२ जेष्ठ, २०७८
सुरेश कोईराला।
टेक्सास। गैर आवासीय नेपालीहरूको साझा संस्था एनआरएनए अमेरिकाको ‘मे’ अन्तिममा हुने निर्वाचनमा डिलु पराजुलीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ। एनआरएनए अमेरिकालाई विशुद्ध सामाजिक संस्था बनाउने उद्देश्य सहित पराजुलीले उपाध्यक्ष पदमा उम्मेदवारी लिने निर्णय गरेको हो। अमेरिकामा रहेका नेपालीहरूलाई जन्मभूमीसँगको सम्बन्धमा सहजीकरणदेखि यहाँ बसोबासका क्रममा आइपरेका समस्यालाई समाधान गर्न आफू अग्रसर रहने प्रतिपद्धता उहाँले गर्नु भएको छ।
‘अमेरिकामा हुने हरेक गतिविधिलाई पारदर्शी ढंगबाट बढी भन्दा बढी प्रभावकारी बनाउँदै अघि बढ्ने मेरो योजना र सोच छ,’ उहाले उपाध्यक्षमा उम्मेदवारी दिने जानकारी गराउने क्रममा भन्नुभयो ‘उपाध्यक्षको भुमिका भनेको समाज र संस्थामा समर्पित भएर यसैमा आफूलाई समाहित गर्नु हो।’आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्दै यहाँ रहेका नेपालीको हक, हित र अधिकारका लागि लड्नु र संस्थालाई आम गैर आवसीय नेपालीहरूको साझा संगठन बनाउने प्रण आफूले गरेको उहाँले बताउनु भयो। ‘नेपालीहरू एकवद्ध हुन सके हामीले प्रवासमा बस्दा पनि दोस्रो दर्जाको नागरिक भनेर महसुस गर्नु पर्दैन,’उहाँले भन्नुभयो।
हामी नेपालीहरूबीच एकजुट भएमा अर्थात एउटै मालामा उनिन सकेमात्र यो विदेशी भूमीमा हाम्रो पहिचान र अस्तित्व रहने हो । अब तपाईहरू नै भन्नुस् हामी स्वाभिमानी भएर बाच्ने कि टाउको लुकाएर शरणार्थी भएर ?
हो,मैले चाहेको हामी हाम्रो आफ्नो पहिचान सहित विश्वका जुन कुनामा रहेपनि बाच्न पाउनु पर्छ भन्ने नै हो। हामीले आफ्नो अस्तित्व कायम गर्न सक्यौ भनेमात्र हाम्रा सन्ततीले यहाँ गर्वका साथ बाच्न पाउँछन्। त्यसैले आगामी निर्वाचनमा मलाई भोट दिएर निर्वाचित गराउन म यहाँहरू समक्ष आग्रह गर्न चाहन्छु ,’पराजुलीले भनेका छन।