३० असार, २०७८
जीएनएनन्युज :
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई गैरआवासीय नेपालीहरुले बधाई दिएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त,पूर्व उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्य लगायतका पदाधिकारीहरुले नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिँदै कार्यकालको सफलताको कामना गरेका छन् ।
देउवालाई बधाई दिँदै अध्यक्ष पन्तले लेखेका छन्, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूमा हार्दिक बधाई । सफल कार्यकालका लागि शुभकामना ।’
त्यस्तै, संघका सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिँदै सर्वोच्च अदालतको पछिल्लो फैसलाले मुलुकमा संवैधानिक सर्वोच्चता र विधिको शासनको प्रत्याभूति भएको बताएका छन् ।
सल्लाहकार आचार्यले वर्तमान सरकारलाई गैरआवासीय नेपालीहरुको हितमा काम गर्ने अपेक्षा गर्दै लामो समयदेखि संसदमा अड्किएको गैरआवासीय नेपाली सम्बन्धि ऐन पारित गर्न र प्रवासमा रहेका लाखौं नेपालीहरुको सीप, क्षमता र पूँजी नेपालीको विकासमा परिचालन गर्न आग्रह गरेका छन् ।
उनले बधाई सन्देशमा लेखेका छन्, ‘देउवाज्यूको नेतृत्वमा नवगठित सरकारले सबैभन्दा पहिले कोरोना नियन्त्रण तथा कोभिड विरुद्धको खोपको सुनिश्चितता गर्नुको साथै लामो समयदेखि संसदमा अड्किएको गैरआवासीय नेपाली सम्बन्धि ऐन पारित गर्न, भूतपूर्व गोर्खा समस्याको समाधान गर्न तथा प्रवासमा रहेका लाखौं नेपालीहरुको सीप, क्षमता र पूँजी नेपालको विकासमा परिचालन गर्न विशेष ध्यान दिन आग्रह पनि गर्दछु।’विशेषगरी गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेको छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गर्दा पनि गैर आवासीय नेपाली नागरिकता सम्बन्धी विषय नसमेटिएको भन्दै आचार्यले सरकारको ध्यानाकर्षण गराएका थिए ।