२ माघ, २०७८
शितलपाटी न्यूजडटकम । २० औं आहारारा गोल्डकप प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजक सहारा क्लब परिवारको संयूक्त बैठक सम्पन्न भएको छ ।
बैठकमा सहारा युके, सहारा क्लब हङकङ र सहारा क्लब अष्ट्रेलियाका पदाधिकारी एवं सदस्यको सहभागिता थियो । बैठकका सहभागीले प्रतियोगिता सफल पार्न आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको बैठकमा सहारा क्लब हङकङका उपाध्यक्ष खम गुरुङले प्रतियोगिताको सफलतापूर्वक सम्पन्न गर्न सहारा क्लब हङकङले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले समग्र क्लबको गतिविधिमाथि प्रकाश पार्दै हिमाअस एजुकेसन, मुलबेरी र मुग्लान रेष्टुरेन्टको प्रायोजन रहने बताए ।
सहारा युकेका अध्यक्ष ले.रि.कुसाङ गुरुङले सहारा युकेको कार्यक्रमबारे बताउँदै प्रतियोगिता सफल पार्न सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ लगायत ५० जनाको टोली पोखरा आएको जानकारी दिए ।
बैठकमा सहारा क्लब पोखराका संस्थापक अध्यक्ष वसन्त थकाली, क्लबका मानार्थ सदस्य एवं सहारा युकेका पूर्व प्रमुख सल्लाहकार महेश गुरुङ तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङलगायतले बोलेका थिए । सो अवसरमा सहाराका महासचिव रामजीप्रसाद अधिकारीले प्रतियोगिताको तयारी बारे जानकारी गराएका थिए।
पोखरा रंगशालामा यही माघ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता हुनेछ । आयोजक कोरोना महामारीको कठिन परिस्थितिबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर प्रतियोगिता संचालन गर्ने अन्तिम तयारीमा छ । प्रतियोगितामा साविक विजेता संकटा क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् ।
‘आत्मा साक्षि राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लबले पोखराको पर्यावाचीको रुपमा परिचित छ । क्लबले प्रतियोगिताबाट बचत रकम क्लबले पोखराको दोबिल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुको निम्ति खर्च गर्ने जनाएको छ ।