Saturday November 26, 2022

गैर आवासिय नेपालीहरु भन्छन–‘गण्डकी प्रदेशको खेलकुद विकासका लागि सहयोग गर्छौं’

१४ माघ, २०७८ शितलपाटीन्यूज डटकम । 1419


गैर आवासिय नेपालीहरु भन्छन–‘गण्डकी प्रदेशको खेलकुद विकासका लागि सहयोग गर्छौं’

 गैर आवासिय नेपालीहरुले गण्डकी प्रदेशको खेलकुद विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने जनाएका छन् । 

प्रदेश खेलकुद परिषद गण्डकीले आज उनीहरुको सम्मानमा पोखरामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनीहरुले उक्त कुरा बताएका हुन् । २० औं आहा रारा गोल्डकप लगायत विभिन्न सामाजिक अभियानका लागि विभिन्न देशबाट पोखरा आएका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले आफ्नो भनाई राख्ने क्रममा खेलकुद समाजको अभिन्न अङ्ग भएकोले यसको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 

आफ्नो भनाई राख्दै बेलायतस्थित तमु धि यूकेका अध्यक्ष हितकाजी गुरुङले खेलकुदको विकासका लागि यूकेमा रहेका तमुहरुको योगदान महत्वपूर्ण रहेको बताउँदै परिषद संग समेत खेलकुद विकासको अभियानमा संगै अघि बढ्न सकिने बताए । तमु धिंका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङले पोखरा रंगशाला पर्खाल निर्माण लगायतको अन्य विकासमा विदेशमा रहेका नेपाली खेलप्रेमीहरुको सहयोगलाई विसर्न नहुने उल्लेख गरे । 

कार्यक्रममा आफ्ना भनाई राख्दै सहारा युकेका अध्यक्ष ले.रि.कुशाङ गुरुङले नेपालमा आयोजना हुने विभिन्न खेलकुद लगायतका कार्यक्रमहरुमा नेपालीहरुले गरेको सहयोगको चर्चा गर्दै आगामी दिनमा समेत ठोस योजना बनेमा हातेमालो गर्दै अघि बढ्ने जनाए । सहारा क्लव हङकङका उपाध्यक्ष खुम गुरुङ ‘सुरज’ले विदेशमा रहेर पनि नेपालीहरुले आफ्नो थलोमा हुने खेलकुद र सामाजिक अभियानमा एक जुट रहेको बताउँदै गाउँघरमा हुने खेलकुद कार्यक्रमलाई व्यवस्थित बनाउन जोड दिए । 

सो अवसरमा तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले पोखरामा निर्माण हुने खेलकुदका पूर्वधारहरु पोखराको प्राकृतिक रुपमा सुहाँउदो गरी निर्माण गरिनुपर्ने धारणा राखे । सहारा अष्ट्रेलियका अध्यक्ष राजमान थकालीले अष्ट्रेलियमा बसोवास गरिरहेका गैर आवासिय नेपालीहरुले खेलकुद विकासका लागि हातेमालो गर्न तयार रहेको उल्लेख गरे । सहारा यूकेका पूर्व अध्यक्ष मिन बहादुर गुरुङले खेलकुदको पूर्वधार निर्माण संगै खेलकुदमा स्वास्थ्य केन्द्रको स्थापना र खेलकुदको अध्ययन अध्यापनका लागि समेत यूवा वर्गमा सचेतना आवश्यक रहेको कुरा औल्याए । 

कार्यक्रममा सहारा यूकेका निर्वतमान अध्यक्ष कुमार गुरुङ, तमु धिंका पूर्व अध्यक्ष रामचन्द्र गुरुङ ‘सुर्जे’, सहारा अष्ट्रेलियाका उपाध्यक्ष प्रेमकाजी गुरुङ, सहारा युकेका सचिव वाचस्पती रेग्मी, सहारा युकेका अमृत गुरुङ लगायत नेपाली पाहुनाहरुले खेलकुदको विकासका लागि आ–आफ्नोतर्फबाट प्रतिवद्धता जनाएका थिए । 

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले पाहुना टोलीलाई स्वागत गर्दै प्रदेशको खेलकुद विकासमा गैर आवासिय नेपालीहरुको साथ र सहयोगका लागि आग्रह गर्दै प्रदेश खेलकुदले अघि सारेका रणनितिक योजनाहरुका बारेमा जानकारी गराएका थिए । प्रदेश खेलकुल परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले विदेशमा रहेर पनि पोखराको खेलकुद विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गरे । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, तारामाया थापा मगर, सदस्यहरु वसन्तराज दवाडी, योगेन्द्र शेरचन, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर वानियाँ लगायतको सहभागिता रहेको थियो । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?