६ माघ, २०७८
‘आहा ! रारा गोल्डकप पोखराको शान’–एन्फा अध्यक्ष शेर्पा
शसस्त्र प्रहरीको एपिएफ फुटबल क्लब आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा आयोजक सहारा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
एपिएफले खेलको पहिलो तथा दोस्रो हाफमा १–१ गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । खेलको १४ औँ मिनेटमा एपिएफका आभास लामिछानेले गोल गर्दै खेलमा अग्रता बनाए । नविन लामाले पेनाल्टी क्षेत्रभित्र उपलव्ध गराएको बललाई दोस्रो बार च्याप्दै आभासले हानेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ६० औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै अग्रता दोब्बर पारे । रबि तामाङको प्रहार विपक्षी खेलाडीले ‘डिबक्स’भित्र क्लियर गर्न नसकेको अवस्थामा लामाले बललाई पोष्टको दिशा देखाए ।
‘ए डिभिजन’ क्लब सातदोवाटोका अधिकाँश खेलाडी सहित मैदान ओर्लिएको आयोजक सहाराले खेलमा गोलका अवसर सिर्जना गर्न नसक्दा पहिलो खेलमै पराजय बेर्होन बाध्य बन्यो । सहारालाई पराजित गरेको एपिएफले अब क्वाटरफाइनलमा अमेरिकाको बीवाईएससी मिनेसोटाविरुद्ध खेल्नेछ । खेलमा एपिएफका नविन लामा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु ८ हजारका साथमा र ट्रफी पुरस्कार प्राप्त गरे ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाली फुटबलका छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आहा रारा गोल्डकप पोखराको शान भएको बताउँदै मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
उद्घाटन कार्यक्रममा निकै खुलेर प्रशंसाले भरिएका शव्दहरु केलाउँदै तथा सहाराका हरेक आयामहरुमा आफ्नो सहयोग र सहकार्य रहने समेत प्रतिवद्धता जनाउँदै अध्यक्ष शेर्पाले भने–“२१ औं वर्ष सम्म समान रफ्तारमा हिड्नु पक्कै पनि सजिलो विषय होइन तर सहाराले आफूलाई त्यसमा खरो रुपमा उभ्याएको छ, त्यसमा सहारा संग संधै मेरो साथ रहेको म स्मरण गर्न चाहन्छु ।” उनले २१ वर्ष अघि बाटै सहाराको नजिकमा रहेर कार्य गरेको स्मरण गर्दै अवको ६ महिना भित्र कुनै पनि विदेशी टिम निम्त्याउन वा प्रतियोगिताको मिति तोक्नु परेमा त्यसका लागि एन्फा सहयोग गर्न तयार रहने प्रतिवद्धता समेत जनाए ।
सहाराले नेपाली फुटबलको विकास संगै एकेडेमी समेत सञ्चालन गरेर नेपाली फुटबलको जग बलियो बनाउन महत्वपूर्ण कार्य गरेको उल्लेख गर्दै एन्फा अध्यक्ष शेर्पाले एन्फा एकेडेमी सञ्चालनका लागि आफू सहयोग र सहकार्य गर्न संधै तत्पर रहेको बताए । “सहाराले आफ्नो कार्य योजना सहित एन्फा संग सहकार्य गर्न चाहेमा म त्यसका लागि सहयोग गर्न तयार छु” उनले भने–“अव पोखरामा हुने स्थानिय प्रतियोगितामा मात्रै होइन लिग डिभिजनका लागि समेत सहारा तयार हुनुपर्छ ।” उनले हिम श्री फुड्सले लगातार २० वर्ष सम्म मुख्य प्रायोजन गरेकोमा आभार व्यक्त गर्दै एन्फाले सम्मान गर्ने जनाए ।
सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले कोभिड १९ को लहर वढिरहेको समयमा समेत दर्शकविना प्रतियोगिता आयोजना गरेको भन्दै प्रशंसा गरे । कार्यक्रममा हिम श्री फुड्सका निर्देशक प्रकाश केसीले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७८’ बाट नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट प्रतियोगिताको उद्घाटन समारोहमा सम्मानित भएका छन् । अन्जनलाई नगद ३५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । उक्त सम्मान वापतको रकम सहाराका सल्लाहाकार खेम गुरुङले प्रायोजन गरेका थिए । उनलाई अखिल नेपाल फुटबल संघ, नेपाल खेलकुद पत्रकार मञ्च र नेपाली रेफ्रि कमिटीको सिफारिसमा वर्ष उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरिएको हो ।
यसै गरी कार्यक्रममा पत्रकार हिमेशरत्न वज्राचार्यलाई सम्मान गरिएको छ । उनीद्वारा लिखित सहारा दुई दशकको फुटबल यात्रा नामक पुस्तकको समेत सो अवसरमा विमोचन गरिएको थियो । राष्ट्रिय फुटबल खेलाडी अन्जन र पत्रकार हिमेशरत्नलाई एन्फा अध्यक्ष शेर्पा, सहाराका अध्यक्ष हरिराम गुरुङ, सहारा युकेका अध्यक्ष ले.रि.कुशाङ गुरुङ, सहाराका संस्थापक अध्यक्ष वसन्त थकाली, सहाराका पूर्व अध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य लगायतले सम्मान गरेका थिए ।
उद्घाटन कार्यक्रममा गतवर्ष निधन भएका सहारा हङकङका बरिष्ठ उपाध्यक्ष तथा सहाराका पूर्व फुटबल प्रशिक्षक विल तामाङ प्रति श्रद्धाञ्जली व्यक्त गर्न एक मिनेट मौन धारण गरिएको थियो ।
शुक्रबार हुने दोस्रो प्रि क्वाटर फाइनल खेलमा मछिन्द्र क्लव र नेपाल पुलिस क्लव भिड्ने छन् । आहा रारा गोल्डकपको इतिहासमा नै पहिलो पटक विना दर्शक प्रतियोगिता सुरु भएको छ । नेपाल लगायत विश्वमा महामारीको रुपमा फेलिएको ओमिक्रोन प्रभावका कारण तोकिएको मितीमा आहा रारा सुरु भए पनि दर्शक विनानै प्रतियोगिता आयोजना गरिएको हो । १६ हजार ५०० दर्शक क्षमताको पोखरा रंगशालामा उद्घाटन कार्यक्रममा केही अतिथी र खेलाडी बाहेक अन्य दर्शकहरुलाई प्रवेश निषेध गरिएको थियो ।
‘खेलकुद विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्धेश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित २० औँ संस्करणको प्रतियोगितामा नेपालका ए डिभिजनका क्लबहरु, आयोजक सहारा र एक विदेशी सहित १० टोलीको सहभागिता रहेको छ ।
आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।