Wednesday October 20, 2021

गैरआवासीय नेपाली संघ युकेको निर्वाचनले देखाएका संकेतहरू

२५ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1395


गैरआवासीय नेपाली संघ युकेको निर्वाचनले देखाएका संकेतहरू

बिदुर खत्री,
युके।


नेपाल र स्वदेश वा बिदेशमा रहेका नेपाली हरूको हितको लागी परोपकारी काम गर्ने पवित्र उद्देश्य राखेर १८ बर्ष अगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ भित्र बिभिन्न काल खण्डमा देखिएका अनेकौं बिकृतीहरूलाई हटाई संस्थागत सुधार गर्ने बर्तमान गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रतिबद्धता अनुरुप सदस्यता बितरण र निर्वाचन एम आई एस प्रणालीबाट समपन्न हुनु अत्यन्तै सकारात्मक र ऐतिहासिक बिकास क्रमको रूपमा रहनेछ।

गैरआवासीय नेपाली संघको जन्मभूमि यु के मा राष्ट्रिय समन्वय परिषद तथा राज्य समितिहरूको लागी हालै सम्पन्न निर्वाचनले केही गम्भीर प्रश्नहरु पैदा गरेकोले समयमानै यि प्रश्नहरुको यथोचित समाधान खोजिएन भने १८ बर्षको अबधिमा २% भन्दा कम गैरआवासीय नेपालीहरुलाई  मात्रै संगठित गर्न सफल भएको यो संस्थाको संस्थागत सुदृढ हुने कुरामा सकारात्मक अपेक्षा गर्न सकिंदैन।

स्वतःस्फूर्त बनेका बैधानिक सदस्य-

 नेपाल सरकारबाट मान्यता प्राप्त यस गरिमामय अन्तर्राष्ट्रिय संस्थाको आबश्यकता र महत्वलाई उचित ठानी बिदेशमा रहेका सबै गैरआवासीय नेपालीहरु यस संस्था संग गोलवन्द हुने सन्देशको बिश्वभर प्रवाह गरी स्वतःस्फूर्त सदस्यता लिने बाताबरणको सृजना हुनुको सट्टा भौतिक बिज्ञानले उपलब्ध गराएका प्राबिधिक प्रणालीलाई नै दुरूपयोग गरी आफ्ना कुन्ठित आडम्बरी पदीय पगरी गुथ्ने सपना पुरा गर्ने दौडमा सामेल केही ब्यक्तिहरुको कारण यो पबित्र संस्था उपचार गर्न नै कठिन हुने खालको दिर्घरोगको चपेटामा फसिरहेको त छैन भन्ने आभास हुन थालेको छ।यु.के. भर लगभग ११ हजार सदस्यता बनेका भन्ने समाचार पढियो तर यसमा स्वतःस्फूर्त आफैले सदस्यता सुल्क तिरी सदस्य बन्नेको संख्या कति होला यो अनुसंधान कर्ताहरूको लागी अनुसंधानको बिषय भएको छ।

ब्यक्तिगत बिबरणको गोपनियता-

संघको सदस्यता लिंदा पेश गरिएका ब्यक्तिगत बिबरणहरू कति सुरक्षित होलान् भन्ने कुरामा पनि संका गर्नु पर्ने परिस्थिति सृजना भएको छ।निर्वाचनमा भाग लिएका उम्मेदवारले कसरी कहिल्यै सम्पर्कमा नरहेका मतदाताहरुलाई सजिलै सम्पर्क गर्न सफल भए ? प्राकृतिक न्यायको सिद्धान्त अनुरुप पनि आफै उम्मेदवार अनि आफै मतदाता प्रमाणिकरण उचित होईन।आगामी दिनमा यो कमजोरीलाई सुधार गर्नु पर्ने देखिन्छ ।

