३१ आश्विन, २०७८
शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायतको स्वीन्डन आसपासमा बस्ने नेपालीहरुले आफ्नो स्थानीय क्षेत्रको सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएका छन्। नेप्लिज एशोसिएसन अफ वील्शायरको संयोजनमा शुरु गरिएको सरसफाइको पाँचौं कार्यक्रम अन्तर्गत शनिबार उनीहरुले वेष्ट स्वीन्डनमा सरसफाइ गरेका थिए।
स्थानीय पार्क,सडकपेटी र रेसिडेन्सियल एरिया लगायतको सफाइ गरिएको एशोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए। सरसफाइमा झन्डै डेढ दर्जनको संख्यामा एशोसिएसनका पदाधिकारी र स्थानीय नेपालीहरु सहभागी भएका थिए ।
अध्यक्ष गुरुङका अनुसार नेपाली समुदायका तर्फबाट सञ्चालन गरिएको सरसफाइ कार्यक्रमलाई प्रोत्साहन गर्न उक्त क्षेत्रबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसद रोबर्ट बकल्यान्ड समेत सहभागी थिए।बेलायत सरकारका निवर्तमान न्यायमन्त्री समेत रहेका सांसद बकल्यान्डले स्थानीय समुदायको हितको लागि नेपाली समुदायबाट भएको पहलको प्रशंसा गरे।
‘बेलायत सरकारका निवर्तमान मन्त्रीसम्म रहेका सांसद आएर हाम्रो सरसफाइ कार्यक्रममा साथ दिँदा हामी निकै खुशी छौं । आफू बसेको समुदायको लागि केही गरौं भन्ने हाम्रो भावनामा उहाँले हौसला बढाइदिनुभएको छ’,अध्यक्ष गुरुङले भने।
त्यस अवसरमा स्थानीय पेरिस काउन्सिलका उपप्रमुख सुरेश गट्टापुर र काउन्सिलर नन्दनी सिंह पनि सरसफाइमा सहभागी भएका थिए। नेपाली समुदायका तर्फबाट एशोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङ,महासचिव भवानी गरुङ,दिवाली रेस्टुरेण्टका डाइरेक्टर दिपेन्द्र गुरुङ लगायतको सहभागिता थियो। कार्यक्रममा सहभागीहरुका लागि स्थानीय दिवाली रेस्टुरेण्टले चियापान प्रायोजन गरेको थियो।
(Nepalilinks)