्। नभत्किने कवितामा आफ्नो दरो उपसिथिति दिने कोमलले कविताबाटै संवेदनाको सुरक्षा खोजेका छन्। यिनका कवितामा जीवन निलम्वित छैन। समाज, देश र समसामयिक विश्व निलम्वित छैन। संवेदनाको प्रबल वेगबाट कविता लेख्ने यिनले जमिनमा आफ्नो उपस्थिति भरपर्दो किसिमले छोडेका छन्।
माया लेख तिमी
निरन्तर म पढ्छु
साँचि छातिभित्र
तिम्रै सास फेर्छु
 कहिल्यै नहोस हार
 फूल चुम्दा खेरि
शीतझै लड्दा म
किरण बनी उठाउ तिमी !
                   (उत्सर्ग प्रेम कविताबाट उद्धृत)

                         ‘म के लेखुँ’ पुस्तक भित्र आफ्नो मन्तव्यमा नेपाली साहित्य विकास परिषद् यूके का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिँह थापा लेख्नु हुन्छ : ‘एक वाक्यमा भन्नुपर्दा कवि कोमल देश प्रेमका कविता लेख्ने सच्चा राष्ट्रवादी कवि हुन्! उनको मन मस्तिस्क राष्ट्रप्रति समर्पित छ। उनका कृतिभित्र माया प्रीतिका सिर्जनाहरू पनि छन्। रोमान्टिक कविता लेख्न पनि कोमल रुचाउँछन्'।
हिजो आज म
विभत्स बलात्कार हेर्दै
 जिन्दावाद कुल्चेर
मुर्दावाद सल्कदैछु
 रोदन क्रुन्दन चित्कार बल्झदै
मुकदर्शक भएको छु !
                  (म कविताबाट उद्धृत)

