Wednesday October 20, 2021

तेश्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि लण्डनमा शुरु हुँदै

१ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1099


तेश्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि लण्डनमा शुरु हुँदै

शीतलपाटीन्युज डटकम।
लण्डन। तेश्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि बेलायतको लण्डनमा शुरु हुँदै छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिको आयोजना र एनसीसी यूकेको सह आयोजनामा सम्मेलन सम्मेलन हुन लागेको हो।


सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी आयोजक समिति र सह आयोजक समितिले सम्मेलनको तयारी पूरा भएको र सहभागी तथा अतिथिहरु लण्डन आउने क्रम शुरु भएको जानकारी दिएका छन्। सम्मेलनको सह आयोजक एनसीसी यूकेले बिहीबार राति पत्रकार सम्मेलन गरी सम्मेलनको उद्देश्य र सञ्चालनका विधिबारे जानकारी गराएको छ। पत्रकार सम्मेलनमा एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिरको स्वास्थ सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताएका। उनले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिए।

महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने उनले जानकारी दिए। उनका अनुसार सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने छन् भने ५० वटा भन्दा बढी कार्यशाला सन्चालन गरी समूहगत छलफल हुने छ। शुक्रबार शुरु हुने सम्मेलन आइतबार साँझ लण्डन घोषणापत्र जारी गर्दै समापन हुने जनाइएको छ। सम्मेलनले अनुसन्धान र स्वास्थ्य प्रणाली बलियो बनाउने विषयमा सहयोग गर्ने उनले बताए।

त्यस्तै, सम्मेलनका लागि यूके संयोजक डा. सुनील साहले सम्मेलनमा नेपाल र नेपाल बाहिरका डाक्टर, नर्स, जनस्वास्थ्यविद् र स्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरुको सहभागिता रहने स्पष्ट पारे। उनले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल लगायतका संस्थाबाट पनि संस्थागत रुपमै प्रतिनिधित्व हुने जानकारी दिए। उनका अनुसार, सम्मेलनमा बेलायतका पनि स्वास्थ्यकर्मीहरु सहभागी हुने छन्। हामीले यो महामारीबाट के सिक्यौं, अब के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्छौं, उनले भने ।

त्यस्तै,सम्मेलनका सह आयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रवासमा रहेका नेपाली र नेपालमै रहेका नेपालीहरुलाई स्वास्थ्य सबल बनाउन कसरी सहयोग गर्न सकिन्छ भन्नेर छलफल गर्नु आफैंमा महत्वपूर्ण रहेको बताए ।
उनले स्थानीय आयोजकका रुपमा एनसीसी यूकेले आवश्यक तयारी पूरा गरेको जानकारी दिँदै विश्व भरका विज्ञ अतिथिहरुलाई बेलायतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। सम्मेलनपछि एनसीसी यूकेले च्यारिटी डिनर तथा शुभकामना साँझ कार्यक्रमको आयोजना गरेको बताउँदै उनले त्यसमा योगदान गर्ने सबैलाई धन्यवाद दिए।

आयोजक समिति सदस्य प्रसुना कँडेलले सम्मेलनमा नेपालमा नर्सहरुको अवस्था र चुनौतिका बारेमा पनि हुने जानकारी दिँदै सम्मेलनका दौरान स्वास्थ्य शिविर पनि सञ्चालन हुने जानकारी दिइन्। एनसीसी यूकेका उपाध्यक्ष गोविन्द खरेलले सम्मेलन भौतिक उपस्थिति र भर्चुअल दुवै माध्यमबाट सञ्चालन हुने जानकारी दिएका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?