१ माघ, २०७८
शितलपाटी न्यूज । दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेका छन् ।
टाइगर ग्रुप अफ पोखराका आयोजनामा यही पुस २६ गतेदेखी पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।
उपाधि बिजेता आर्मीले रु तीन लाख सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने उपविजेता टिपटपले रु एक लाख ५० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ । आर्मीले टिपटपलाई २५–१८,२४–२६, २५–१८ र २५ १९ अङ्कले पराजित गरेको हो ।
महिलातर्फको उपाधिका लागि दुई विभागीय टोलीबीचको खेलमा एपीएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा पराजित गर्न सफल भयो । उपाधि विजेता एपीएफले रु तीन लाख सहित ट्रफी र उपविजेता आर्मीले रु एक लाख ५० हजार पुरस्कार पायो ।
प्रतियोगितामा महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब रु ७५ हजार तथा चौथो भएको पुलिसले रु ३५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो । पुरुषतर्फ नेपाल पुलिस तृतीय र आयोजक गण्डकी प्रदेश चौथौ स्थान प्राप्त गरी क्रमशः रु ७५ हजार र रु ३५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ आर्मीका दानबहादुर बुढा क्षेत्री र महिलातर्फ एपीएफका सरस्वती चौधरी घोषित हुँदै जनही रु २५ हजार पुरस्कार पाए ।
विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद सहित पुरस्कृत गरिएको थियो । महिलातर्फ उत्कृष्ट सर्भर एपीएफका निरुता ठगुन्ना, सेटर आर्मीका कृपा अधिकारी, ब्लकर एपीएफका हिरा केसी, लिब्रो न्यू डायमण्डका शलिना श्रेष्ठ, स्पाइकरमा आर्मीका शान्तिकुमारी थारु र प्रशिक्षकमा एपीएफका महेश चौधरी घोषित हुँदै जनही रु १० हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी पुरुषतर्फ उत्कृष्ट सेटर नेपाल प्रहरीका इमबहादुर राना, सर्भर आर्मीका हरिहजुर थापा, ब्लकर टिप टपका अमित गुलिया, लिब्रो आर्मीका इश्वर थापा, स्पाइकर टिप टपका विनित कुमार चौधरी र प्रशिक्षक आर्मीका जगतबहादुर सिँह घोषित हुँदै जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गरे । प्रतियोगितामा महिला तथा पुरुषतर्फ पाँच÷पाँच वटा टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा भलिवल खेलको विकासमा विशेष योगदान पुर्याउने पूर्व राष्ट्रिय खेलाडी ऋषीसरा थापा, प्रशिक्षक रमेश केसी र नेपाल भलिवल संघका महासचिव जितेन्द्र बहादुर चन्दलाई सम्मान गरिएको थियो । उनीहरुलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ र टाइगर गु्रपका अध्यक्ष नारायण प्रसाद शर्माले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
प्रतियोगिताको विजयी टोली तथा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीहरुलाई गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, साउथ एशियन सेन्ट्रल भलिबल एशोसिएसनका अध्यक्ष मोहम्मद लतिफ, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङ, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितालाई सफल बनाउन मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, नेपाल भलिबल संघ जापान शाखा, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, महानगर पालिका कार्यालय, अन्नपूर्ण केबल कार प्रा.लि., पोखरा, प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश, मुक्तिनाथ विकास बैंक, अन्नपूर्ण गाउँ पालिका, केएफसी, काठमाण्डौ, बतास ब्रदर्श अर्गनाईजेशन, अटोवेज प्रा.लि., होटल बाराही, पोखरा, माउण्ट कैलाश रिसोर्ट, होटल पेनेन्सुल्ला, पोखरा, कास्की जिल्ला कवाडी संघ, विश्वकर्मा सप्लायर्स, कृषि तथा पशुपंछी फर्म, कुस्मा नगरपालिका–११, पकुवापोखरा महानगरपालिका, नगर खेलकुद विकास समिति, केल्मी, केएफसी, नेपाल टेलिकम, इसेवा रेमिट लगायत एक दर्जन संघ संस्थाले सहयोग गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।