                    'म' कवितामा कवि कोमलले हाल नेपालमा बढ्दै गइरहेका बलात्कार,एसिड प्रकरण र दहेज प्रथा जस्ता नारी हिंसाबाट विक्षिप्त जनभावनाहरूको प्रतिनिधित्व गरेका छन्। निर्मलाले न्याय नपाएको प्रसङ्ग आम जनमानसलाई खट्केझै कवि कोमलको मनमा पनि गहिरो गरी खट्केको छ र काव्यमा आफ्ना मनका भाव बढो मार्मिक र व्यङ्गात्मक शैलीमा उतारेका छन्। महिला हिंसा बिरुद्ध उभिएका छन्। न्यायको माग गरेका छन्। घटनापरख कविता लेखनमा पनि कवि कोमल अब्बल रहेका छन्।
                 बेलायतमा रहनु भएका थुप्रै सर्जकहरूका थुप्रै कृतिहरू कोठामा थुप्रिरहेका छन्। पालैक्रमले पढ्दै संछिप्त समिक्षा प्रकाशमा ल्याएर सर्जकलाई सम्मान् प-याउने र पाठकहरूलाई साहित्य प्रति आर्षित गराउने नीति नेपाली साहित्य विकास परिषद् यूके को रहेको छ। त्यही संस्थागत जिम्मेदारी पुरा गर्ने क्रममा मेरो कलम चल्ने गरेको छ। प्रस्तुत पुस्तक 'म के लेखुँ' कवितासङ्ग्रह कृति पनि मेरो हातमा निकै अघि परेको थियो। पढ्ने र लेख्ने क्रममा पछि प-यो। कविता सङ्ग्रह, गीत सङ्ग्रह र गीत एलबम् आदि गरी करिव एक दर्जन बढी पुस्तकहरू प्रकाशित गरिषकेका नेपाली साहित्य विकास परिषद् यूके का अध्यक्ष वरिष्ठ कवि तथा गीतकार कोमलप्रसाद श्रेष्ठ मल्लको यो सबैभन्दा पछिल्लो कृति हो। करिव १२० पेजको 'म केलेखुँ' पुस्तकभित्र देश भक्ति, राष्ट्र प्रेम, राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आमजनजीवनका कुरा , प्रकृती पर्यावरण र माया पिरतीका ११८ वटा कविताहरू विभिन्न शिर्षकमा रहेका छन्। गहिरिएर कविता पढ्दा मनमा तरङ्ग पैदा गर्न र आँखामा सचित्र वस्तुस्थिति झल्काउन कवि कोमल सफल छन्।
            डोटीको विद्यालयबाट काठमाडौँको नेपाल ल क्याम्पस पुगिन्जेल सम्म कवि कोमलले कविको पदवी पाइसकेका थिए। थुप्रै कविता प्रतियोगिताहरूमा भाग लिएर थुप्रै पुरस्कारहरू जितिसकेका थिए। २०४६ सालको आन्दोलनमा सक्रियरूपले लागिपरेका  कवि कोमल सडक कविता आन्दोलन चलाई वरिष्ठ साहित्यकार कवि भवानी 'भिच्छु' को नेतृत्वमा काठमाडौँका गल्ली गल्लीहरूमा प्रजातन्त्रका लागि थुप्रै कविताहरू सुनाउँदै हिडेर जुजारू कविको रूपमा पनि आफूलाई स्थापित गरे। कलेज पढ्दा नेपाल ल क्याम्पसमा विद्यार्थी नेता रहे पनि भूमिका भने चोटिलो  साहित्य प्रस्तुतिमा नै स्टेजहरूमा देखिन्थो। म आफै पनि ताली बजाउने दर्शकस्रोता हुने गर्थें। हाम्रो भेटघाट भइरहन्थ्यो। म त्रि-चन्द्रको उनी ल क्याम्पससको। नजिकनजिकै पर्ने। अध्ययन पछि अधिवक्ताको रूपमा कानुनी पेशामा रहँदा राजनीति छोडेर साहित्यको बाटोमा मात्र कवि कोमलको संलग्नता रह्यो।  देशमा बहुदलीय प्रजातन्त्र पनि स्थापित भइसकेको थियो। म भने विद्यार्थी राजनीतिमा उफ्रिरहेँ। कवि कोमल निरन्तर कविता लेखिरहे र प्रतियोगिताहरूमा भाग लिइ नै रहे। कहिले रोयल नेपाल एकेडेमीबाट त किहिले विभिन्न अरू साहित्यिक संघ संस्थाहरूबाट पुरस्कार र प्रशंसापत्रहरू बटुल्दै गए। म वधाई दिदै गएँ।
यो क्रम बेलायत आएर पनि रोकिएन। उनले उत्कृष्ट काव्य कृतिका लागि NLDC Gold Medal प्रथम र प्रवासमा नेपाली भाषा साहित्यमा निरन्तर योगदान पु-याए वाफत नेपाल सरकारबाट आदिकवि भानुभक्त द्वय सताब्दी पदक र नेपाली साहित्यको देशमै अग्रिणी नेतृत्व गरिरहेको साहित्यिक संस्था  त्रिमूर्ति निकेतन नेपालबाट सताव्दी पुरूष सत्यमोहन जोशी पदकबाट पनि सम्मानित भए। नेपाली साहित्य विकास परिषद् यूकेको स्थापना कालदेखि अविछिन्नरूपमा कार्यसमितिका विभिन्न पदहरूमा रहेर विगत साढे दुई दसकभन्दा बढी समय  निरन्तन्तर नेपाली भाषा साहित्यको संमृद्धीमा गहन योगदान पु-याए वाफत विशिष्ट साहित्य सम्मान रजतवर्ष अभिनन्दन पदक पुरस्कार (NLDC - UK Silver Jubilee Special Honour Literature Award Medal) बाट पनि सम्मानित भएका छन् । यी सबै पुरस्कार र सम्मानले कवि कोमलको नेपाली भाषा साहित्य प्रतिको अथक समर्पण र अब्ल सिर्जनात्मक क्षमतको पुस्टी गरेका छन्। नेपाल देखिको हाम्रो साथ बेलायतमा पनि जोडिन पुग्यो र सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके को जन्म हुन पुग्यो र आजसम्म पनि यसै संस्थामा हामी दुबै जना लागिपरेका छौँ। अरू थुप्रै सर्जकहरू साथीहरूको सक्रिय साथ पनि रहेकोछ। नेपाल देखि लन्डन सम्म कवि कोमलको कविताको पहिलो स्रोता प्राय म नै छु। कुरो सिर्जनाको थियो बीचमा च्याम्पेटी घुमेझैँ घुम्यो तर पनि निचोडमा 'म के लेखुँ कविता संग्रह' भित्र पाठकहरू साहित्यको सागरमा आफूलाई हराएको पाउनु हुनेछ यत्ति म ढुक्कले भन्छु। कवि कोमलमा वधाई शुभकामना ! मिति: २९/०४/२०२१
                            -०-
सुरेशजङ्ग शाह
संस्थापक तथा निवर्तमान अध्यक्ष - नेपाली साहित्य विकास परिषद् यूके (स्थापित १९९५),लण्डन
प्रधान सम्पादक- लालीगुराँस साहित्यिक पत्रिका (प्रकाशन आरम्भ १९९६)


                             




मतहरू

Hind Vaidya

Great and interesting review of Anthology/book of poet Komal Malla.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?