संस्थागत हितलाई बेवास्ता-

आफुलाई परोपकारी काम गर्ने सामाजिक नेताको रूपमा चिनाउँन चाहने  केही ब्यक्तिहरु पैसा, सक्ति र प्रभावको आधारमा पद हत्याई मुखिया प्रबृतिको साख देखाउँने आडम्बरी मनोबृत्तिको कारण गैरआवासीय नेपाली संघको प्रतिष्ठामा आघात पुगिरहेको छ।परोपकारी काम गर्न पदको पगरी गुथ्नै पर्छ र ? अनी यसका लागी अनेकौं अनैतिक तथा गैरकानूनी  कर्म गरी संस्थाको गरिमानै संकटमा पार्ने तर्फ अग्रसर भईरहेका छन् ।यो चुनावमा देखाएका परिदृश्यहरू बाट के प्रमाणित भएको छ भने सच्चा परोपकारी भावनाबाट प्रभाबित भई आफूले आर्जन गरेको ज्ञान र क्षमताको आधारमा गैरआवासीय नेपाली संघको नेतृत्व सम्हाली सेवा गर्ने कुरा सपनामा पनि नचिताए हुन्छ। सक्ति, पैसा र प्रभावको भर बिना गैरआवासीय नेपाली संघको नेतृत्वको चुनावमा होमिनु भनेको बत्तीको नजिक पुतली जानु सरह हो। संसारमा सर्बोत्कृष्ट कानूनी राज भएको मुलुकमा दसकौ बिताएका हामीहरु बाट नै ब्यक्तिको नैसर्गिक मानवअधिकार बिपरित उनीहरुको ब्यक्तिगत बिबरण दुरूपयोग गरी आफ्ना कुन्ठित सिमीत स्वार्थको लागी उपयोग गर्ने ब्यक्तिहरुको लेखा जोखा यो नेपाली समाजले राखी आबश्यक समयमा उचित दण्ड दिनु पर्नेछ।

नेपाली राजनितीको प्रभाब-

नितीहरुको राजा राजनीति भएकोले हरेक तह र तप्कामा राजनीतिको प्रभाब पर्नु  स्वाभाविक हो।राजनीतिक यात्राबाट हासिल ज्ञान र सकारात्मक दृष्टिकोणलाई यस संस्थाको हितमा उपयोग गर्दै संस्थालाई प्रत्यक्ष राजनीतिक प्रभाब भन्दा बाहीर राख्नु पर्दछ ।ढोंगी राजनीतिक प्रभावमा परी संस्थालाई राजनीतिक कृडा स्थल बनाईयो भने कसैको हितमा हुने छैन।गैरआवासीय नेपाली संघ बिदेशमा रहने सबै जात जाति,धर्म, क्षेत्र र राजनीतिक दृष्टिकोण बोक्ने गैरआवासीय नेपाली संलग्न साझा संस्था भएको हुनाले यसको नेतृत्व लिन प्रतिष्पर्धाको क्रममा केही बिभाजीत भएको देखिएता पनि संस्था र गैरआवासीय नेपालीहरूको साझा हितको  लागी सबै एक जुट भएर अगाडी बड्नुको कुनै बिकल्प छैन ।आखिर गैरआवासीय नेपाली संघको नेतृत्वले हांसिल गरेका उपलब्धि हरूको हामी सबै गैरआवासीय नेपालीहरू नै हिस्सेदार हुने हुँदा बैधानिक रूपमा चुनिएको नेतृत्वलाई आआफ्नो क्षेत्रबाट सकारात्मक सहयोग पुर्याउँनु हितकर हुनेछ।

एम आई एस प्रणाली र अनलाईन भोटिङको निर्मम समिक्षा-

प्रबिधीको दुरूपयोग गर्दै  ब्यक्तिगत बिबरण दुरूपयोग  गरी आफ्नो पदीय लालच पुरा गर्ने प्रबृतीलाई हतोत्साहित गर्न हालै संचालनमा आएको एम आई एस प्रणालीलाई ब्यबस्थित र विश्वासिलो बनाएर मात्रै पुनः प्रयोगमा ल्याउँन सम्बन्धित निकाय र पदाधिकारी हरू लाई हार्दिक अनुरोध गर्दछु ।यस संस्थाको सदस्यता लिंदा प्राबिधिक चिनारी अनुहार वा  ल्याप्चेको प्रयोग गरी सोही चिनारीलाई मतदानको क्रममा भिढाएर समानता भएमा मात्रै मतदान गर्न योग्य हुने प्रणालीको सुरुवात नगरे सम्म हामीले यस संस्थालाई सुदृड गर्न जतिनै कोसिस गरे पनि बालुवामा पानी बगाए सरह हुनेछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?