Wednesday December 01, 2021

संसारभरि नेपालीहरु दशैं मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना संदेश

२९ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 1145


संसारभरि नेपालीहरु दशैं मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना संदेश

काठमाडौँ (जीएनएन) -- राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिकाे कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैं मनाउन सबैमा आग्रह पनि गरेकी हुन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका हुन् ।

'दिनभर टीका लगाउन सकिने'

दशैँको मुख्य दिन विजयादशमी  मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साइत विहान १० बजेर २ मिनेटमा रहेको भएपनि दिनभर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

टीका लगाउनुअघि देवी विसर्जन गर्नुपर्छ । विजयादशमीका दिन बिहान नवदुर्गा तथा जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?